बाग्लुङका सामुदायिक विद्यालयमा बल्ल स्यानिटरी प्याड वितरण सुरु

 1487 पटक हेरिएको


बाग्लुङ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क स्यानिटरी प्याड वितरणकोे घोषणा गरेको दुई महिनापछि बाग्लुङको जैमिनी नगरपालिका छात्राले बल्ल स्यानिटरी प्याड पाएका छन् । सरकारले स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधी लागु गरी देशभरिका सामुदायिक विद्यालयमा प्याड वितरणको काम सुरु गरेपनि जैमिनी नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयले पाएका थिएनन् ।

नगरपालिकाकी उपप्रमुख लीला रानाले जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयमा गठित बालअधिकार चेतना समूकी अध्यक्ष मेलिना चापागाईलाई आइतबार स्यानिटरी प्याड हस्तान्तरण गरेर प्याड वितरण कार्यक्रम सुरु भएको उदघोष गर्नुभयो । उहाँले विविध कारणले प्याड वितरणमा ढिलाई भए पनि आजैबाट नगरपालिका भित्रका २२ वटै विद्यालयमा लागु गरिएको बताउनुभयो ।

जैमिनी नगरपालिका भित्रका सामुदायिक विद्यालयका १७ सय ८७ जना छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण गरिने नगर शिक्षा अधिकारी खेम आचार्यले बताउनुभयो । महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड फेर्नु पर्ने भएकाले दैनिक ४ वटाका दरले महिनाको १६ वटा प्याड वितरण गरिने उहाँले बताउनुभया ।
स्यानिटरी प्याड वितरण भएपछि महिनावारी भएको समयमा छात्राहरुले विद्यालय छोड्ने समस्या समाधान हुने अपेक्षा गरिएको छ । स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधी अनुसार नै हरेक विद्यालयमा महिला शिक्षकलाई सम्पर्क व्यक्ति तोकिएको उहाँले बताउनुभयो । महिला शिक्षकलाई सम्पर्क व्यक्ति तोकिंदा छात्रालाई प्याड माग्न सजिलो हुने आचार्यले बताउनुभयो ।

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने गरि १ अर्व २७ करोड ७३ लाख रुपैया बजेट विनियोजन गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार