काठमाडौ : थोत्रा बट्टा, बाटा र बाल्टीमा बिरुवा र विभिन्न लहरे जातका तरकारी लगाइएको छ । दूधका प्याकेटका मुख काटेर माटो भरेर कौसीमा खेती सुरु गरिएको छ । भान्साबाट निस्कने फोहोर पानी बाल्टीमा जम्मा गरिएको छ । लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरी मल बनाइएको छ ।
दृश्य हो, काठमाडौं डल्लुस्थित रेखा महर्जनले घरमै गरेको कौसी खेतीको। काठमाडौं महानगरपालिका–१५ चमतीकी कमला महर्जनले पनि जार र माछाको क्यारेटमा माटो भरेर लसुन, सिमी, फर्सी, गोलभेंडालगायत तरकारी फलाएकी छन्। उनले कौसी र बरन्डामा गमला राखेर तिनमा फूल पनि रोपेकी छन्। उनीहरूले कुखुराको सुली र घरमै उत्पादित फोहोरलाई मलका रूपमा प्रयोग गर्न गरेका छन्। काठमाडौं महानगरपालिका–१९ की लक्ष्मी महर्जनले भने कौसीमा काँक्रो, सिमी, बोडी, गोलभेंडा, खुर्सानी लगाएकी छन्। उनी भन्छिन्, ‘घरमा बस्दाबस्दै दिक्क लाग्यो। तरकारीको भाउ पनि दिनदिनै बढिरहेको छ। अनि छिमेकीले कौसीमा तरकारी फलाएको देखेर मैले पनि सुरु गरें।’
लकडाउनको अवधि लम्बिएसँगै राजधानीमा उनीहरूजस्तै अन्यले पनि कौसी खेती थालेका छन्। घरका छत, कौसी र बरन्डामा खुर्सानी, गोलभेंडा, सागलगायतका तरकारी रोपेर करेसाबारीका रूपमा उपयोग गर्न थालेका छन्। आठ वर्ष वर्षअघि कौसी खेती सुरु गरेका काठमाडौंका शेषनारायण महर्जन भने आफन्तलाई मौसमअनुसारको तरकारी तथा फलफूल कोसेली दिने गरेका छन्।
कौसी खेतीका प्रशिक्षकसमेत रहेका महर्जनले लकडाउनको सदुपयोग गरेर कौसीको एकपट्टि चैत्य र कृत्रिम ढुंगे धारा बनाई मेसिन जडान गरेर पानी बगाएका छन्। गमलामा थरीथरीका फूल रोपेर बरन्डालाई बगैंचा बनाएका छन्। ‘कसैले कौसी खेती गर्न चाहे तीन भाग माटो र दुई भाग घरेलु मल प्रयोग गरेर तरकारी लगाउन सकिन्छ। यसले माटोले कौसीमा हुने भार कम गर्छ।’ ‘खेती गर्दा जरा सकभर कम फैलने तथा गहिराइमा सीमित हुने बाली लगाउनुपर्छ,’ उनले भने, ‘छिटो उत्पादन दिने र बोट नझाङ्गिने बाली लगाउन सकिन्छ।’
कौसी खेती गर्न कागती, मुन्तला, सुन्तला, जुनार स्ट्रबेरी लगायत फलफूल उपयुक्त हुने उनले सुझाए। ‘गोलभेंडा, भन्टा, भेडे खुर्सानी, स्विसचार्ड, रायो, करेला, काँक्रो, लौका, घिरौंला, काउली र बन्दा कौसीमा लगाउने तरकारीमा पर्छन्। त्यस्तै सिमी, बोडी, धनियाँ, लसुन, प्याज रामतोरियाँ, प्याज, सलगम, मुला लगायत तरकारी पनि कौसी खेतीका लागि उपयुक्त मानिन्छन्,’ उनले भने। यो फिचर हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।