सराङकोटका दिदीबहिनीको थाप्लोबाट नाम्लो हट्यो

🔗
17
Shares

कास्की : पोखरा महानगरपालिका–१८ सराङकोटमा एक घर एक धारा जडान गरिएको छ । ठूलो बूढीमुल लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि सराङकोटको ३ सय ६६ घरधुरीमा धारा जडान गरिएको हो । पानीको स्रोत रहेको बूढीमुलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर एक हजार ७०० मिटर उचाइको सराङकोट चुचुरोमा ‘रिजर्भ्वायर ट्याङ्की’ र वितरण ‘च्याम्बर’ मार्फत सबैको घरमा खानेपानी वितरण गरिएकोछ । आयोजना सम्पन्न भएपछि सौदाको चौतारा, पँदेलीटोल, सुन्दरपोखरी टोल, देउराली पाटन, सीमताल र सराङकोट टोलका स्थानीयवासी लाभान्वित भएको र गोठादीका केही घरधुरीमा समेत धारा पुगेको खानेपानी आयोजनाका अध्यक्ष पुष्कलबहादुर थापाले बताउनुभयो ।

सूर्योदय, सूर्यास्त तथा हिमशृङ्खला र तालतलैयाको दृश्यावलोकन र प्याराग्लाइडिङको प्रमुख गन्तव्यमा विकास भए पनि खानेपानीको अभाव हुँदा पर्यटकलाई समेत असुविधा भएको अवस्थामा घरघरमा धारा जडान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

खानेपानीको अभाव हटाउन २०७३ देखि आयोजनाको केही काम शुरु भएकामा बजेट अभावले आशातित गति लिन सकेको थिएन । गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि २०७५ मङ्सिर १ गतेबाट आयोजना निर्माणले तीव्रता लिएको अध्यक्ष थापाले बताउनुभयो । “आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीय हर्षित भएका छन्, एक गाग्रीको पानीका लागि घण्टौँ खर्चिनुपर्ने बाध्यता हटेको र सबै घरधुरीमा पर्याप्त पानी आपूर्ति शुरु भएको छ”, आयोजनाका अध्यक्ष थापाले भन्नुभयो ।

चारवटा लिफ्टिङ मेसिनको प्रयोगबाट मुहान नजिक ५० हजार लिटर क्षमताको रिजर्भ्वायर ट्याङ्की निर्माण गरिएको छ । त्यसैगरी चुचुरोमा ५० हजार लिटर क्षमता तीन वटा रिजर्भ्वायर ट्याङ्की र एउटा वितरण ट्याङ्की तथा ३० हजार लिटर क्षमताका २ वटा वितरण ट्याङ्की निर्माण गरिएको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताउनुभयो ।

बूढीमुल खानेपानी योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ९९ लाख ७० हजार रुपैयाँ तथा चालू आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसैगरी पोखरा महानगरपालिकाले समेत गत वर्ष १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आयोजनाले हरेक घरपरिवारबाट १० हजार रुपैयाँ रकम लिएर धारा जडान गरेको र अति विपन्न ११ घरधुरी र विद्यालय लगायत सङ्घसंस्था गरी १८ वटालाई निःशुल्क धारा जडान गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनको बेला जनता माझ गरेको प्रतिबद्धता पूरा भएको सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो । प्रदेश सरकार स्थापनाको पहिलो वर्षमा प्रदेशसभा सदस्य रामजी बराल मार्फत तीन खानेपानी योजना सरकार समक्ष पेश गरिएकामा सबै योजनामा बजेट विनियोजन गरिएको बताउँदै उहाँले भन्नुभयो “चुनावताका यहाँका दिदीबहिनीको थाप्लोबाट नाम्लो हटाउनेछु भनेर प्रतिबद्धता गरेको थिएँ, त्यो पूरा हुने चरणमा छ । प्रदेश सरकारले हामीलाई ठूलो गुण लगायो ।”

अन्य केही खानेपानी आयोजना समेत निर्माणको चरणमा रहेकाले वडाका सबै घरधुरीमा अहिलेको पाँचवर्षे कार्यकालमा पानीको राम्रो प्रबन्ध हुने उहाँले उल्लेख गर्नुभयो । प्रदेश सरकार गठनपछि यहाँका जनताले खानेपानी र सडकमा लाभ लिँदै आएको उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार