रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले फोहोर बिसर्जनमा अवरोध पुर्याएका छन् । नगरपालिकाले पक्लिहवा क्षेत्रमा फ्याक्दै आएको फोहोर स्थानीयबासीले रोकेपछि फोहोर बोकेको गाडी फर्काएर नगरपालिका परिसरमै ल्याइएको छ । बुधवार संकलन गरिएको फोहोर फ्याँक्न नदिएपछि नगरपालिका कार्यालय परिसरमै राखिएको नगरपालिका कार्यालयको सरसफाइ शाखाका प्रमुख केशव पौडेलले बताउनुभयो ।
स्थानीयबासिन्दाले फोहोरलाई व्यवस्थित तरिकाले बिसर्जन गर्न अनुरोध गरेपनि नगरपालिकाले कुनै सुनुवाई नगर्दा बाध्यताले फोहोर फ्याँक्न रोक्नु परेको स्थानीयबासिन्दाले बताएका छन् । नगरपालिकाले डण्डा नदी किनारमा बर्षौदेखि फोहोर थुपार्दै आएको छ । कुनै प्रविधि नअपनाई फोहोर मात्र थुपार्दा नदीको पानी प्रदुषित हुनुका साथै जलचर प्राणी समेत लोप हुँदै गएका छन् ।
नगरपालिकाले ओमसतिया गाउँपालिकामा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्न खोजेपनि विभिन्न विवादका कारण प्रसोधन केन्द्र निर्माण हुन सकेको छैन । वडा नम्बर एक र दुईका वडा अध्यक्षहरुसँग छलफल गरी समस्या समाधानका लागि प्रयास गरिने सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताउनुभयो । १३ वटा वडा रहेको नगरपालिकाबाट दैनिक ३० टन फोहोर उत्सर्जन हुँदै आएको छ ।