काठमाडौ : ऐतिहासिक पाटन सहरको भौगोलिक स्वरूप दक्षिणबाट उत्तरतर्फ पानीढलो फैलिएको छ । कुनै समय यो सहर र वरिपरिका खेतबारीलाई हराभरा तुल्याउने टीकाभैरव राजकुलो थियो । सहरीकरण बढेसँगै राजकुलो अतिक्रमणमा परेपछि यस क्षेत्रका अधिकांश ढुंगेधारा र पोखरीहरू सुकेका छन् ।
त्यसयता सहरका बासिन्दा नालाबाट ल्याइएको धारा, ट्यांकरबाट झिकाइको पानी र इनारको पानी उपभोग गर्दै आएका छन् । यतिखेर भने राजकुलो ब्युँताएर यी ढुंगेधारा र पोखरीले पुनःजीवन पाउने खबरले स्थानीयवासी हौसिएका छन् । २०४६ सालदेखि अस्तित्वमा आउन नसकेको टीकाभैरवदेखि पाटन दरबार क्षेत्रसम्म फैलिएको राजकुलो पुनःजीवन दिने काम सुरु भएको छ । ऐतिहासिक ढुंगेधारा र पोखरीलाई ब्युँताउन वाग्मती प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधिहरू लागिपरेका छन् । यो राजकुलो गोदावरी नगरपालिकाको टीकाभैरवदेखि ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रसम्म फैलिएको छ ।
सार्वजनिक पानीको स्रोतका रूपमा राजकुलोलाई लिइन्छ । संरक्षणकर्मीका अनुसार पाटन क्षेत्रमा १ सय ४० ल्वँहहिति (ढुंगेधारा) र ६२ पुखु (पोखरी) रहेको अभिलेखमा सीमित छन् । राजकुलोमा आउने पानीले सहर र वरिपरिका बस्तीहरूमा कृषकले बालीनाली लगाउँथे । अहिले ती उर्वर कृषि भूमि कंक्रिटको घरले भरिने क्रममा छन् ।
‘हामीले टीकाभैरव नल्लुदेखि ठेचो हुँदै खुमलटारसम्म आठ किलोमिटर राजकुला सफाइ र मर्मत गरिसकेका छौं,’ गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन भन्छन्, ‘अब लगनखेल पुर्याउन सके ऐतिहासिक पाटन सहरको ढुंगेधारा र पोखरीहरूले पुनःजीवन पाउने छन् ।’ स्थानीयवासी र अभियन्ताहरूको मागअनुसार प्रदेश सरकारले ४९ लाख रुपैयाँ उपलब्ध गराएपछि टीकाभैरव राजकुलो पुनस्निर्माण सम्भव भएको हो । वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले पाटन सहरको ऐतिहासिक शोभाका रूपमा रहेका ढुंगेधार र पोखरीहरूको महत्व बुझेकाले सम्भव भएको मेयर महर्जन बताउँछन् ।
गोदावरी नगरपालिकाले वडा नं. ६ मुहानदेखि ललितपुर महागरपालिका वडा नं. १४, १५, २६ र २७ वडासम्म पुनस्निर्माण गरेको छ । त्यसभन्दा अगाडि पाटन सहर लगनखेलसम्म पुर्याउन चुनौती थपिएको छ । खुमलटार क्षेत्रसम्म फैलिएको राजकुलोलाई सडक किनारा ढलमा परिणत गरेकाले समस्या आएको छ । यसैगरी चक्रपथ ९रिङरोड० बन्ने क्रममा राजकुलोको बाटो मेटिएको छ । करिब चार किलो मिटर क्षेत्रमा यो चुनौती आएको हो ।
ढुंगेधारा मुहान संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठ बाटोमा ढल हुनु र चीन सरकारको सहयोगमा बनेको रिङरोड सडकले राजकुलोको साविक बाटो नामेट पारेपछि समस्या आएको बताउँछन् । ‘राजकुलो आइपुग्ने मुख्य ठाउँ लगनखेल सैनिक क्याम्पसँगैको चारवटा पोखरीहरू हुन्, त्यसलाई सप्तपाताल पुखु, न्हुपुखु भनेर चिन्दछौं,’ राजकुलो पूर्वजले बनाएको सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठ भन्छन्, ‘लगनखेलसम्म राजकुलो ल्याइपुर्याउने काम चुनौतीपूर्ण देखिन्छ । त्यहाँ पानी आएपछि सहरको अरुतिर जान च्यानल बनाउनु पर्छ ।’ पञ्चायतकालका शासकले पाटन क्षेत्रका आधा दर्जन जति पोखरीहरू मासेको उनको आरोप छ ।
‘पञ्चायतकालमा ऐतिहासिक सहरका पोखरीहरू मासेर जग्गा बेचे,’ अध्यक्ष श्रेष्ठले भने, ‘पोखरी मासेर ललितपुर महानगरपालिकाको कार्यालय बनाए । विद्यालय, बसपार्क बनाए । यसरी कतिपय पोखरी अस्तित्वविहीन बनेका छन् ।’
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले राजकुलोलाई चक्रपथबाट पाटनतर्फ ल्याउन प्राविधिक अध्ययन भइरहेको बताए । ‘गोदावरी नगरपालिकाले मुहानदेखि ढोलाहिटीसम्म राजकुलो सुचारु गरेको छ,’ कोभिड–१९ को कारण ढिलाइ भएको उल्लेख गर्दै मेयर महर्जनले भने, ‘चक्रपथको मूल सडक मुनिबाट प्रविधिको प्रयोग गरेर राजकुलो ल्याउन प्राविधिक अध्ययन भइरहेको छ । चाँडै टुंगो लाग्नेछ । त्यसैपछि डीपआर (विस्तृत परियोजना प्रतिवेदन) बनाएर बजेटको व्यवस्था हुनेछ ।’ २०४६ सालदेखि राजकुलो टुटेको उनले जनाए ।
डीपीआरमा महानगरपालिका–५ लगनखेलस्थित सप्तपाताल पोखरी क्षेत्रको १४ रोपनी १० आना क्षेत्रफलमा ‘लाइफ लाइन वाटर पार्क’ निर्माण योजना समेटिने मेयर महर्जनले बताए । ‘पाटनको इनार, ढुंगेधारा, पोखरीको स्रोत भनेकै राजकुलो हो,’ सहरको आकर्षण बढाउन प्राकृतिक स्रोतका रूपमा राजकुलो विस्तार गर्नु एकमात्र उपाय भएको उल्लेख गर्दै उनले भने, ‘डीपीआर बनाउँदैछौं । यहाँ ‘लाइफलाइन वाटर पार्क’ बगैंचाको व्यवस्थापन गरिनेछ ।’ यहाँ जम्ने पानीको स्रोतले महानगरका अन्य ढुंगेधाराले पुनस्जीवन पाउने उनले उल्लेख गरे ।
संस्कृतिविद् ओम धौभडेलका राजदरबारले काठमाडौं उपत्यकाको तीन सहर कृषिलाई प्राथमिकता दिएर कुलोको व्यवस्था गरेका थिए । ‘कृषिलाई राज्यले प्राथमिकता दिएर राजदरबारको विशेष सिंचाई कुलाको व्यवस्था गरिएकाले राजकुलो भनिएको हो,’ उपत्यकामा तीन छुट्टाछुट्टै राज्य बनेपछि प्रतिस्पर्धाका आधारमा विकास गरेको उल्लेख गर्दै धौभडेल भन्छन्, ‘कृषिका निम्ति जग्गाजमीनको व्यवस्था, गुठीको व्यवस्था, रेखदेख गर्ने व्यक्तिको व्यवस्था र उपभोग गर्नेहरूका निम्ति नियम बनाइएको पाइन्छ ।’ काठमाडौंमा उत्तरतर्फ शिवपुरी पहाडबाट बसन्तपुर दरबारसम्म, भक्तपुरमा नगरकोटदेखि दरबार हुँदै सिद्धपोखरीसम्म र ललितपुरमा लेलेबाट पाटन दरबारसम्म राजकुलो विस्तार गरेका थिए ।
अनुसन्धाता राजनलाल जोशीले राज्यले स्थापना गरेको कुलो राजकुलो हो र यो लिच्छविकालमा सुरु भएको अंशुवर्माको अभिलेखमा राजकुलोको व्यवस्था रहेको बताएका छन् । जोशीले काठमाडौं उपत्यकामा ६ सयभन्दा बढी ढुंगेधारा रहेको जनाएका छन् । जसमा काठमाडौंमा २ सय ८० भन्दा बढी, भक्तपुरमा १ सय ७८ भन्दा बढी र ललितपुरमा १ सय ४० भन्दा बढी छन् । काठमाडौं उपत्यका खानेपानी प्रणाली व्यवस्थापन बोर्डसमेतले ढुंगेधारा, इनार र पोखरीको तथ्यांक संकलन गरेको छ ।
‘काठमाडौंमा राजकुलो मासियो,’ दीर्घकालीन योजनाको अभाव खड्किएको उल्लेख गर्दै जोशी भन्छन्, ‘भक्तपुर र ललितपुरमा अहिलेसम्म राजकुलो अस्तित्वमा छन् । नगरभित्र कुलो मासिइसकेको छ । यदि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरेमा राजकुलोहरू पुनस्स्थापना सम्भव छ ।’ पाटन क्षेत्रका पाँच दर्जनभन्दा बढी पोखरी पुनस्जीवन पाउने उनले बताए । कान्तिपुर दैनिकबाट साभार गरिएको ।
फोटोहरु : गोदावरी नगरपालिका ।