पोखरा महानगरमा सेनिटाइजर टनेल शुरु, ५ सेकेण्डमै पूरा शरिर सफा पार्ने

🔗
23
Shares

पोखरा : पोखरा महानगरपालिका र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित सेनिटाइजर टनेल महानगरको कार्यालय परिसरमा जडान गरिएको छ । मानिसको सम्पूर्ण शरिरलाई सेनिटाइज गरी कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शुभारम्भ गर्नुभयो । उहाँले सेनिटाइजर टनेल भित्र प्रवेश गरेर टनेलको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोना सक्रमण नियन्त्रण गर्न यस्ता प्रविधि उपयोगी हुने बताउनुभयो। सेनिटाइजर टनेल गण्डकी प्रवेश गर्ने प्रमुख नाका, अस्पताल, व्यस्त रहने सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, सपीङ मल लगायतमा राख्नु पर्ने उहाँले सुझाव दिनुभयो । यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले बचन दिनुभयो ।

उहाँले कोरोनाले अहिले हाम्रो दैनिकलाई मात्र असहज बनाएपनि यसले दीर्घकालीन रुपमा पार्ने आर्थिक असरलाई पनि अहिले देखि नै ‘मेकअप’ गर्ने योजना सहित काम गर्नुपर्ने बताउनुभयो । लकडाउनको विकल्पमा विज्ञानले विकास गरेको प्रविधिलाई कोरोना संक्रमण रोकथाममा प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले इन्जिनियरहरुले बनाएको यो सेनिटाइजर टनेललाई पोखराको ब्रान्ड बनाउनुपर्ने बताउनुभयो । सेनिटाइजर टनेलले कोरोना संक्रमणलाई रोकथाम गर्न सहयोग पुर्‍याउने बताउँदै जिसीले टनेल निर्माण गर्ने नेपाल इन्जिनियर एसोसिएसन गण्डकीका इन्जिनियरहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

करिब ५ सेकेन्डमा यो स्वचालित सेनिटाइजर टनेलले होलबडीलाई सेनिटाइज गरिसक्ने नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकीका अध्यक्ष बाबुराम भण्डारीले जानकारी दिनुभयो। उहाँले गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइरसबाट सुरक्षति राख्नका लागि गण्डकी प्रदेश तथा पोखराका नाकाहरुमा यस्तो सेनिटाइजर टनेल राख्नु पर्ने बताउनुभयो । उहाँका अनुसार यो सेनिटाइजर टनेल बनाउँदा १ लाख ५० हजारको सामग्री लागेको र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) का इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी पोखरा महानगरको यान्त्रिक कार्यशालामा टनेल निर्माण गरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार