सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकाले पानीको समस्या भएका क्षेत्रमा लिफ्ट मार्फत पानी वितरण गर्ने भएको छ । सुनकोसी गाउँपालिकाको नवपलपुर भन्ने स्थानबाट झण्डै ३५० मिटरमाथि पानी लिफ्ट गरिएको हो ।
गाउँपालिकाको आर्थिक वर्ष ०७५/७६ मा ५० लाख र आव ०७६/७७ मा १० लाख रुपैयाँ लागतमा सो आयोजना सम्पन्न भएको हो । सो रकमबाट नवलपुरमा इनार निर्माण, त्यसको सुरक्षा, मोटर, पाइप र विद्युत् ट्रान्सफर्मर खरिद गरिएको जनाइएको छ ।
५० हजार घनमिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना छ । प्रतिसेकेन्ट चार लिटर पानी फाल्ने क्षमताको मोटर जडान गरिएको छ । तल्लो ट्यांकीबाट समेत पानी वितरण गर्ने योजना रहेको बताइएको छ ।
गत वर्ष नै सुरु गरिएको आयोजना बजेट र विद्युत्को सुविधाको अभावमा यसवर्ष मात्रै सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । “अघिल्लो वर्ष नै पानी झार्ने लक्ष्य थियो, तर समय र बजेटको अभावमा यो वर्षमात्रै सफल भयो,” उनले भनिन्, “पानीको चरम अभाव रहेको यो क्षेत्रका नागरिकले राहत पाउने भएका छन् ।” ग्रामीण भेगमा भर्खरै राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेकाले यो सम्भव भएको हो, उनले भनिन् । उनका अनुसार सो आयोजनाको परीक्षण सकिएको छ । परीक्षण सफल भएसँगै गाउँपालिकाको चण्डीभञ्ज्याङ, बबला, गैरी र डडुवाका करिब एक सय घर परिवार लाभान्वित हुने भएका छन् । बर्षौदेखि खानेपानीको हाहाकार रहेको यहाँ घर–घरमै पानी आउने भएपछि नागरिकहरू खुसी भएका छन् । अब छिटै मिटरको व्यवस्था गरी खानेपानी वितरण गरिने भएको छ । त्यसको व्यवस्थापनको जिम्मा भने उपभोक्ता समितिलाई नै दिइएको उपाध्यक्ष सुनुवारले बताइन् ।
यहाँका अधिकांश परिवार खेती किसानीमा संलग्न भए पनि पानी अभावका कारण उत्पादनमा लाभ लिन सकिरहेका थिएनन् । अब पानी उपलब्ध गराएसँगै गाउँपालिकाले सबैको घरमा प्लास्टिक पोखरी निर्माण गरी सिँचाइको सुविधासमेत पुर्याइने योजना रहेको उपाध्यक्ष सुनुवारले जानकारी दिइन् ।
यस्तै २ नम्बर वडामा पनि रिजर्भ ट्यांकी निर्माण गरी त्योभन्दा १५० मिटर माथिका गाउँमा पनि पानी पु(याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । कारोबार दैनिकबाट ।


1670 पटक हेरिएको 

