
भोजपुर : लकडाउनको समयलाई सदुपयोग गर्दै भोजपुरका महिलाहरु स्यानिटरी प्याड बनाउन व्यस्त छन् । सुरु सुरुका दिनमा महिनावारी भन्न पनि लजाउने महिलाहरू हिजोआज घरेलु स्यानिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् । स्थानीय तहहरूले स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिमहरू सञ्चालन गर्न थालेपछि महिलाहरूले सीप सिकेर व्यवहारमा प्रयोग गर्न थालेका हुन् ।
यसका लागि भोजपुर नगरपालिकाले वडा नम्बर १ र २ को हेलौँछा, वडा नम्बर ६ को पालुवा र वडा नम्बर ४ सिद्धेश्वरमा स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिसकेको छ । नगरपालिकाले स्यानिटरी प्याड बनाउने तालिमका लागि चालु आर्थिक वर्षको महिला स्वास्थ्य शीर्षकमा १ लाख २० हजार बजेट छुट्याएको थियो । जस अन्तर्गत हेलौंछामा ३१ जना, दाँवामा ३२ जना र पालुवामा ४५ जना गरी १ सय ८ जना महिलालाई तालिम दिइएको भोजपुर नगरपालिकाकी उपमेयर ममिता राईले जानकारी दिनुभयो ।
‘नगरपालिकाले महिला दिदीबहिनीहरूको स्वास्थ्यलाई गम्भीर ध्यानमा राख्दै स्यानिटरी प्याड बनाउने अभियान ल्याएको उपमेयर राईले बताउनुभयो । सबैलाई प्याड बाँडेर साध्य नहुने र सीप दिएमा महिलाहरु आफैँ सक्षम भएर प्रयोग गर्न सक्छन् भन्ने हेतुले स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम दिईएको उहाँले बताउनुभयो ।
घरमै बनाइएको हाते प्याडलाई एकपटक प्रयोग गरी धोएर पुनः प्रयोगमा ल्याउने किसिमको र लगाउँदा मुलायम, आरामदायी, सुरक्षित हुने महिलाहरू बताउँछन् । बजारको प्याडले स्वास्थ्य समस्या ल्याउनुका साथै खर्च पनि बढाउने भएपछि आफूहरू घरेलु प्याड बनाउन सक्रिय भएको भोजपुर नगरपालिका वडा नम्बर ४ दाँवाकी धर्मकुमारी खड्काले बताउनुभयो । बजारमा पाइने विभिन्न कम्पनीका स्यानिटरी प्याडको प्रयोगले महिलाहरूको स्वास्थ्यमा पुर्याउने गम्भीर असरप्रति ग्रामीण महिलाहरू सचेत हुन थालेका खड्काले बताउनुभयो ।
रासायनिक पदार्थ मिसावट गरिएका ती प्याड प्रयोग गर्दा महिलाहरूको छाला तथा पाठेघरमा घाउ हुने, पिल्सने समस्या भएपछि महिलाहरूलाई सुरक्षित प्याडको प्रयोगमा आत्मनिर्भर बनाउन भोजपुर नगरपालिकाले अभियान चलाएको नगरपालिकाले जनाएको छ । घरमै हाते प्याड बनाएर प्रयोगमा ल्याउन थालेपछि स्वास्थ्यको हेरचाह र अनावश्यक खर्च पनि जोगिने तालिम लिएका महिलाहरू बताउँछन् । हाते प्याड बनाउने सीपले आत्मनिर्भरका साथै स्वास्थ्यप्रति सचेत रहन सिकेपछि महिलाहरू उत्साहित बनेको हाते प्याड तालिमका सहजकर्ता यदु सुवालले बताउनुभयो । ‘यो सीपले महिलाहरूको स्वास्थ्य, शिक्षा, वातावरणीय, आर्थिक रुपमा उपयोगी बनाउन सकिन्छ ।’ उहाँले भन्नुभयो ।


1348 पटक हेरिएको 

