आज विश्व साइकल दिवस : नेपालमा पनि मनाईदै

काठमाडौ : आज जुन ३, विश्व साइकल दिवस । पोलिस नागरिक प्रोफेसर लेस्जेक सिविल्स्कीको सक्रियतामा तुर्किमिनिस्तानको अगुवाईमा १९३ देशले हस्ताक्षर गरे पछि संयुक्त राष्ट्रसंघले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको हो । राष्ट्र संघले सन् २०१८, जुन ३ बाट यसको सुरुआत गरेको थियो।

सफा, स्वच्छ, वातावरणमैत्री, भरपर्दो, सरल, किफायती, स्वस्थ र चुस्त रहन मद्दत गर्ने सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व साइकल दिवसको मनाउन थालिएको हो।

नेपालमा पनि साइकल सम्बन्धी सरोकार प्रशस्तै फैलिएको छ। मुलतः गरिवको सवारी साधनका रुपमा लिइए पनि अहिले साइकल सौखिनको संख्या बढ्दै गएको छ । २०६८ सालको जनगणना अनुसार नेपालको ३२.३८% घरमा साइकल रहेको छ भने १.५७% घरमा मात्र गाडीको उपलब्धता छ । सन् १९९१ मा सडक विभाग र जापानी सहयोग नियोग जाइकाले गरेको एक अध्ययन अनुसार त्यतिबेला काठमाडौं उपत्यकामा चल्ने कुल सवारीमध्ये ६ प्रतिशत साइकल थिए।

सन् २०११ मा सडक विभाग र जाइकाले नै अर्को अध्ययन गर्दा उपत्यकाका कुल सवारीमध्ये १ दशमलव ५ प्रतिशत मात्रै साइकल रहेको पाईएको छ । अहिले साइकल यात्रीको संख्या त्यो भन्दा घटेको अनुमान छ। नेपालमा शहरी क्षेत्रमा साइकल लेन हुनुपर्ने, साइकल मैत्री पूर्वाधारमा लगानी गर्नुपर्ने, महानगर लगायतका संस्थाले नीतिगत रुपमै साइकल र ह्विलचेयर मैत्री नीति निर्धारण गर्नुपर्ने, काठमाडौमा साइकल सञ्जालको लागि गुरुयोजना तयार पार्नुपर्ने लगायत आवाज उठाईदै आएको छ ।

साइकलको प्रयोग वातावरणीय र व्यक्तिगत स्वास्थ्यको दृष्टिकोणले लाभदायक मानिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार