एकै दिन सफा र स्वच्छ गाउँ घोषणा भएका पाँच गाउँको सरसफाइ यात्रा

 

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ को देउराली टोल, हुलाक भञ्ज्याङ, मिलनटोल, सेतीदेवी टोल र साँघभन्ज्याङ गरी ५ वटा गाउँलाई गत मंगलबार एकैदिन स्वच्छ र सफा क्षेत्र घोषणा गरियो । देउराली टोलको ३४ घरधुरी, हुलाक भञ्ज्याङको १ सय १८ घरधुरी, मिलनटोलको ३५ घरधुरी र सेतीदेवी टोलको ३४ घरधुरी तथा साँघभञ्ज्याङ टोलको ८६ घरधुरी गरी ३ सय ७ घरधुरीमै सफा र स्वच्छ चरणका सबै सूचक पूरा भएपछि सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो ।

सफा र स्वच्छ चरण घोषणाका लागि हरेक घरले चर्पीको उचित प्रयोग गरेको, व्यक्तिगत सरसफाइ गरेको, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरसफाइ र सार्वजनिक स्थलको सरसफाइ गरेको हुनुपर्छ । यी सबै सूचक पूरा गर्न गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाई तथा वातावरण र जनस्वास्थ्य संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा शान्ति नेपाल धादिङले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

 

सफा र स्वच्छ गाउँ घोषित पाँचै गाउँमा पुग्दा सबैको घर सफा देखिन्छन् । सबैको घरमा खेर गएको पानीबाट करेसाबारी ब्यबस्थापन भएको देख्न पाइन्छ । पानीको शुद्धिकरणको उपाय अपनाएको, साबुन पानी सहितको हात धुने स्थानको व्यवस्थापन भएको, शौचालयको सहज व्यवस्थापन भएको देख्न सकिन्छ । साथै भान्छा कोठा समेत सफा र सबैको घरमा सुधारिएको चुल्हो प्रयोग भएको देख्न सकिन्छ । ज्वालामुखी गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत आगामी सन् २०२३ सम्ममा गाउँपालिकालाई नै सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने योजना छ ।

शान्ति नेपालका अनुगमन तथा मुल्याङ्कन सहायक अधिकृत सुरेश सिग्देलका अनुसार सफा र स्वच्छ गाउँ घोषणा गर्नु अघि निम्न क्रियाकलापहरु सञ्चालन गरिएको थियो ।

अभियान अवधिमा सञ्चालित क्रियाकलापहरु :

 सरसफाइको अवस्था सवेक्षण ।

 २०७६ जेठ महिनामा ५ वटा टोल विकास समिति गठन

 टोल विकास समिति तथा गाउँपालिकाका पदाधिकारीहरुलाई संयुक्त रुपमा ज्वालामुखी गाउँपालिकाको पूर्ण सरसफाइ रणनीतिक योजना र उक्त योजनालाई सम्बोधन गर्न सञ्चालन गरिने गतिबिधि तथा क्रियाकलापहरुको बारेमा अभिमुखीकरण ।

 टोल विकास समितिको पदाधिकारीहरुलाई पूर्ण सरसफाइ र यसको सूचकहरुको बिषयमा बिभिन्न चरणकोे क्षमता अभिबृद्धि सम्बन्धी क्रियाकलापहरु सञ्चालन ।
 टोल टोलमा रहेको टोल समितिमा आबद्ध घरधुरीको प्रतिनिधिहरुलाई सरसफाइको विभिन्न व्यवहार परिवर्तन सम्बन्धी शिक्षा प्रदान ।

 नियमितको घरधुरी भेटघाट, कार्यक्रम, सामाजिक परिचालनका कार्यक्रमहरुबाट बिस्तारै समुदायका व्यक्तिहरुको ब्यबहारमा परिवर्तन हुना थालेको ।

 समुदायको माग अनुसार एन्फो मार्फत शान्ति नेपालबाट ४ लाख पचास हजार, ज्वालामुखी गाउँपालिकाबाट १ लाख पचास हजार, वडा नं. ६ को कार्यालयबाट पचास हजार र समुदायको १ लाख ५३ हजार पाँच सयको लगानीमा हरेक घरमा पानी सुद्धिकरणको लागि फिल्टर र साबुन पानी सहितको हात धुने ठाउँको ब्यबस्थापनको लागी बेसिन सहयोग ।

 स्वास्थ्य शिक्षा र निरन्तर घरधुरी अनुगमन ।

 माघको पहिलो हप्ता शान्ति नेपाल, एन्फो, गाउँपालिका र वडा नं. ६ का प्रमुख एवं प्रतिनिधिहरु सम्मिलित अनुगमन टोलीद्वारा अनुगमन गर्दा ५ टोलको ३ सय सात घरमै सफा र स्वच्छ गाउँ घोषणाका लागि आवश्क सूचकहरु पूरा भएको पाईयो ।

 ज्वालामुखी गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समितिले गाउँपालिकाको पूर्ण सरसफाइ रणनीतिक योजना अनुरुप वडा नं. ६ को ५ वटा टोललाई सफा र स्वच्छ क्षेत्र घोषणाको लागि स्वीकृति प्राप्त भएपछि माघ २१ गते मंगलबार घोषणा गरिएको ।

 

यस्तो थियो अभियान सञ्चालनको पूर्वको सरसफाइको अवस्था

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार