काठमाडौ : आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ जुनदेखि १६ जुन सम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनी मनाउन थालिएको हो ।
आजैदेखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको छ । ‘कोभिड – १९ महामारी बाट बच्न साबुन पानीले धुने गरौं हात, पूर्ण सरसफाइमा उचित ध्यान दिदै मास्कको नछोडौं’ साथ भन्ने नाराका २१ औं सरसफाइ सप्ताह सुरु भएको हो । सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताह मनाउन थालिएको हो । राष्ट्रिय सरसफाइ सप्ताहले नेपालको सरसफाइ प्रबर्द्वन र जनस्वास्थ्य सुधारमा उल्लेख्य भूमिका खेलेको छ ।
राष्ट्रिय सरसफाइ समन्वय समितिले राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवस मनाउन प्रदेश, जिल्ला, नगरपालिका तथा गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई सबैलाई परिपत्र गरेको छ ।
समन्वय समितिले सम्बन्धित तहका सरकार एवं सरोकारवालाहरुसँग समन्वय गरी सरकारले कोभिड १९ महामारी विरुद्ध चालेका नियमहरु पालना गर्दै साबुनपानीले हात धुने अभ्यास लगायत सरसफाइ सम्बन्धी अन्य क्रियाकलाप गर्नु, गराउनु र प्रचारप्रसार गर्न गराउन आग्रह गरेको छ ।