भ्रमणवर्षको स्वागतमा सरसफाइ

नुवाकोट : वि.सं २०७५ आषाढ २८ गतेका दिन खुला दिसामुक्त जिल्ला घोषणा भएको नुवाकोट जिल्लाले भ्रमण वर्ष २०२० लाई सरसफाइ कार्यक्रम मार्फत स्वागत गरेको छ ।

जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिको नेतृत्व, यु.एन्.ह्याविट्याटको सहयोगमा पुनर्जागरण समाज नेपाल एवम् डिकोन नेपालको सहजीकरणमा संचालन भईरहेको पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत रहेको त्रिशुली नदी सरसफाइ कार्यक्रम अगाडी बढाउने सन्दर्भमा मिति २०७६ पौष ४ गतेका दिन जिल्ला समन्वय समिति प्रमुख एवम् जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष सन्तमान तामाङको संयोजकत्व र विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितको सहसंयोजकत्वमा ७४ सदस्यीय मूल समिति निर्माण भएको थियो ।

उक्त समितिले नदी सरसफाई कार्यक्रम अघि बढाउनका निमित्त सर्वप्रथम मिति २०७६ पौष १० गतेका दिन नुवाकोटको वेत्रावतीमा औपचारिक समुद्घाटन कार्यक्रम सहित नदीको सरसफाइ अवस्था अनुगमन गरेको थियो जुन अनुगमनका आधारमा जिल्ला समन्वय समिति नुवाकोटले पर्यटन प्रवद्र्धनका लागि सरसफाइ नै पहिलो खुड्किलो भएको हुँदा भ्रमण वर्षको पहिलो दिन नदी सरसफाइबाट सुरु गर्ने निर्णय गरेकोे थियो ।

नदी सरसफाइकोे अभियान बिहान ८ बजे नुवाकोटको वेत्रावतीबाट सुरु गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा औपचारिक कार्यक्रम संगै सुरुवात भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका प्रमुख  सञ्जु पण्डित, उपप्रमुख गीता दहाल, विदुर नगरपालिकाका वडाध्यक्षहरु, रसुवा जिल्लाका उत्तरगया गा .पा.का प्रतिनिधिहरु, नुवाकोट जिल्लाका सहायक प्र.जि.अ एवम् विभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, शशस्त्र, प्रहरी तथा नेपाल सेना, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यसका साथै दार्तृ निकाय, एन.जि.ओ, आइ.एन.जि.ओको तर्फबाट यु.एन् ह्याविट्याट जिल्ला संयोजक मैत्रेयी शर्मा, डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्य एवम् कर्मचारीहरु, पुनर्जागरण समाज नेपालका जिल्ला कार्यक्रम संयोजक निमेष बोगटी, वास अफिसर  बल बहादुर ओड लगायतका अन्य कर्मचारीहरु सहित विदुर नगरपलिकाका स्थानीयको समेत उपस्थिति रहेको थियो ।

करीव ७०० जना जतिको उपस्थितिमा भएको सरसफाइ कार्यक्रम करीव ११ बजे सम्म संचालन भई अर्को कार्यक्रम मिति २०७६ माघ ४ गते शनिबारका दिन पूरानो त्रिशुली बजार राम मन्दिरबाट सुरु हुने निर्णय सहित समापन भएको थियो ।

यसका साथै नदी सरसफाइकै अवसर पारेर विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले वेत्रावती टोल सुधार समितिलाई सार्वजनिक स्थानमा राख्ने प्रयोजनले कुहिने र नहुहिने फोहोर छुट्ट्याउनका लागि डस्टबिन उपलव्ध गराउनुको साथै स्थानीयको मागअनुरुप हप्तामा एक दिन मात्रै फोहोरको गाडी पठाउने व्यवस्था भएकोमा पुनः १ पटक थप गरी हप्तामा दुई पटक पठाउने व्यवस्था समेत यहिं मितिबाट गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार