अछाम : छाउगोठहरू भत्काइएपछि महिला र किशोरीहरू महिनावारीका बेला घरैमा बस्न थालेका छन् । उनीहरूलाई छाउ बार्न घर बाहिर राख्नेलाई कानुनी कारबाही हुने सुनेपछि परम्पराका नाममा हुँदै आएको यातनाका घटना प्रकाशमा आउन छाडेका छन् । अभियान सुरु भएको डेढ महिनामा अछाममा ४ हजार ८ सय ४४ छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ ।
अभियानले सफलता पाएपछि अछामलाई फागुन महिनाभित्र छाउगोठमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । ‘माघभरिमा हामी सबैतिरका छाउगोठ भत्काइसक्ने अभियानमा छौं,’ प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भने, ‘सम्भव भएसम्म फागुनभित्रै जिल्लालाई छाउगोठमुक्त घोषणा गर्ने लक्ष्य छ ।’ प्रहरीसँगै जनप्रतिनिधि पनि अघि सरेर गोठ भत्काउने अभियानमा जुटेपछि छाउप्रथाविरुद्ध लागेकाहरूको आवाज सशक्त भएको उनले बताए । मंगलसेनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वतगुरुङको उपस्थितिमा हालै सम्पन्न ‘मर्यादित महिनावारी प्रवर्द्धनका लागि साझा अभियान’ मार्फत १३ बुँदे घोषणापत्र जारी गरेको थियो ।
घोषणापत्रमा स्थानीय सरकारको संयोजनमा छाउपडी बस्ने चलनविरुद्ध जनचेतना फैलाउने, सरसफाइ तथा स्वच्छता व्यवस्थापन गर्ने र प्रत्येक वडा तथा टोलस्तरमा नियमित अनुगमन गरिने उल्लेख छ । त्यस्तै गोठ भत्काएपछि पनि वैकल्पिक रूपमा पाल टाँगेर छाउ बार्ने तथा ओडारमाबस्ने गरेको भेटिए कानुनबमोजिम कारबाही गरिने पनि घोषणापत्रमा छ ।
गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा बसेका बेला मृत्यु भएको थियो । घटनापछि पक्राउ गरिएका जेठाजु छत्रलाई अछाम जिल्ला अदालतले ४५ दिन कैद सजाय गरेको थियो । गत भदौमा जारी अपराध संहितामा यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिएको छ । कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे तीन महिनासम्म कैद वा ३ हजारसम्म जरिवानाको प्रावधान छ । यही कानुन रावतका हकमा पहिलो पटक आकर्षित भएको हो । रावतलाई अदालतले कैद सजाय गरेयता महिला र किशोरीलाई छाउगोठमा बस्न बाध्य पार्न नहुने सन्देश गाउँगाउँमा सञ्चार भएको खबर इकान्तिपुर डट कमले प्रकाशन गरेको छ ।
छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन् । ‘कानुनको बारेमा जान्दाजान्दै गोठमा बसाउनु हाम्रो गल्ती नै थियो,’ रावतले भने, ‘मेरो गाउँमा आमा, दिदीबहिनी सबैलाई छाउगोठमा नबसाउन आग्रह गरिरहेको छु ।’ देउता रिसाउँछन् भन्ने डरले नै छाउगोठमा राख्दा बुहारीको मृत्यु हुनु र आफूले समेत सजाय भोग्दा अरू छाउगोठमा बस्नेलाई समेत सचेत बनाएको उनले बताए ।
गृह मन्त्रालयको निर्देशनपछि प्रहरीको नेतृत्वमा सुरु भएको छाउगोठ भत्काउने अभियानमा सबै पक्षको सहयोग भएको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले बताए । सुरुवात साँफेबगर नगरपालिकाले गरेपछि अन्य नौवटा स्थानीय तहले पनि चासो देखाएका हुन् । ‘अटेर गर्नेलाई कारबाही गर्ने र सेवासुविधा रोक्न सक्ने अवस्था पनि आउने चेतावनीले पनि सकारात्मक परिवर्तन आएको छ,’ प्रहरी प्रमुख भारतीले भने ।


605 पटक हेरिएको 

