
सर्लाही : सर्लाहीमा स्थापना गरिएको कोरोना भाइरस संक्रमण विरुद्ध सहायता कक्षमा हात धुने अभ्यास र ज्वरो मापन गरिएको छ । विदेशवाट आएका व्यक्तिहरु कोरोना संक्रमणको जोखिममा हुने र उनीहरु राहदानी नवीकरणका आउने हुँदा कोरोनाको थप संक्रमण फैलिन नदिनका लागि जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष शुरु गरिएको हो ।
पहिलो दिन मंगलबार करिब १ सय जनालाई सेवा पुर्याइएको सहायता कक्षमा साबुन पानीले हात धुन सिकाउनुका साथै मास्क समेत वितरण गरिएको बागमती सेवा समाज नेपालका व्यवस्थापक गजेन्द्र ठाकुरले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र स्थापना गरिएको कोरोनाविरुद्धको सहायता कक्ष उद्घाटन गर्दै जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले कोरोनाबाट विश्व नै आतंकित भइरहेको अवस्थामा कोरोना संक्रमणको प्रारम्भिक तापक्रम जाँच गर्नका लागि सहायता कक्ष स्थापनाले सर्वसाधारणलाई ठूलो राहत पुग्ने बताउनुभयो ।
“कोरोनाको उद्गम थलो चीन र कोरोना संक्रमण द्रुत गतिमा बढिरहेको भारतको बीचमा रहेको नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ ।” प्रमुख चौधरीले भन्नुभयो “संक्रमित व्यक्तिको उपचार र थप संक्रमण फैलिन नदिन यस प्रकारको सहायता कक्षले ठूलो भुमिका खेल्न सक्छ ।” सोही अवसरमा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीसीले सर्वसाधारणको स्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “सर्वसाधारण नागरिकको आवतजावत हुने जिल्ला प्रशासन कार्यालयमा कोरोना विरुद्धको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्नेछ ।” प्रमुख जिल्ला अधिकारी जीसीले भन्नुभयो ।

सहायता कक्ष उद्घाटनका अवसरमा बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकोले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको बताउनुभयो । सहायता कक्षमा इन्फ्रारेटेड थर्मामिटरको माध्यमद्वारा नागरिकको तापक्रम नाप्ने र ज्वरोका साथै रुघाखोकी, श्वासप्रश्वासमा कठिनाई जस्ता लक्षण देखिएमा तत्काल जिल्ला अस्पतालमा थप जाँचका लागि सिफारिस गरी पठाउने जानकारी समेत अध्यक्ष कार्कीले दिनुभयो ।
दैनिक ३ सयभन्दा बढी सर्वसाधारणको आवत जावत रहने जिल्ला प्रशासन कार्यालयमा सञ्चालित कोरोना विरुद्धको सहायता कक्षमा ३ जना स्वास्थ्यकर्मीको टोली खटिएको छ ।


1092 पटक हेरिएको 

