सल्यान : स्वचालित मेसिन जडान गरिएपछि त्रिभुवन जनता मावि भोटेचौर र भानुभक्त मावि दमाचौरका छात्राले कार्डबाटै सेनेटरी प्याड पाउन थालेका छन् । छत्रेश्वरी गाउँपालिकाले विद्यालयमै मेसिन जडान गरेपछि छात्राले चाहेको बेला सेनेटरी प्याडको सुविधा पाएका हुन् ।
जिल्लाका धेरै छात्रा महिनावारी भएको बेला विद्यालय जादैनन् । छात्राको पढाइ नियमित बनाउन विद्यालयमै मेसिन जडान गरिएको हो । मेसिन जडान भएदेखि सबै छात्राको पढाइ नियमित बनेको त्रिभुवन जनता माविमा कक्षा १० मा अध्ययनरत पिमा बुढाथोकीले बताइन् । ‘पहिले सरसँग मागेरै भए पनि विद्यालयबाटै प्याड सुविधा लिइरहेका थियौं,’ उनले भनिन्, ‘अब त मेसिन जोडियो, चाहिएकै बेला कार्ड छिराएर प्याड निकाल्छौं ।’ उनले शिक्षकसँग लजाउँदै प्याड माग्नुपर्ने बाध्यता टरेको बताइन् ।
विद्यालयले सबै कक्षामा टिम लिडरको व्यवस्था गरी उनीहरूलाई कार्ड वितरण गरेको छ । छात्राले चाहिएको बेला टिमलिडरसँग कार्ड माग्छन् । स्वचालित मेसिनले विद्यालय नियमित बनाइरहेको कक्षा ९ की छात्रा प्रेमा केसीले बताइन् । उनका अनुसार पहिले लाजका कारण प्याड माग्न नसक्दा हरेक महिनामा पाँच दिन पढाइ छुट्थ्यो । विद्यालयमा लागू भएको प्याड वितरण कार्यक्रमबाट गाउँका अन्य महिलामा समेत सुरक्षित प्याडको प्रयोग गर्ने बानीको विकास भएको उनले बताइन् ।
भानुभक्त मावि, दमाचौरमा कक्षा ९ मा अध्ययनरत निर्मला परियारले प्याड वितरणले आफूहरूको पठनपाठन थप व्यवस्थित बन्दै गएको बताइन् । नियमित पठनपाठनमा सहभागी हुँदा सिकाइस्तर बढिरहेको उनको भनाइ छ । ‘अहिले नियमित होमवर्क गर्छौं, कक्षाकार्यमा पनि सक्रियतापूर्वक सहभागी हुन्छौं,’ उनले भनिन् ।
यसअघि ग्रामीण क्षेत्रका छात्राले महिनावारी भएको बेला पुराना कपडालाई प्याडको रूपमा प्रयोग गर्ने गरेका थिए । विगतमा जथाभाबी कपडा प्रयोग गर्दा विभिन्न स्वास्थ्य समस्या देखिएको भानुभक्त माविकी कक्षा १० की विद्यार्थी पुनम ओलीले बताइन् । ‘कार्ड छिराएको १० सेकेन्डमै प्याड झर्छ,’ उनले भनिन्, ‘न कुनै स्वास्थ्य समस्या हुने, न झन्झट नै ।’ मेसिनका कारण प्याड दुरुपयोग हुने जोखिमको पनि हल भएको उनी बताउँछिन् ।
त्रिभुवन जनता माविका प्रधानाध्यापक जीतबहादुर भण्डारीले विद्यालयमा कार्डमार्फत निःशुल्क प्याडको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार यो व्यवस्थाले पठनपाठन थप व्यवस्थित र गुणस्तरीय बन्दै गएको छ । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।
उनले अहिले विद्यालयमा दैनिक छात्रा उपस्थिति ९० प्रतिशत बढेको जानकारी दिए । उनका अनुसार एक वर्षअघि छात्राको उपस्थिति दर करिव ५० देखि ६० प्रतिशत मात्र थियो । ‘अरू कुनै कारणले कुनै दिन छात्रा विद्यालयमा नआउन सक्छन्,’ उनले भने, ‘महिनावारी भएको बेला विद्यालयमा नआउने दर करिब शून्यमा झरेको छ ।’
पहिलो चरणमा दुई विद्यालयमा प्याड खस्ने स्वचालित मेसिन जडान गरिएको अध्यक्ष सन्तोष केसीले बताए । उनका अनुसार सबै माविमा मेसिन जडान गर्ने गरी गाउँपालिकाले बजेट विनियोजन गरेको छ । उनले दुई विद्यालयमा मेसिन जडान गर्न एक लाख ९८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । ‘निःशुल्क प्याड वितरण कार्यक्रमले सबै सामुदायिक विद्यालयमा नियमित उपस्थिति दर बढिरहेको छ,’ उनले भने, ‘विद्यालयमा सकिएको जानकारी पाउनवित्तिकै तत्काल प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।’


1181 पटक हेरिएको 

