बाँसका डस्टबिन अर्थात पूर्ण सरसफाइका पर्याय

विनोद धौलागिरि/झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेको झापा जिल्लामा बाँसबाट बुनिएका ठोस फोहर राख्ने भाँडा (डस्ट बिन) सरसफाइ अभियानका पर्यायजस्तै बनेका छन् । पूर्ण सरसफाइ अभियान थालनी भएपछि आफ्ना टोललाई सरसफाइमा नमूना बनाउनका लागि जुटेका छन्, र यी सबै टोलमा बाँसबाट बुनिएका डस्ट बिनहरु राखिएका छन् ।

“अहिले अभियान सञ्चालन भैरहेका १४ वडाका १८ टोललाई पूर्ण सरसफाइमा नमूना बनाउनका लागि समुदाय क्रियाशील भैरहेको छ”, विराट सामुदायिक अध्ययन केन्द्रबाट पूर्ण सरसफाइ अभियानका कार्यक्रम अधिकृत अर्जुनकुमार पाठकको भनाइ छ, “सबै समुदायमा ठोस फोहर व्यवस्थापन गर्नका लागि बाँसबाट बुनिएका फोहर राख्ने टोकरीहरु बुनेर राखिएका छन् ।”

यस्तै प्रश्न तेर्सियो गौरीगञ्ज गाउँपालिकाका पूर्ण सरसफाइ पालिका संयोजक ज्ञानु राजवंशीलाई । “प्रकाशपुर टोलका बासिन्दाले टोकरी रंगाउँदैगर्दा बटुवाले टोललाई नमूना बनाउन लागेको हो ? भन्ने प्रश्न गरेछन्”, राजवंशी भन्नुहुन्छ, “टोलमा घरदैलो गर्दा पनि घरधनीले पहिले डस्नबिनकै चर्चा गर्नुहुन्छ ।”

टोकरी मात्र होइन, सन्देश पनि

यी टोकरीहरु घरभित्रको नकुहिने ठोस फोहरलाई राख्नका लागि त प्रयोग भैरहेका छन् नै, त्यसभन्दा बढी सडकमा हिड्दा गुट्खाका खोल, चाउचाउ र बिस्कुटका खोल, कागज लगायतका बस्तु जथाभावी फाल्नेहरुलाई सन्देश समेत दिइरहेका छन् । “पहिले सडकमा हिड्दा जथाभावी फोहर फाल्नेहरु पनि अहिले डस्टबिन राखेपछि फोहर सडकमा फाल्न छोडेका छन्”, विर्तामोड नगरपालिका वडा न. ६ मा रहेको बेलगाछी टोल विकास संस्थाका संयोजक अभिचन्द्र पोखरेलको भनाइ छ, “मानिसलाई अनुशासनमा राख्नका लागि यस्ता सुविधाहरु निकै महत्वपूर्ण हुने रहेछन् ।”

त्यसैले पनि, डस्ट बिनहरुलाई घरभित्र भन्दा पनि घर अगाडि सडक छेउमा र घर नै नभएको ठाउँमा पनि बढीमा १ सय मिटरको दूरीमा राखिएको छ । “कुनै पनि फोहर बाहिर फाल्नु हुँदैन, आफ्नो घरमात्र सफा राखेर हुँदैन र समुदाय नै सफा राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि डस्टबिन सहयोगी बनेका छन्”, हर्चना टोल विकास संस्था विर्तामोडका अध्यक्ष जीतलाल राजवंशीको भनाइ छ ।

पूर्ण सरसफाइ नमूना छनौट गरिएका समुदायमा मात्र होइन, सार्वजनिक स्थल, बस स्ट्याण्ड लगायतका क्षेत्रमा समेत डस्ट बिन राख्न थालिएको छ । “केर्खा बजारको बस स्ट्याण्डमा बाँसको डस्ट बिन देखेपछि यात्रु प्रतीक्षालयमा उभिएकाहरुले पनि यही प्रश्न सोधे”, कमल गाउँपालिकाका पूर्ण सरसफाइ सहजकर्ता लीला आचार्य नेपाल सम्झनुहुन्छ, “समुदायबाट समेत पूर्ण सरसफाइयुक्त घर बनाउने कुरा गर्नासाथ बाँसको डस्टबिन बुन्ने मान्छे कहाँ पाइन्छ भन्ने प्रश्न गर्नुहुन्छ ।”

घरायसी तहमा भने बाँसका डस्टबिनका अलावा प्रयोगमा आइसकेका टिन, प्लास्टिकका भाँडा र बजारमा किन्न पाइने प्लास्टिकका डस्टबिनको समेत प्रयोग भैरहेका छन् । “आवश्यकता अनुसार अन्य डस्टबिन समेत प्रयोगमा आइरहेका छन् । सकेसम्म घरमा नै उपलब्ध सामग्री प्रयोग गर्न सके राम्रो हुन्छ”, मधुपोखरी टोल विकास संस्थाका संयोजक तुलसी सुवेदीको भनाइ छ, “घरमा जति नै राम्रो डस्टबिन भए पनि घरअगाडि सडक छेउमा बाँसबाट तयार गरिएको डस्ट बिन भएन भने खल्लोजस्तो लाग्नेरैछ ।”

कम लागत, प्रयोग गर्न सजिलो

यी टोकरीहरु तयार गर्न निकै सजिलो छ र लागत समेत निकै कम । “यो टोकरी तयार गर्न डोको बुन्नजस्तो धेरै मेहनत गर्नु पर्दैन”, पूर्ण सरसफाइ सहजकर्ता मुना उप्रेती भन्नुहुन्छ, “बाँसको डेढ मिटर लामो टुक्राको पनि आधार भागलाई मसिनोगरी चिरेर त्यसमा नै चोयाले बुनेर यो डस्टबिन तयार गर्न सकिन्छ ।” बाँसको चोया बनाउन र सामान्य काम गर्न जान्नेले पनि यो डस्टबिन तयार गर्न सक्ने बताउनुहुन्छ विर्तामोड कोलाटोली टोल समितिका संयोजक गणेश श्रेष्ठ । “मैले घरभित्रको ठोस फोहर राख्न टिनको डस्टबिन व्यवस्था गरेको छु, बाहिरका लागि बाँसको डस्टबिन राखेको छु”, उहाँको भनाइ छ, “हाम्रो टोलमा बाँसको चोयाको सामान्य काम गर्नेहरुले पनि डस्टबिन आफै तयार गर्नुभएको छ ।”

जमिनमा पहिले एउटा बलियो काठको एक फिट लामो लठ्ठी गाडेर त्यसमाथि यस डस्टबिनलाई राख्न सकिन्छ । “बाँसको आँख्ला हटाएर काटेपछि प्वाल भएको भागलाई जमिनमा ठोकेको लठ्ठीमा अड्याउन सकिन्छ”, कमल गाउँपालिकामा रहेको खानेपानी आदित्य टोल विकास संस्थाका अध्यक्ष रविन्द्र चापागाईले भन्नुभयो, “टोकरीमा फोहर भरिएपछि त्यसलाई सिधा उठाइएर बेरा, ट्याक्टर वा अन्य कुनै पनि भाँडोमा सिधै फोहर खन्याउन सकिन्छ ।” टोकरीमा जम्मा भएको फोहर हातले निकालेर भाँडोमा खन्याउनु नपर्ने भएकोले पनि प्रयोग गर्न सजिलो भएको उहाँको भनाइ छ ।

समुदायका धेरैजसो घरधुरीले आफैले वा छिमेकीको सहयोगमा डस्टबिन तयार गरेको बताउनुहुन्छ पूर्ण सरसफाइ अभियान विर्तामोडका पालिका संयोजक कृष्णप्रसाद सिटौला । “घरमा बाँस नहुनेले दुई सय रुपैयाँको बाँस किनेपछि धोएको भाँडा सुकाउने मचान र डस्टबिन तयार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “निपूर्ण मिस्त्री खोजिरहनुपर्ने झञ्झट पनि हुँदैन ।”

त्यसो त, झापा जिल्लामा पूर्ण सरसफाइ अभियान थालनी भएका वडाहरुमा टोल विकास संस्थाहरुको संयोजनमा यी डस्टबिनहरु तयार भैरहेका छन् । “धेरैजसो टोलमा टोल विकास संस्थाले नै डस्टबिन तयार गरेर सडक छेउमा राख्ने गर्नुभएको छ”, पूर्ण सरसफाइ कार्यक्रम संयोजक सोम आचार्यको भनाइ छ, “टोल समितिले तयार नगरेका स्थानमा घरधुरीहरुले समन्वय गरी डस्तबिन तयार गर्नुभएको छ ।”

इनामेलले बनाउँछ टिकाउ र आकर्षक

अधिकांश डस्टबिनहरुमा विभिन्न रंगका इनामेल लगाइएको छ । इनामेलले आकर्षक देखाउनुका साथै डस्टबिनहरु टिकाउ समेत हुने भएकोले समुदाय मिलेर बजारबाट इनामेल किन्ने र सबैको डस्टबिनमा लगाउने गरिएको बताउनुहुन्छ कमल गाउँपालिकामा रहेको क्याम्पा टोल सरसफाइ समितिका संयोजक लीला खतिवडा । “टाढैबाट प्रष्ट देखिने र घाम पानीबाट टोकरीलाई जोगाउनका लागि समेत इनामेलले सहयोग पुग्छ”, खतिवडाको भनाइ छ, “अहिले त रंगीन टोकरी ब्राण्ड नै बनिसक्यो ।”

रातो, निलो, हरियो र पहेंलो रंगलाई मिलाएर लगाएको पाइन्छ । केही टोल विकास संस्थाले सबै डस्ट बिनमा एकै किसिमको रंग लगाएर पहिचान झल्काउने प्रयास गरेका छन् भने कुनै टोलमा घरधुरीको छनौट । “हाम्रो टोलमा घरधुरीको इच्छाअनुसारको रंग लगाउन पाइन्छ, वाध्यकारी छैन”, शिवालयडाँडा टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र सापकोटाले भन्नुभयो, “टाढैबाट देखिने र उज्यालो किसिमको रंग भयो भने आकर्षक हुन्छ ।”

बर्दियाको सिकाइ, झापाको ब्राण्ड

झापाभन्दा अगाडि पूर्ण सरसफाइ अभियान अन्तर्गत बर्दिया जिल्लामा यस्तै किसिमका डस्टबिन तयार गरिएका थिए । इलामका केही पर्यटकीय स्थलमा समेत यस्तै डस्टबिन राख्ने गरिएको थियो । तर, झापा जिल्लाले भने बाँसबाट बनेको डस्टबिनलाई आफ्नो ब्राण्ड बनाइसकेको भन्न रुचाउनुहुन्छ पूर्ण सरसफाइ अभियानमा सहयोग गरिरहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक सोमनाथ आचार्य । “हामीले पनि बर्दियामा यस्तै किसिमका डस्टबिन तयार भएको फोटोमा देखेका थियौं, त्यसैको सिको गर्दै खुल्ला दिसामुक्त अभियानका क्रममा नै केही स्थानमा यस्तै किसिमका डस्टबिन तयार गरिएको थियो”, आचार्यको भनाइ छ, “अहिले यसलाई परिस्कृत गर्दै सजिलो, टिकाउ र आकर्षक डिजाइनमा तयार गर्न थालिएको छ ।”

झापा जिल्लामा पूर्ण सरसफाइ अभियान थालनी भएपछि अन्य स्थानबाट अध्ययन र अवलोकन भ्रमण गर्न आउने क्रम बढेको छ । “पोखरा विश्वविद्यालयमा ग्रामीण विकासमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी र शिक्षकहरु समेत झापा जिल्लामा पूर्ण सरसफाइ अभियानको अध्ययनका क्रममा आइपुग्नुभएको छ”, कार्यक्रम संयोजक आचार्य भन्नुहुन्छ, “उहाँहरुले समेत डस्टबिनलाई निकै मनपराउनुभएको छ ।”

बाहिरबाट झापाका सरसफाइ नमूना गाउँमा आउनेहरुले रंगीन डस्टबिनको छेवैमा उभिएर एउटा फोटो खिच्न छुटाउँदैनन् । “झापा जिल्ला पूर्ण सरसफाइ अभियानको पर्याय भनेको एउटा उदाहरण यो पनि हो”, उहाँको निस्कर्ष छ, “आयातित सीप भए पनि सरसफाइ तथा स्वच्छता प्रवद्र्धन अभियानमा बाँसको डस्टबिन झापा जिल्लामा ब्राण्डको रुपमा स्थापित हुन सफल भयो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार