
लिला सिमखडा : आधा आकाश भन्दा बढी जनसंख्या ओगटेका महिला आज २१ औँ शताब्दी सम्म रुडीबादी, कुरीती र कुसंस्कारको जगेना गरेको अबस्था छ । जुन आज हरेक महिला सर्पको डसाइ, गुम्सीएर र बलात्कृत भएर ज्यान गुमाएका छन् । समाज अनुसार महिनावारीलाई फरक फरक तरिकाले महिनावारी बार्ने चलन भएता पनि विशेष गरि सुदुर पश्चिम र मध्यपश्चिममा छाउपडी प्रथालाई प्राथमिकता दिएको पाइन्छ । महिनावारी भएको समयमा घर भन्दा टाढा असुरक्षित गोठमा बस्नु, केहि ठाउँमा घरसंगै जोडिएको भए पनि सानो साँघुरो गुम्म परेको गोठमा बस्नु,गाई भैसीको नजिक नजानु,कसैलाई नछुनु, मठ मन्दिर नजानु, परिवार भन्दा फरक अथवा सुख्खा खाना खानु आदि महिलाको महिनावारी सुरुवाती देखि रजनाबृत्ति सम्म हरेक महिनाको ५ दिनका क्रियाकलाप हुन । यदि यी क्रियाकलाप नगर्ने हो भने अछल हुने देवि देवता रिसाउने,आफै अशक्त हुने आदि भ्रम हरेक महिलाको दिमाखमा त्यहाका धामीझाक्री र बुढापाकाले भरिदिइको पाइन्छ ।
महिनावारीको इतिहास हेर्ने हो भने हिन्दु संस्कारमा रामायण,महाभारत, गीता आदिका महिला जस्तै सिता,द्रोपती पनि त महिनावारी भए होलान तर तिनीहरु गोठमा बसेको, सुख्खा खाना खाए भनि लेखिएको कतै छैन भने पुराना बुढा पाका महिलालाई सोध्ने हो भने परिवारले जे भने त्यहि गर्यौँ, ओडारमा बस्यौँ, एक सरो धोतीले बसौँ कटायौँ, छुइ भएको समयमा जता हिड्यो रगतले बाटो चिनिन्थ्यो, दैनिक सरसफाई गर्ने समय पाइदैन थियो,जिउ गन्धआउने गर्थो महिनावारीलाई पाप हो भन्थे घर छुदा अछल हुने देवि देवता रिसाउछन् भन्थे त्यहि भएर हो कि छुट्टै टाढा गोठमा बसालेका आदि जवाफ दिने गरेको पाइन्छ । बुढापाका महिलाले भनेको कुराका अनुसार जुन समयमा महिलाहरुलाई महिनावारीका बारेमा ज्ञान थिएन, लगाउने प्रयाप्त मात्रामा लुगा नभए पनि छुट्टै टाढा बस्ने संस्कार बनाइ दिए र त्यहि पुरानो रुडीबादी संस्कारको संरक्षणले गर्दा आजका महिला सर्पको डसाई, गोठमा गुम्सीएर मरेको घटना घटदा पनि परिवार र समाजले छोरी बुहारी गुमाएकोमा चिन्तीत छैन तर यो छाउपडी प्रथालाई जगेना गर्न समाज अन्धविश्वासको पछि लागि रहेको छ ।
आफ्नो समाज परिवर्तन गर्न आफैबाट सुरुवात गर्नु पर्छ भन्ने मेरो धेय हो त्यहि उद्देश्ले आफ्नै समाजका महिला, धामीझाग्री, बुढापाका संग सकारात्मक रुपमा छाउपडीका बारेमा छलफल गर्न सहज तरिकाले बुझाउन गाहो थियो र चाँडो परिवर्तनको सम्भावना थिएन छाउपडी प्रथालाई परिवर्तन गर्नको लागि हरेक महिलाले सकारात्मक सोचको बिकासका खाँचो छ । महिनावारी सम्बन्धी ज्ञानको कमि र ज्ञान लिए पनि ब्यबहारिक रुपमा परिबर्तन ल्याउन नसक्नु,महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड नहुनु, र महिनावारीको बारेमा परिवारमा छलफल नहुनु, महिनावारी पाप हो भन्नु, देवि देबतालाई दोस दिनु आदि कुराले गर्दा आज महिलाले यो समस्या झेल्दै आएका छन् ।
हरेक महिलामा हुने महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने बुझिन्छ । जब बालिका किशोर अबस्थामा प्रबेश गर्छ महिनावारी सुरु भइ आमा बन्न सक्षम भएको मानिन्छ । महिनावारी हुनु भन्दा पहिला राम्रो ज्ञान लिन जरुरी छ । त्यसैले परिवर्तन गर्नु छ भने आफैबाट सुरुवात गर्नु पर्छ । यो मेरो अनुभब हो । यो अनुभब अबका किशोरी तथा महिलाले भोग्नु नपरोस भन्ने हेतुले छाउपडी प्रथालाई कसरी कमगर्ने र आफ्नो समाजका महिलाहरुलाई महिनावारी सम्बन्धी ज्ञान दिने, यो प्रथाको न्युनिकरणको अभियान्ता भएर काम गर्ने ठुलो इच्छा थियो । ‘जहाँ इच्छा त्यहाँ उपाए’ भने झै काम गर्ने शिलशिलामा आज म यसै संग सम्बन्धी किशोरीहरुका दिन नेपाल (Days For Girls Nepal) संस्थामा जोडिन पुगे ।
यो संस्थाको लक्ष्य नेपालका हरेक महिला तथा किशोरीहरुमा महिनावारी स्वास्थ्य शिक्षा तालिम सहित धोएर पुन प्रयोग गर्न मिल्ने प्याड वितरण गर्नु हो । आज समाजका महिला दिदी बहिनीहरु संग महिनावारी सम्बन्धी तालिम र धोएर पुन प्रयोग गर्ने प्याड लगभग १५ हजार महिलाहरुलाई भेटेर महिनावारीका बारेमा ज्ञान दिने अबसर पाएँ । तालिम पछि हरेक महिला तथा किशोरीहरुलाई समय समयमा परिवर्तनको बारेमा छलफलमा पहिलाको भन्दा दिना नु दिन उनीहरुको व्यावहारमा परिवर्तन आएको र आफ्ना समस्यालाई खुलेर भन्न सक्ने भएकोले । यो कार्यक्रम कालिकोट जिल्लामा प्रभावकारी रुपमा चलिरहेको छ र हरेक किशोरीहरु नियमित विद्यालय जाने गरेको हरेक महिलाहरुलाई बसाईमा साघुरो गोठलाई फराकिलो बनाई सुरक्षित ठाउँमा बस्नुको साथै दैनिकीमा परिवर्तन आएको छ ।
यस्ता खालका तालिमबाट के सिकिन्छ भने महिला तथा किशोरीहरुलाई हरेक समयमा महिनावारीका विषयमा छलफल गर्ने गर्दा परिवर्तन हुने रहेछ भन्ने बुझिन्छ । हरेक आमाले के बुझ्न जरुरी छ भने आफुले पाएको दुख छोरीले भोग्न नपरोस र भनि छोरीलाई साथ दिने हो भने र सबैको दिमाखमा महिनावारी एक चक्र हो यो हरेक महिनामा हुने गर्छ र महिनावारीका कारण महिला स्वस्थकर आमा बन्न सक्छ भन्ने कुरा दिमाखमा रहनु पर्छ । महिनावारीलाई पाप नभएर महिलाले पाएको बरदान हो । महिनावारी महिलाको सुन्दर गहना हो । हरेक महिलाहरुले महिनावारलाई माया गर्न सिक्नु पर्छ । महिलामा यस्तो खालको चेतना भयो भने अबस्य परिवर्तन हुन्छ र परिवर्तन हुन जरुरी छ ।
विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा किशोरीहरुका दिन (डेज फर गर्ल्स) नेपाल ले आयोजना गरेको निबन्ध प्रतियोगितामा सामेल निबन्ध ।
लेखक किशोरीहरुका दिन नेपालका फिल्ड अफिसर हुनुहुन्छ ।


2798 पटक हेरिएको 

