काठमाडौ : न तालिम कक्षमा सहजकर्ता । न त खचाखच प्रशिक्षार्थी नै । तैपनि हजारौं जनालाई एकैपटक तरकारी फलाउने सीप प्रदान गरिरहनु भएको थियो कौशी खेती विज्ञ शेष नारायण महर्जन । उहाँले कतिको त कौसी खेती सम्बन्धी जिज्ञासाको तत्काल समाधान पनि गर्नुभएको थियो ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अनलाइनबाटै कौसी खेती सम्बन्धी तालिम दिईएको हो । लकडाउनको अवस्थामा भान्छाको फोहोर व्यवस्थापन गर्न र आफैले तरकारी उत्पादन गर्न कौसी खेती सम्बन्धी तालिम दिईएको गुथि संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।
अनलाइन कौसी खेती तालिममा घरमै रहेको जैविक फोहोर र आकाशेपानीको प्रयोग गर्दै घर आँगनमै तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने जानकारी दिइएको थियो । भान्छाबाट निस्कने फोहोरको प्रयोग गरेर मल बनाउने र उक्त मल कौसी खेतीमा प्रयोग गर्न सकिने सम्भावना बारे प्रशिक्षण दिईएको थियो । यसले खाद्य चक्र पुरा हुनका साथै सहरी हरियालीमा वृद्वि भई जलवायु परिवर्तन विरुद्वको लडाईंमा पनि टेवा पुर्याउने कौशी खेती विज्ञ शेष नारायण महर्जनले बताउनुभयो ।
यस्तै कौसी खेती गर्न चाहिने सामग्री, प्रविधि, घरमा रोप्न सकिने विभिन्न तरकारी बाली, कम्पोष्ट आदिका बारेमा पनि जानकारी गराईएको थियो । अतिथि वक्ता पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले कोभिड–१९ को प्रकोप पश्चात हरेक नेपालीले खाद्य उत्पादनमा लाग्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । ‘नेपालमा अब न त रेमिटेन्स आउँछ न त हामी बाहिरबाट खाद्यान्न खरिद गर्न सक्छौ त्यसैले अब खेतीपातीमा लाग्नुपर्छ’ उहाँले भन्नुभयो ‘सहरी क्षेत्रमा कौशी खेती मात्र होइन हाइड्रोफोनिक्स र मल्टी स्टोरी फामिङ्गको विकास भइरहँदा यो तालिम निकै उपयोगी भएको छ ।’ उहाँले हरेक नागरिकले कौसी खेती गरे कार्बन फुटप्रिन्ट कम गराउने र घर घरको फोहोर व्यवस्थापन हुने बताउनुभयो ।
प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठले सहरी क्षेत्रमा कौसी खेतीलाई प्रोत्साहन र प्रबर्धन गर्न आवश्यक नीति तथा कार्यक्रमका लागि सरकारलाई सुझाव र मार्ग निर्देशन गर्ने बताउनुभयो ।
तालिम कार्यक्रममा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कौसी खेतीद्वारा तरकारी आपूर्तिमा सहज हुने र भान्छाको जैविक फोहोरलाई व्यवस्थापन गरी तरकारी उत्पादनमा प्रोत्साहित गर्न जरुरी रहेको बताउनुभयो । ‘सहरी कौशी खेतीले हरीयाली बढाउन पनि मद्दत गर्छ र पृथ्वीको कार्वन फुटप्रिन्ट घटाउन सहयोग गर्छ ।’ उहाँले भन्नुभयो । आगामी दिनमा गुथिले कम्पोष्ट मल बनाउने, ई.एम. बनाउने, बाली चक्र आदिको विषयमा थप अनलाइन तालिम प्रदान गर्ने, घरघरमा कम्पोष्ट विन र वीउको व्यवस्था गरी कोरोना पछिको समयमा पनि सहरी खेतीलाई प्रोत्साहन गर्न सरकारलाई माग गर्ने उहाँले जानकारी गराउनुभयो ।
NREN र ICT4D नामक संस्थाले वेविनार गर्न प्रविधिक सहयोग गरेको थियो । पचासौं पृथ्वी दिवसको अवसर पारी गैर सरकारी संस्था गुथिद्वारा आयोजित अनलाइन कौसी खेती सम्बन्धी प्रशिक्षण जुम एप र फेसबुक लाइभ मार्फत ८ हजार १५२ जनाले हेरेका थिए । सन १९७० देखि हरेक वर्ष अप्रिल २२ को दिन पर्यावरणीय क्रान्तिका लागि पृथ्वी दिवस मनाउँदै आइरहेको छ ।