
कालिकोट : कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका भित्रका धामीहरुले देउता माने पनि छाउपडी प्रथा नमान्ने घोषणा गरेका छन् । खाँडाचक्र नगरपालिकाले आयोजना गरेको छाउपडी प्रथाविरुद्ध धामिझाँक्रीलाई सचेतना कार्यक्रममा उनीहरुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । धामीहरुले एउटै स्वरमा भन्नुभयो ‘हामी देवता मान्छौं, छाउपडी प्रथा मान्दैनौँ । महिनावारी भएकी छोरी, बुहारीलाई घरमै राख्छौँ । पहिले विभेद गरियो । अब गर्दैनौँ ।’
खाँडाचक्र नगरपालिका ७ पिलीका धामी हंसबहादुर मल्लले भन्नुभयो ‘छाउपडीविरुद्धको अभियानमा हाम्रो पनि सक्रिय भूमिका हुन्छ । छाउपडी प्रथा मान्नु हुँदैन भनेर गाउँमा सचेतना जगाउँछौं ।’ यस्तै स्थानीय धामी लिला पाण्डेले छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने बताउनुभयो । ‘म आफैं देउताको धामी हुँ । तर तपाईँहरु कसैलाई घरमै छाउपडी बसालेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी म लिनेछु ।’ उहाँले भन्नुभयो ‘घरभित्र महिनावारी भएकी महिलालाई राखेर देवतालाई घण्टा चढाउनु परे, खसी काट्नु परे पनि म कहाँ आउनु होला । तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस् ।’
यसअघि गाउँमा परम्परागत सोच र पुरानो रीति अनुसार चले पनि हालै आएको कानुनले नमान्ने भएपछि सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देउता पनि नलाग्ने र महिला पनि सुरक्षित हुने भएकाले गाउँका सबै स्थानीयलाई छाउ बार्ने प्रथा नमान्न सल्लाह दिने धामी पाण्डेले बताउनभयो । खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले छाउपडी प्रथा न्यूनीकरणमा नगरपालिकाले छाउगोठसँगै छाउ सोच पनि भत्काउने अभियान सुरु गरेको बताउनुभयो ।
‘गाउँमा प्राय देउताका डरले नै महिला छाउगोठमा बस्ने गरेका छन् । यसलाई निरुत्साहित गर्ने छाउगोठ र छाउ सोच भत्काउने अभियानमा धामीको साथ खोजेका छौ ।’ उहाँले भन्नुभयो । ‘खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टले स्थानीय ठालु धामी लगायतका सरोकारवालाको सक्रियतामा खाँडाचक्र नगरपालिकालाई छाउपडी प्रथामुक्त नगरपालिका बनाउने बताउनुभयो ।


2164 पटक हेरिएको 

