सरकारको नीति तथा कार्यक्रममा खानेपानी र सरसफाइ क्षेत्र


काठमाडौ : सरकारले आगामी आर्थिक बर्षमा स्वच्छ नेपाल अभियान सञ्चालन गर्ने, मुख्य-मुख्य सहरहरु र सहर उन्मुख क्षेत्रहरुमा ढल निर्माण र फोहोर प्रशोधन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्चीको सम्पूर्ण काम आगामी आर्थिक बर्षभित्रै सम्पन्न गर्ने, आगामी आव भित्र ९४ प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी सेवा उपलब्ध गराउने लगायत घोषणा गर्नुभयो ।

हेरौं, नीति तथा कार्यक्रममा समेटिएका खानेपानी र सरसफाइ क्षेत्रका मुख्य बिषयहरु :

– सरकारले स्वच्छ नेपाल अभियान सञ्चालन गर्नेछ । प्रदेश र स्थानीय तहकमो सहभागितामा काठमाडौ उपत्यका, महानगरहरु र प्रदेश राजधानीहरुलाई हरित सहरमा रुपान्तरण गर्न सहरी वृक्षारोपणलाई व्यापक बनाईनेछ । फोहोरमैला प्रशोधनमा आधुनिक प्रविधि प्रयोग गरिनेछ । राजमार्गको निश्चित दूरीमा खानेपानी, शौचालय र अन्य सुविधा सहितको सेवा केन्द्र सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।

– कुल ९१ प्रतिशत नेपालीलाई आधारभूतस्तरको खानेपानी सुविधा पुर्‍याईएको छ । आकस्मिक र विपदका अवस्थामा तथा ग्रामीण वस्तीहरुमा खानेपानी सेवा पुर्‍याउन सातै प्रदेशमा वाटर एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ, यो सेवालाई थप विस्तार गरिनेछ ।

– आगामी आर्थिक बर्षमा ९४ प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा उपलब्ध गराइनेछ । आगामी तीन बर्षभित्र संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा सबै घरमा खानेपानी सुविधा पुर्‍याईनेछ ।

– मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौमा पानी ल्याउने गरी कार्यान्वयनलाई तीब्रता दिइएको छ । आगामी आर्थिक बर्षभित्र यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिनेछ । याङ्ग्री र लार्के खोलाबाट थप पानी उपलब्ध हुने गरी आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गरिनेछ ।

– शुद्ध खानेपानीको आपूर्तिलाई दिगो बनाउन महाकाली, कर्णाली, बबई र कोसी लगायतका नदीमा आधारित थोक वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गरिनेछ ।

– तराई मधेश क्षेत्रका २० जिल्लामा ४ सय ११ किलोमिटर ढल निर्माण भएको छ । सरसफाइका लागि चेतनामूलक कार्यक्रमका साथै विशेष कार्यक्रमहरु सञ्चालन गरिएका छन् । स्थानीय तह र प्रदेश सरकारको सहभागितामा सरसफाइ सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरिनेछ । मुख्य मुख्य सहरहरु र सहर उन्मुख क्षेत्रहरुमा ढल निर्माण र फोहोर प्रशोधन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।

– सरकारले गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ सेवामा सबै नेपालीको समतामूलक पहुँच सुनिश्चित हुने गरी कार्यक्रम गर्नेछ ।

– पानीको मुख्य स्रोतको रुपमा रहेको हिमालय संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । हिमताल र हिमनदीको संरक्षण गरी जलउत्पन्न प्रकोप नियन्त्रण र नदी प्रणाली लगायत जलस्रोतको संरक्षण गरिनेछ । हिमालको सरसफाइ कार्यलाई निरन्तरता दिईनेछ ।

– सहरी क्षेत्रमा करेसाबारी, कोसी र गमला खेती प्रबर्द्वन गरिनेछ । निजी बाँझो जग्गा, खेतबारीका कान्ला र आलीमा समेत दलहन, तरकारी, फलफूल र अन्य बिरुवा लगाउन आम कृषकलाई अभिप्रेरित गरिनेछ ।

– युवाको क्षेमता अभिवृद्धिका लागि सबै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गरिनेछ । स्वास्थ्य सचेतना, सरसफाइ, विपद व्यवस्थापन तथा वातावरण संरक्षण र सामाजिक कुरीति, अन्धविश्वासविरुद्धको सामाजिक जागरण कार्यमा स्काउट र युवा स्वयंसेवक परिचालन गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार