कपडाको प्याडको नेपाल – केन्या कनेक्सन, यसरी सुरु भएको थियो नेपालमा

काठमाडौ : बजारमा अहिले तीन थरिको स्यानिटरी प्याडको चर्चा छ । एउटा डिस्पोजेबल प्याड (प्रयोग गरेपछि फ्याँक्ने) अर्को जैविक प्याड (प्रयोग गरेपछि फ्याँक्ने तर कुहिने) र तेस्रो हो कपडाको प्याड (धोएर धेरै पटक प्रयोग गर्न मिल्ने) । यी मध्ये तेस्रो प्याडको नाम सँगै जोडेर आउने नाम हो ‘डेज फर गर्ल्स’ अर्थात ‘किशोरीहरुका दिन नेपाल’। डेज फर गर्ल्स नेपालले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड उत्पादन र महिनावारी स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।

नेपालमा हिजोआज कपडाको प्याडको जत्ति चर्चा छ, सम्भवतः यो संस्थाको स्थापना नभएको भए शहर बजारमा बस्नेले डिस्पोजेबल प्याड र गाउँघरमा बस्ने महिलाले हजुर आमा र आमाहरुले झैं टालो नै लगाईरहेका हुन्थे होलान् ?

महिनावारी भएको समयमा नेपाली महिलाहरुले बर्षौबर्ष पहिले देखि नै कपडाको टालो प्रयोग गर्दै आएको भएपनि यसलाई प्याडको आकार दिएर प्रयोगमा ल्याउने काम भने सुरुमा केन्यामा भएको हो ।

अमेरिकी नागरिक सेलेस मर्जन (Celeste Mergens) जो डेज फर गर्ल्स इन्टरनेशनलकी संस्थापक हुनुहुन्छ । उहाँ कुनै समय अफ्रिकन मुलुक केन्यामा स्वयंसेवी हुनुहुन्थ्यो । उहाँ पनि अनाथ आश्रममा बस्नु हुन्थ्यो । उहाँ आफ्नो देश अमेरिकामा फर्किएको केही समयपछि त्यहाँ आन्तरिक हिंसा फैलियो र अझ अनाथ बालबालिकाको संख्यामा बृद्धि भयो । पहिलेको अनाथ आश्रममा धेरै बालबालिकाहरु थपिए ।

सेलेस मर्जन (Celeste Mergens) लाई एकदिन अनाथ आश्रमका प्रिन्सिपलको इमेल आयो, इमेलमा अनाथ बालबालिका अझ धेरै बृद्धि भएको र खानाकै अभाव भएको कुरा उल्लेख थियो । उहाँले केही रकम जुटाएर त्यहाँका अनाथ बालबालिकाका लागि भनेर खाद्यान्न सहयोग पनि गर्नुभयो ।

खाद्यान्न पठाएपनि सेलेसको मनमा एउटा प्रश्नले बास गरिरह्यो । त्यो थियो ‘खानाको प्रबन्ध त भयो, तर महिनावारी भएको समयमा ती बालिकाहरुले के गर्दा हुन् ?’
उहाँले तुरुन्तै प्रिन्सिपललाई इमेल लेख्नुभयो । तर प्रिन्सिपलले महिनावारी हुँदा यहाँका बालिकाहरु केही गर्दैनन् भन्ने जवाफ पठाए ।

‘केही गर्दैनन् भन्नुको अर्थ के ?’ फेरि उहाँले प्रष्ट पार्न आग्रह गर्नुभयो । पछि बुझ्दा महिनावारी भएको समयमा किशोरीहरु कोठामा कार्पेट ओछ्याएर बस्ने, कसैले खाना दिएमा खाने र अरु केही पनि नगर्ने रहेछन् । अब ती अनाथ किशोरीहरुलाई प्याड दिनैपर्छ भन्ने निर्णयमा पुग्न सेलेसलाई कति पनि समय लागेन । तुरुन्तै उहाँले किशोरीहरुलाई प्याड वितरण गर्नका लागि एउटा संस्था स्थापना गर्नुभयो । त्यो थियो । ‘डेज फर गर्ल्स इन्टरनेशनल’ ।

उहाँले अनाथ किशोरीहरुलाई डिस्पोजेबल प्याड त दिनुभयो । तर यसको नकारात्मक असर पनि उत्तिकै देखियो । एक दिन केन्या पुग्दा उहाँले स्यानिटरी प्याडकै कारण शौचालय ब्लग भएको, कुकुरले बजारमा प्याड तानातान गरिरहेको दृश्य देख्नुभयो । कतिले त डिस्पोजेबल प्याड नै धोएर पुनः प्रयोग गरेको पनि देख्नुभयो ।
त्यसपछि सेलेसको दिमागमा क्लिक भयो कि धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड किन वितरण नगर्ने ? पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादन गर्न सके एउटै प्याड धेरै पटक प्रयोग गर्न सक्छन्, जसले गर्दा वातावरणमा यत्ति विघ्न फोहोर हुँदैन भन्ने निश्कर्षमा पुग्नुभयो र कपडाको प्याड उत्पादन गर्न सुरु गर्नुभयो ।

नेपालमा यसरी भित्रिएको थियो

सन् २०१६ मा सेलेस मर्जन (Celeste Mergens) नेपाल भ्रमणमा आउनु भएको थियो । नेपालमा उहाँको भेट डा. उषा महर्जनसँग भयो । उहाँहरु बीच केन्यामा किशोरीहरुले झेल्नुपरेको समस्या र कपडाको प्याडको फाइदा तथा नेपालमा यसको सम्भावना बारे व्यापक छलफल भयो ।

नेपालमा भर्खर भर्खर महिनावारीका बिषयमा खुलेर कुरा हुन थालेको थियो । शहरमा बस्ने र शिक्षित महिलाले डिस्पोजेबल प्याड प्रयोग गर्न थालेपनि गाउँघरका महिलाले टालो नै प्रयोग गर्थे । त्यसैले पनि नेपालमा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याडको प्रबर्धन गर्न सकिन्छ भन्ने निश्कर्षमा उहाँहरु पुग्नुभयो ।

आवश्यकता त छ, भविश्यमा यसको सम्भावना पनि बलियो छ । तर कसरी स्थापना गर्ने त ? किनकि स्थापना गर्नका लागि रकम थिएन । डा. उषाले भन्नुभयो ‘ल तपाईको घरको एउटा कोठा दिनुपर्‍यो, यहीबाट प्याड सिलाउने काम सुरु गरौं ।’ डा. उषाको अभियान मन परेपछि उहाँले घरको कोठा उपलब्ध गराउने मात्र होइन, आफ्नो सिलाई मेसिन पनि उपलब्ध गराउने र आफू पनि प्याड सिलाउने काममा लाग्ने संकल्प गर्नुभयो ।

उहाँ हुनुहुन्थ्यो लक्ष्मी महर्जन । त्यसबेला उहाँ स्कुल ड्रेसहरु, कुर्ता तथा ब्लाउज सिलाउनुहुन्थ्यो । उहाँ अहिले डेज फर गर्ल्स नेपालकी सिलाई अधिकृत हुनुहुन्छ । लक्ष्मीको एउटा मेसिनबाट सुरु भएको डेज फर गर्ल्सले अहिले प्याड सिलाउने मात्र नभई महिनावारी स्वास्थ्यबारे जनचेतना, बेचबिखनमा पर्न नदिन सचेतना एवं प्याड उद्यमी महिलाहरु उत्पादन गरिरहेको छ ।

 

डेज फर गर्ल्स नेपालको कार्यालयमा १० जना महिलाले स्यानिटरी प्याड सिलाउँछन् । संस्थाले अहिलेसम्म लहान, कालिकोट मकवानपुर, लम्जुङ, रसुवा, सिन्धुपाल्चोक, कैलाली, धादिङ, चितवन लगायत जिल्लामा कपडाको प्याड बनाउने तालिम दिएर महिला उद्यमीहरु बनाएको छ । महिनावारी स्वास्थ्य सम्बन्धी काठमाडौकै २८ वटा स्कुलमा लगभग ५ हजार विद्यार्थीलाई तालिम दिईसकेको डेज फर गर्ल्स नेपालकी डाईरेक्टर माया खईतुले बताउनुभयो ।

उहाँका अनुसार तालिम प्रदान गर्नका लागि सिलाई अधिकृत हुनुहुन्छ । उहाँले दुई हप्ताको तालिममा प्याड सिलाउने सीप प्रदान गर्नुका साथै मार्केटिङ गर्ने तरिका, सेल्सको रेकर्ड राख्ने तरिकाका बिषयमा समेत प्रशिक्षण गराईने बताउनुभयो । ‘किशोर अवस्थामा आउने परिवर्तन, महिनावारी चक्र, महिनावारी स्वास्थ्य शिक्षा, बेचबिखनमा पर्न सक्ने सम्भावित किशोरीहरु, बेचबिखनमा फसाउन दिईने प्रलोभन लगायत बिषय पनि दुई हप्ताकै तालिम प्याकेज भित्र सिकाउँछौं’ उहाँले भन्नुभयो ।

सुरुमा केन्यामा कपडाको प्याड सेतो कपडाको बनाए पनि अहिले रंगीचंगी कपडाको बनाउने गरिएको छ । सुकाउन लाज लाग्ने र रगतको दाग बस्ने भएकाले रंगीचंगी कपडा प्रयोग गर्न थालिएको हो । डाइरेक्टर खइतुका अनुसार अहिले डेज फर गर्ल्सले बनाईरहेको कपडाको प्याड २८ औं भर्जन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार