
काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ मार्गको परिक्षण गरिएको छ । हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी प्रवाह गराई परिक्षण गरिएको हो । करिब एक किलोमिटर लामो सुरुङ मार्गभित्र मेलम्चीको पानी केही समस्या नआएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो ।
खानेपानीमन्त्री बिना मगर, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी लगायत सरोकारवालाहरुको उपस्थितिमा हेडवर्क्सबाट सुरुङ मार्गमा पानी प्रवाह गरिएको हो । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण सम्पन्न भएका संयन्त्रहरुको परिक्षण गर्दै लगिने कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । सुरुङ मार्गको निरीक्षण पछि खानेपानमन्त्री बिना मगरले मेलम्ची आयोजना अब कसैले पनि रोक्न नसक्ने बताउनुभयो । उहाँले लामो प्रतिक्षा, अन्यौलता र पछिल्लो चरणमा गरेको मेहनत पछि आयोजनाको निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘अब कुनै कारणले आयोजना रोकिनेवाला छैन, तोकिएकै समयमा काठमाडौबासीले मेलम्चीको पानी पिउन पाउँछन् । अब मेलम्ची आउँदैन कि भन्ने भ्रम तोडियो’ उहाँले भन्नुभयो ।
मुहानमा बन्ने हेडवर्क्स फिनिसिङको काम बर्षायामपछि सम्पन्न गर्ने लक्ष्य भएपनि कफरड्यामको माध्यमबाट पानी डाइभर्सन गरी मुख्य सुरुङबाट सुन्दरीजलको प्रशोधनशाला सम्म असारभित्रै पानी ल्याउने खानेपानीमन्त्री मगरले बताउँदै आउनुभएको छ । उहाँले केही अघि मेलम्ची खानेपानीको स्वेतपत्र जारी गर्दै असार मसान्तभित्र मेलम्चीको खानेपानी काठमाडौबासीलाई वितरण गर्ने बताउनुभएको थियो ।


1249 पटक हेरिएको 

