काठमाडौ : हेर्दा रुमाल जस्तै आकर्षक देखिने । स्वीटरको गोजीमै बोक्न पनि मिल्ने । बजारमा पाईने स्यानिटरी प्याड भन्दा फरक, तर कामको हिसाबले भरपर्दो स्यानिटरी प्याडको नाम हो ‘कपडाको प्याड’ । धादिङकी विमला ठकुरी हिजोआज यही प्याड सिलाउनुहुन्छ । मकवानपुर कुलेखानीकी सञ्जु बलामीले स्यानिटरी प्याड सिलाउन थालेको तीन बर्ष पूरा भईसकेको छ । प्याड सिलाउन थालेपछि सन्जुलाई, श्रीमानको कमाईमा मात्र भर पर्नु परेको छैन । घरखर्च स्यानिटरी प्याड सिलाएको आम्दानीबाटै चल्न थालेको छ ।
हेरौं यो भिडियो रिपोर्ट :
दैनिक आईपर्ने खर्च मात्र टरेको छैन प्याडले । छोराछोरीको पढाई खर्च पनि प्याड सिलाएरै जुटाईरहनुभएको छ, धादिङ सुनौलोबजारकी चनमति मग्राती । छोराछोरीको पढाई खर्चले पिरोलिरहने चनमतिलाई अहिले ढुक्क छ । प्याड सिलाएर महिनामै २६ हजार रुपैयाँसम्म कमाउन सफल भएपछि प्याड सिलाएरै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ । मग्राती भन्नुहुन्छ ‘म भविश्य सम्झेर तड्पिन्थें, दुई मुठा साग बेचेर कसरी बालबच्चा पढाउने होला भनेर पीर लाग्थ्यो । कपडाको प्याड सिलाउने सीप सिकेपछि छोराछोरी कसरी पढाउने भन्ने चिन्ता हटेको छ ।’
धादिङकी चनमति मग्राती र विमली ठकुरी, मकवानपुरकी सञ्जु बलामी जस्ता थुप्रै महिलालाई डेज फर गल्र्स नेपालले प्याड सिलाउने व्यवसायिक सीप प्रदान गरेको हो । यसका साथै महिनावारी शिक्षा, बेचबिखनबाट बच्न अपनाउनुपर्ने उपाय लगायत बिषयमा पनि सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको डेज फर गल्र्स नेपालकी निर्देशक माया खाईतुले जानकारी दिनुभयो ।
धोएर प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्दा स्वदेशी उत्पादन र स्वदेशी सीपको प्रयोग हुने हुँदा रोजगारीको अवसर सिर्जना हुन्छ । आर्थिक रुपमा किफायती, वातावरणमैत्री र स्वास्थ्यको दृष्टिकोणले समेत लाभदायक हुने हसँदा यसको प्रयोगमा बढावा दिनुपर्ने प्याड प्रबर्धकहरु बताउँछन् ।


2124 पटक हेरिएको 

