♦विनोद शर्मा
दिगो विकास लक्ष्य (एसडीजी) को उद्देश्य सन् २०३० सम्ममा विश्वबाट गरिबीको अन्त्य गर्नु हो । सहस्राब्दी विकास लक्ष्य (एमडीजी) को उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुरालाई सन् २०१६ देखि २०३० सम्ममा पूरा गर्न दिगो विकास लक्ष्य अघि सारिएको हो । यसमा १७ विकास लक्ष्यहरू र एक सय ६९ सहायक लक्ष्यहरु छन् । सबैका लागि मानवअधिकार प्राप्त गर्ने र सबै महिला तथा बालिकाका लागि लैङ्गिक समानता तथा सशक्तीकरण हासिल गर्नु तिनको उद्देश्य रहेको छ ।
दिगो विकास लक्ष्यमा महिनावारी केन्द्रित विशिष्ट लक्ष्य तथा सूचकहरु छैनन् । तर महिनावारी सम्बन्धीका सन्दर्भहरुलाई विभिन्न ६ वटा लक्ष्यमा समेटिएका छन् ।
दिगो विकास लक्ष्यले समेटेका कुराहरुः

लक्ष्य नम्बर ३ आरोग्यता तथा कल्याण अन्तर्गत परिवार नियोजन लगायत यौन तथा प्रजनन् सम्बन्धी स्वास्थ्यसेवा र सूचना तथा शिक्षामा सर्वसुलभ पहुँचका साथै तथा प्रजनन् स्वास्थ्यलाई राष्ट्रिय रणनीति तथा कार्यक्रममा समायोजन गर्ने कार्यलाई सुनिश्चित गर्ने कुरा उल्लेख गरिएको छ ।
लक्ष्य नम्बर ४ गुणस्तरीय शिक्षा अन्तर्गत शिक्षामा लैङ्गिक असमानताको उन्मूलन गर्ने र अपाङ्गता भएका व्यक्ति लगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुँच सुनिश्चित गर्ने कुरा पनि महिनावारीसँग सम्बन्धित छ ।
लक्ष्य नम्बर ५ लैङ्गिक समानता अन्तर्गत सबै तहमा लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरणको प्रवद्र्धनका लागि नीति तथा कानुनहरूको अवलम्बन गर्ने र तिनलाई सबल बनाउने कुरा समावेश छ । लक्ष्य नम्बर ६ सफा पानी तथा सरसफाइ अन्तर्गत सबैका लागि पर्याप्त तथा समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच हासिल गर्ने र खुला ठाउँमा दिसा गर्ने चलनको अन्त्य गर्ने कुरा उल्लेख छ ।
लक्ष नम्बर ८ मर्यादित काम तथा आर्थिक वृद्धि अन्तर्गत सबै महिला र पुरुषका लागि पूर्ण एवं उत्पादनशील रोजगारी तथा मर्यादित कामका साथै समान कामका लागि समान ज्याला हासिल गर्ने कुरा पनि महिनावारीसँग सम्बन्धित छ ।
लक्ष्य नम्बर १२ जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन अन्तर्गत दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्नेे कुरा उल्लेख छ । स्रोेतमै फोहोरको कम उत्पादन, न्यूनीकरण, पुनर्उत्पादन (रिसाइकल) र पुनःप्रयोग मार्फत् फोहोर उत्पादनमा उल्लेख्य मात्रामा कमी ल्याउने कुराले पनि महिनावारीसँग सम्बन्ध राख्छ ।
वर्तमान अवस्था र अबको बाटोः
यदि महिला तथा किशोरीले सर्वसुलभ तथा स्वस्थकर महिनावारी सामग्रीहरु नपाएको खण्डमा उनीहरुले पुराना तथा अस्वस्थ कपडा लगायतका सामाग्री प्रयोग गर्दा उनीहरुलाई प्रजनन्सँग सम्बन्धित र अन्य स्वास्थ्य समस्याहरु देखिन्छन् । यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाका कार्यक्रममा महिनावारी स्वच्छता व्यवस्थापनका कुराहरु पनि एकीकृत गर्दै लैजानु पर्छ ।
विकासशील मुलुकका किशोरीहरुले महिनावारी भएका बेला प्रत्येक महिना ५ दिनुसम्म विद्यालयमा गयल हुने गरेका छन् । नेपालमा गरिएको सर्भेक्षणले पनि ४१ प्रतिशत किशोरी महिनावारीका बेला कम्तिमा एक दिन विद्यालयमा गयल हुने गरेको देखाएको छ । महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धीको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गराएरै अध्ययन अध्यापन गराउनुपर्छ । शिक्षकहरुलाई महिनावारी स्वच्छता व्यवस्थापनको विषयमा निर्धक्कसँग पढाउन सक्ने गरी क्षमता विकास गर्नुपर्छ ।
महिनावारीका बेला पुरुषहरुलाई छुन नहुने, बार्नु पर्ने लगायतका अन्धविश्वास, भ्रम र गलत बुझाई समुदायमा कायम छ । महिला तथा किशोरीले महिनावारीलाई सुरक्षित, स्वस्थकर र मर्यादित रुपमा व्यवस्थित गर्नका लागि पुरुषहरुले पनि सहयोग गर्नुपर्छ । महिनावारीसँग सम्बन्धित सकारात्मक सामाजिक मुल्य मान्यताको प्रवद्र्धन गर्नुपर्छ ।
९१ प्रतिशत नेपाली नागरिकमात्रै आधारभूत स्तरको खानेपानी सुविधाको पहुँचमा रहेको सरकारी तथ्याङ्क छ । ९ प्रतिशतलाई आधारभूत स्तरको खानेपानी सुविधाको पहुँचमा पुर्याउन अझै धेरै समय लाग्नेछ । सुधारिएको खानेपानी सुविधामा सबैको पहुँच पुग्ने कुरा अझै टाढाको विषय हो । महिला र किशोरी सुरक्षित, सामाजिक एवं साँस्कृतिक रुपमा स्वीकारयोग्य खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सेवाहरुको पहुँचमा रहेको सुनिश्चित हुनुपर्छ । यसका साथै महिनावारी भएका बेला उनीहरुले प्रयोग गर्ने सामग्रीहरुको उपलब्धता र सुरक्षित विसर्जनको व्यबस्था पनि हुनुपर्छ ।
कार्यस्थलमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी सुविधा नभएका कारण बंगलादेशका महिला तथा किशोरीले महिनावारी रोक्न वा सार्नका लागि गर्भनिरोधक औषधि समेत प्रयोग गर्ने गरेको पाइएको छ । महिलाहरुका लागि कार्यस्थलमा पर्याप्त सरसफाइको सुविधा उपलब्ध गराउनुपर्छ । जस्तैः छुट्टै शौचालय, पर्याप्त पानी, साबुन, सेनिटरी प्याड, प्याड विसर्जनको सुविधा, सम्भव भएसम्म आराम कक्ष आदि । महिनावारीका कारण महिलाको कार्यक्षमतामा ह्रास आउँदैन भन्ने सबैले बुझ्नु जरुरी छ ।
इथियोपियामा गरिएको सर्भेक्षणले २५ प्रतिशत महिला तथा किशोरी (गाउँ तथा शहरी क्षेत्रका) ले महिनावारी सम्बन्धी व्यावसायिक उत्पादनहरु प्रयोग नगरेको पाइएको छ । सरकारले लगाउने करका कारण बजारमा पाइने सामग्रीको मुल्य अत्याधिक हुने र गरीब समुदायका महिला तथा किशोरीसँग खरिद गर्ने क्षमता हुँदैन । कम शुल्कमा बनाउन सकिने दिगो र वातावरणमैत्री महिनावारी सम्बन्धी सामाग्री उत्पादन तथा प्रयोगका लागि प्रोत्साहन र क्षमता विकास गर्नुपर्छ । महिनावारीका बेला प्रयोग गर्ने सामग्रीलाई विलासिताका बस्तुका रुपमा नहेरी अति आवश्यक बस्तुका रुपमा राखेर सरकारले न्यूनतम कर वा कर छुट दिनुपर्छ ।
महिनावारी स्वच्छता व्यवस्थापनका लागि नभई नहुने कुराहरु :
क) विद्यालय स्तरबाटै बालबालिकालाई महिनावारी शिक्षा प्रदान गर्नुपर्छ । विद्यालयका पाठ्यक्रममा राखिएका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषयसँगै महिनावारीलाई समावेश गरी अध्यापन गराउनुपर्छ । बालबालिकालाई पुन प्रयोग गर्न मिल्ने सेनिटरी प्याड निर्माणको सीप सिकाउनुपर्छ ।
ख) हरेक कार्यालय, उद्योग धन्दा, कारखाना, सार्वजनिक स्थल तथा विद्यालयमा महिनावारीमैत्री संरचना हुनुपर्छ । जस्तैः महिलाका लागि छुट्टै शौचालय, पर्याप्त पानीको व्यबस्था, हात धुने ठाउँ, साबुन, प्याड संकलन गर्ने डस्टविन वा प्याड जलाउने चुलो, प्याडको सहि विसर्जनको व्यबस्था ।
ग) कार्यालय तथा विद्यालयहरुमा अनिवार्य रुपमा सेनिटरी प्याड, प्याड संकलन गर्ने डस्टविन, प्याडको भण्डारण तथा वितरणको व्यबस्था लगायतको महिनावारी सम्बन्धी सामाग्रीहरु हुनुपर्छ ।
घ) प्याडको उचित प्रयोग र विसर्जनका बारेमा महिला तथा पुरुषहरुलाई ज्ञान दिनुपर्छ ।
ङ) शिक्षकहरुलाई महिनावारीको विषयमा निर्धक्कसँग पढाउन सक्ने बनाउन क्षमता विकास तालिमहरु सञ्चालन गर्नुपर्छ । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्छ ।
च) कम्तिमा माध्यमिक विद्यालयहरुमा एक विद्यालय एक नर्सको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्छ । तीनै नर्सलाई महिनावारी सम्बन्धी फोकल शिक्षक तोकिनु पर्छ ।


2293 पटक हेरिएको 

