अछाम : अछामको मंगलबजारलाई छाउगोठमुक्त घोषणा गरिएको छ । नगरपालिका क्षेत्रमा रहेका सबै छाउगोठ भत्काएर महिलाहरु घरभित्रै बस्न थालेको सुनिश्चितता भएपछि कमलबजार नगरपालिकालाई सोमबार छाउगोठमुक्त नगर घोषणा गरिएको हा । कमलबजारमा स्थानीय प्रशासनले ३ सय ८२ छाउगोठ भत्काइएको छ ।
गृह मन्त्रालयले ‘छाउगोठ भत्काउनू, सम्झाइ बुझाइ गर्नू र अटेर गरे कानुनी कारबाही गर्नू’ भन्दै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि अछाममा पुस ९ गतेदेखि छाउगोठ भत्काउने अभियान सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालयको संयोजनमा १० वटै पालिकाका प्रमुख–उपप्रमुखले माघ मसान्तभित्र छाउगोठ भत्काइसक्ने र फागुनभित्र जिल्लालाई छाउगोठमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसै प्रतिबद्धता अनुरुप कमलबजार नगरपालिकालाई छाउगोठमुक्त घोषणा गरिएको नगरप्रमुख ओमप्रकाश विष्टले बताउनुभयो ।
प्रहरीका अनुसार जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी चौरपाटी गाउँपालिकामा ८५३ छाउगोठ भत्काइएको छ । यस्तै साँफेबगर नगरपालिकामा ४६४, मंगलसेनमा ५१९, पञ्चदेवलविनायकमा ३४१, कमलबजारमा ३८२, ढकारी गाउँपालिकामा ७५४, तुर्माखादमा ४४९, मेल्लेखमा ४२७, रामारोसनमा २७२, चौरपाटीमा ८५३, बान्नीगढी जयगढमा ५२९ छाउगोठ गरी जिल्लाभर ५ हजार ८ सय ४३ छाउगोठ भत्काइएका छन् । छाउगोठ भत्काएपछि अछामका महिला अहिले घरभित्रै बस्न थालेका छन् । आफूहरु देवताको भन्दा पनि समाजको डरले घर बाहिर बस्न बाध्य भएकोले छाउगोठ भत्काउने सरकारको अभियान सह्रानीय रहेको महिलाहरु बताउँछन् ।
अछामका सबै स्थानीय तहलाई छाउगोठमुक्त घोषणा गरेपछि फागुन मसान्तभित्रै अछाम जिल्लालाई छाउगोठमुक्त जिल्ला घोषणा गर्ने कार्ययोजना छ ।