सल्यान : सल्यानको शारदा नगरपालिकाले जिल्ला कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई स्यानिटरी प्याड र उनीहरुका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । कारागार अनुगमनका क्रममा कारागारमा कैदीबन्दी जीवन विताईरहेका महिलालाई महिनावारी भएको समयमा समस्या भएको देखेपछि स्यानिटरी प्याड र शैक्षिक सामग्री वितरण गरिएको हो ।
कारागारमा रहेका १८ महिला कैदीबन्दीलाई प्याड वितरण गरिएको नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काारागारमा रहेका चार बालबालिका मध्ये विद्यालय जाने उमेर पुगेका दुई बालबालिकालाई एक थान ह्वाइट बोर्ड, तीन दर्जन कपि, पेन्सिल र मार्कर वितरण गरिएको छ।
कारागार अनुगमनको क्रममा कारागारका महिलाहरुले आफूहरुका लागि स्यानिटरी प्याड र आश्रित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध भएमा राम्रो हुने बताएका थिए । सोही आधारमा उनीहरुको मागलाई ध्यानमा राखी प्याड र शैक्षिक सामग्री वितरण गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।