बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आफू मातहतका निकायलाई छाउगोठ भत्काउन निर्देशन मात्र दिनुभएन, उहाँ आफै पनि छाउगोठ भत्काउन सक्रिय पूर्वक लाग्नुभयो । छाउगोठहरू भत्काउन गृह मन्त्रालयको परिपत्र आएपछि जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लाभरका छाउगोठको तथ्याङ्क संकलन गर्न प्रहरीलाई निर्देशन दिनुका साथै सिडिओ आफै पनि छाउगोठ भत्काउन फिल्डमा खटिनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी पाण्डे सहितको प्रहरीको टोलीले जयपृथ्वी नगरपालिका – ११ धार्मीलेखमा रहेका ११ वटा छाउगोठ भत्काएको थियो । प्रमुख जिल्ला अधिकारीे आफै छाउगोठ भत्काउन हिडेपछि स्थानीय आफैले छाउगोठ भत्काउन थालेका छन् ।
अघिल्लो साता प्रहरी प्रशासनको टोलीले जयपृथ्वी नगरपालिका–९ सेलाखेतमा गएर छाउगोठ भत्काउन निर्देशन दिएको थियो । त्यस लगत्तै चलाएको सचेतना अभियान पछि सातवटा छाउगोठ भत्काएको जयपृथ्वी नगरपालिका–९ का वडाध्यक्ष नवराज कोइरालालले बताउनुभयो ।
‘गाउँमा छाउगोठहरू थिए, हामीले भन्दा गाउँलेले भत्काउन मानेका थिएनन् प्रशासनको टोली पुगेपछि सबैले आ–आफ्ना छाउगोठ भत्काउन थालेका छन्’ वडाध्यक्ष कोइरालाले बताउनुभयो । गाउँलेलाई शुरुमा भेला गराई छाउपडी प्रथा त्याग्न र सामाजिक कुरीति हटाउन सचेतना दिएको र एउटा छाउगोठ प्रहरीले भत्काएपछि अन्य गोठहरू विद्यार्थी तथा किशोरीको सहभागितामा भत्काईएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
धार्मीलेखमा केही बूढापाकाले अवरोध पुर्याएपछि प्रहरीसँग छोरी बुहारी र विद्यार्थीले छाउगोठ भत्काउन साथ दिएका थिए । उनीहरुले छाउगोठ भत्काउनुपर्छ भन्दै नारा समेत लगाएका थिए । प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले सबै पालिकामा रहेका छाउगोठको डाटा लिने काम सम्पन्न गरेको र अब धमाधम जिल्लाभरका छाउगोठ भत्काइने बताउनुभयो । उहाँका अनुसार जिल्लाको चिरबित्डथ, बुंगल नगरपालिका, थलारा, दुर्गाथली, छबिसपाथिभेरा, सुर्मा गाउँपालिका, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, साइपाल, मस्टा, तलकोट, गाउँपालिका लगायतमा गरी तीन सय भन्दा बढी छाउगोठ रहेका छन् ।


781 पटक हेरिएको 

