मेलम्ची आएपछि जमिनमुनिको पानी दोहन गर्ने क्रम रोकिने

काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकामा ल्याएपछि जमिनमुनिको पानी दोहन गर्ने क्रम रोकिने काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सन्जीव विक्रम राणाले बताउनुभयो । आर्थिक वर्ष ०७७/७८ का लागि विनियोजन गरेको खानेपानी, सरसफाइ र स्वच्छताको लागि बजेट र कोभिड महामारी व्यवस्थापनका लागि बजेटले गरेको व्यवस्था सम्बन्धी गैरसरकारी संस्थाले गुथिले गरेको अनलाइन छलफलमा कार्यकारी निर्देशक राणाले मेलम्ची आयोजना सम्पन्न भएपछि केयुकेएलले जमिनमुनिको पानी बोरिङ गर्ने काममा करिब ८०% ले कमी आउने दाबी गर्नुभयो ।

यस्तै मेलम्चीको पानी आएपछि विभिन्न उद्योग तथा कलकारखानाले समेत भूमिगत पानी दोहन गर्न छाड्ने कार्यकारी निर्देशक राणाले ठोकुवा गर्नुभयो ।

सरकारले मेलम्चीको सुरुङ निर्माण कार्य सम्पन्न गरी परीक्षणको तयारी गरिरहेको छ । खानेपानीमन्त्री बिना मगरले केही दिन अघि प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै आगामी आर्थिक बर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्था नआउने बताउनुभएको थियो । उहाँले आगामी आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गर्नुभएको थियो ।

कार्यक्रममा उहाँले काठमाडौंमा पर्याप्त पानी पर्ने तर जमिनमा नसोसिने भएकाले भूमिगत पानी रिचार्ज गर्ने सन्दर्भमा समेत अध्ययन भइरहेको उहाँले बताउनुभयो । खानेपानी व्यवस्थापन बोर्डले उपत्यकामा थप पानी व्यवस्थापन गर्न महादेव खोला र सिस्नेरी खोलामा पनि ड्याम परियोजनाको डिपिआर यस वर्ष तयार हुने उहाँले बताउनुभयो ।

‘महालक्ष्मी नगरपालिका र ठिमी नगरपालिकामा भएका ढुङ्गेधारालाई पुनः जीवित गराउन आयोजनाको सम्झौता भइसकेको छ । महालक्ष्मी नगरपालिकाको दिसाजन्य लेदो व्यवस्थापनका लागि अढाई करोड बजेट विनियोजन गरिएको छ’ कार्यकारी निर्देशक राणाले भन्नुभयो ।

राणाले न्युन आय भएका उपभोक्ताहरुका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत न्यून आय उपभोक्ता सहयोग इकाई मार्फत ट्याँकरबाट ४०% मात्र शुल्क लिएर खानेपानी उपलब्ध गराईरहेको जानकारी दिनुभयो । आगामी दिनमा धाराबाट खानेपानी सहजरुपमा पु¥याउने लक्ष्य अन्तर्गत न्युन आय भएका उपभोक्ताहरुलाई महसुलमा अनुदान दिन सकिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार