
काठमाडौ : काठमाडौं महानगरपालिका वडा नं. १५, भुईखेलमा शरीर निसङ्क्रमण द्वार राखिएको छ । काठमाडौ महानगरपालिका वडा १५ को लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्मित निसङ्क्रमण द्वारको काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले शुभारम्भ गर्नुभयो ।
काठमाडौं वडा नंं. १५ भुईखेलमा हाल काठमाडौं महानगरपालिकाले असहाय, विपन्न र अनौपचारिक श्रमिकहरुलाई खाना खुवाउने व्यवस्था गरेकोले यस स्थानलाई निसङ्क्रमण द्वार राख्ने उपयुक्त स्थानको रुपमा छनौट गरिएको हो ।
निसङ्क्रमण द्वारमा इफेक्टिभ माइक्रो अरग्यानिजम (Effective Microorganism) अर्थात इ.एम. (EM) को झोल स्प्रे गर्छ र शरीर भरि रहेका सुक्ष्म जिवाणुलाई निष्क्रिय पारी जीवाणु रहित बनाउँछ । इ.एम. विभिन्न उपयोगी सुक्ष्म जीवाणुको मिश्रण भएको झोल हो जसले हानिकारक सुक्ष्म जीवाणुहरुलाई नष्ट गर्छ । अन्य किटनाशक रसायनले जस्तो इ.एम.को नकारात्मक असर मानब स्वास्थ्यमा हुँदैन ।

हाल उपत्यकाका विभिन्न स्थानमा किटाणुनाशक रसायन छर्ने काम भइरहेको छ । ठाउँ ठाउँमा व्लिचिङ्ग पाउडर, मालाथिन र क्लोरिन छर्किने कार्य अझै पनि जारी छ । तर रसायनिक विषादीको प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पर्दछ । यसले मानिसको छाला, आँखा, नाक, घाटी र श्वास प्रश्वास प्रणालीमा असर गर्नुका साथै विभिन्न स्वास्थ्य समस्या जस्तै क्यान्सर, दम जस्ता रोगको कारक बन्न सक्दछ ।
चीनमा पनि सुरु सुरुमा व्यापक रुपमा किटाणुनाशक रसायन छरिए पनि यसले सकारात्मक भन्दा नकारात्मक असर बढी देखाएपछि चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसलाई रोक्ने निर्देशन दिएको थियो ।
इ.एम. रिसर्च अर्गनाइजेशन जापानका प्रोफेसर हिगाले किटाणु नासक रसायनको सट्टामा इ.एम. प्रयोग गर्दा राम्रो हुने कुरा बताएका छन् । पहिलेको अनुसन्धानले पनि इ.एम. ले इन्फ्लुएन्जा हरपिज तथा विभिन्न अरु भाइरसका विरुद्व इ.एम एक प्रभावकारी प्राकृतिक किटनाशक भएको पुष्टि गरेको छ । PH3.5 भन्दा कमको अम्लिए इ.एम. झोलले भाइरसलाई एकै क्षणमा निष्क्रिय पार्छ र हानिकारक जीवाणु उत्पन्न हुन बाट रोक्छ । यो झोल कोरियाको वुसान शहरमा पनि कोभिड–१९ विरुद्व निसङ्क्रमणको रुपमा प्रयोग भइसकेको छ । यसले मानव र वातावरणमा पनि नकारात्मक असर नहुने र यसले झन उपयोगी जीवाणुलाई बढ्न मद्दत गरेर वातावरण स्वच्छ र स्वस्थ राख्न सहयोग गर्दछ ।
स्पर्श रहित हात धुने स्टेशनको शुभारम्भ

हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनले कम्तिमा २० सेकेण्ड सम्म मिचिमिचि हात धुनु रहेको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न स्पर्श रहित हात धुने स्टेशनको स्थापना गरिएको छ ।
अहिले लक डाउनको बेलामा पनि अत्यावश्यक कार्यमा निस्कने कर्मचारीहरु र सर्वसाधारणका लागि स्पर्श रहित हात धुने स्टेशन प्रभावकारी रहने अपेक्षा गरिएको छ । यस संयन्त्रलाई खुट्टाले प्याडललाई दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने हुन्छ । यो स्पर्श रहित हात धुने प्रविधि वाटर एड नेपालद्वारा निर्माण गरिएको हो ।
काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाहरु सँगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले उपत्यकाका चार वटै नगरपालिकामा ५० वटा स्पर्श रहित हात धुने स्टेशन राख्ने कार्यको आज मेयर विद्या सुन्दर शाक्यले काठमाडौ महानगरपालिकाको वडा नं. १५ भुँइखेलबाट सुरुवात गर्नुभयो ।


1330 पटक हेरिएको 

