काठमाडौ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारी हुँदा निशुल्क स्यानिटरी प्याड दिन थालेसँगै यसको सही व्यवस्थापनको चिन्ता बढ्न थालेको छ । एक जना छात्राले महिनाको १६ वटा सम्म प्याड प्रयोग गर्दा त्यसलाई तत्काल व्यवस्थापन गर्न नसके वातावरणमा चक्लेटको खोल जस्तै सर्वत्र फैलिने निश्चित छ ।
हामीसँग समस्या मात्र छैन, समाधानको उपाय पनि हामीसँगै छ । समयमै स्यानिटरी व्यवस्थापनको उपाय अपनाउन सके भविश्यमा पछुताउनु पर्दैन । बजारमा स्यानिटरी प्याड जलाउने विद्युतीय मेसिन आइसकेको छ । यसलाई प्रयोग गरी प्याड जलाउँदा वातावरणमा असर पर्दैन । बाहिर आगो बालेर फोहोर जलाए जस्तो गन्ध आउने, धुँवा आउने वा नजल्ने समस्या यसमा हुँदैन । प्याड जलाउने मेसिनको स्वीच अन गरेर प्याड हाल्ने ढोकाबाट प्याड विसर्जन गर्ने वित्तिकै मेसिनले स्वचालित तरिकाले जलाएर खरानी मात्र निकाल्छ ।
यसबारे थप जानकारी हासिल गर्न हेरौं यो भिडियो :
स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिले समेत स्यानिटरी प्याड व्यवस्थापनको जिम्मा तीनै तहको सरकारको हुने उल्लेख गरेको छ । स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिको परिच्छेद ४ मा स्यानिटरी प्याडको प्रयोग तथा विसर्जन सम्बन्धी व्यवस्थाबारे ब्याख्या गरिएको छ । जसमा स्यानिटरी प्याडको दिगो विसर्जन लगायतका बिषयमा श्रव्य दृश्य सामग्री तथा हाते पुस्तिका तयार गरी स्थानीय तहलाई उपलब्ध गराउने दायित्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हुने र स्थानीय तहले महिनावारी स्वास्थ्य, किशोरी स्वास्थ्य तथा स्यानिटरी प्याडको प्रयोग र प्रयोग पश्चात त्यसको दिगो विसर्जन सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
कार्यविधिको दफा ९ मा प्रयोग भएका प्याडलाई वातावरणमा प्रतिकुल असर नपर्ने गरी दिगो विसर्जन गर्न विद्यालयको हाताभित्र खाल्डो खनेर पुर्नुपर्ने र पूर्ने ठाउँको अभाव भएमा अन्य फोहोरमैला सरह यस्ता वस्तुहरुको विसर्जन गर्नुपर्ने उल्लेख छ ।


4326 पटक हेरिएको 

