
संगिता गिरी दास : निर मगर, ४७ बर्षीया एकल अभिभावक । उहाँ एक छोरा र एक छोरीको साथमा पाल्पा तानसेन नगरपालिका वडा नं. ७ स्थित बौघा गुम्हामा बस्नुहुन्छ । जण्डिसको कारण श्रीमानको युवावस्थामै असमायिक निधन भएपछि उहाँले ३५ वर्षको उमेरमै अकल्पनिय पीडा सहनु प¥यो । समाजमा कुनै पनि महिलाको पतिको देहावसान भएपछि वा अन्य कुनै कारणले विछोड भएमा उक्त महिलालाई एकल महिलाको संज्ञा दिईने चलन छ तर वास्तवमा पति नभएपछि सन्तानहरुको लालनपालन गरी रहेका वहाँहरु एकल महिला भन्दा पनि एकल अभिभावक हुनुहुन्छ ।
श्रीमानको अल्पायूमै निधन भएपछि कलिलो उमेरका १५ बर्षका छोरा र १४ बर्षीया छोरीको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आईपर्योे । उनीहरुलाई कसरी राम्रो शिक्षादिक्षा प्रदान गरेर आफ्नो खुट्टामा उभिन सक्ने बनाउने भन्ने चिन्ताले निर मगरलाई सधैं पिरोलिरहन्थ्यो । आम्दानीको स्रोतको नाममा सानो किराना पसल मात्र थियो । पछि उहाँले हुलाक कार्यालयमा पनि जागीर गर्न थाल्नुभयो । श्रीमानको उपचारमा उहाँले धेरै रकम खर्च गरिसक्नुभएको थियो । आर्थिक कठिनाई र असहज परिस्थितिको वावजुद पनि उहाँले हिम्मत नहारी निरन्तर मिहेनत गरिरहनुभयो ।

त्यतिखेर ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा, सहयोगी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपाल (SRDCN) को पहलमा सातौं समूह चरणको वर्षातको पानी संकलन प्रविधिमा आधारित खानेपानी तथा सरसफाइ आयोजना पुगिसकेको थियो । आफूलाई परेको दुःखलाई जिन्दगीको चुनौतीको रुपमा स्वीकार्नुभएकी निर मगरले संस्थाद्धारा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गतको कुनैपनि कार्यक्रम र तालिमहरुमा नछुटाई भाग लिनुभयो ।
स्वास्थ्य–सरसफाइ, बाख्रापालन, होमस्टे आदिबारे भएका सबै कार्यक्रम र तालिमहरुमा उहाँ नियमित रुपले सहभागी हुनुभयो । यसले उहाँको ज्ञानको स्तर र आत्मविश्वासमा अभिवृद्वि गर्यो । साथै उहाँलाई बौघा गुम्हा खानेपानी तथा सरसफाइ आयोजनाको उपभोक्ता समितिको उपाध्यक्ष बन्न समेत हौसला मिल्यो । सानै देखि निर मगरलाई समाजका लागि पनि केहि न केही गर्नुपर्छ भन्ने भावना थियो । खानेपानी तथा सरसफाइ आयोजनाको उपभोक्ता समितिको उपाध्यक्ष बनेपछि उहाँले समाजसेवा गर्ने सानै देखिको इच्छा पूरा गर्ने मौका पाउनुभयो र सो को सदुपयोग गर्दै उहाँ झनै सक्रिय भएर गाउँका प्रत्येक घर–घरमा सरसफाइ, वचत संकलन तथा ऋण परिचालन तथा आयआर्जनका कार्यक्रमबारे जनचेतना फैलाउने काममा दत्तचित्तका साथ लाग्न थाल्नुभयो ।
खानेपानी तथा सरसफाइ आयोजनाको जीविका कार्यक्रम अन्तर्गत महिला प्राविधिक समूह गठन भएसँगै शुरु भएको वचत तथा ऋण कार्यक्रम अन्तर्गत उहाँले ऋण लिई बाख्रा पालन र तरकारी खेती समेत शुरु गर्नुभयो । यति मात्र नभई उहाँले होमस्टे चलाउने काममा पनि लगनशीलता देखाउनुभयो । हाल यस गाउँका केही घरधुरीले आपसमा मिलेर व्यवस्थित तरिकाले होमस्टे सञ्चालन गरिरहेका छन् ।

आफ्नोे होमस्टेमा आएका पाहुनाहरुलाई अर्गानिक तरकारी खुवाएर आतिथ्य सत्कार गर्न पाउँदा निर मगरलाई औधी खुशी लाग्छ । उहाँ भन्नुहुन्छ ‘हाम्रो गाउँको समग्र विकास र गरीबी न्यूनीकरणकोे लागि कोष विकास समितिले सञ्चालन गरेको खानेपानी आयोजनाका सम्पूर्ण कार्यक्रमहरु बरदान साबित भए । महिलाहरुको सहभागितामूलक र क्षमता अभिबृद्धि कार्यक्रमहरुले बढाएको हौसला र आम्दानीको कारण मैले मेरो बच्चाहरुलाई उच्च शिक्षा प्रदान गरेर आफ्नो खुट्टामा उभिन सक्ने बनाउन सकें ।’
उहाँलाई कोष विकास समितिको आर्थिक सहयोगमा सहयोगी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपाल (SRDCN) को पहलमा झण्डै एक दशक अघि बर्षातको पानी संकलनका लागि घैंटो बनाउन कैयौँ किलोमिटर टाढा अवस्थित रानीघाट देखि बालुवा ओसारेको सम्झँदा, अहिले सपना जस्तै लाग्दछ । श्रीमानको अवसानको केही महिना पनि नबित्दै आफूलाई समाज सेवामा समर्पण गर्न थाल्नुभएकी निर अहिले पनि कसैलाई सहयोग गर्नु परेमा निस्वार्थ भावले तुरुन्त अघि सर्नुहुन्छ । उहाँको भावी इच्छा आफ्ना सन्तान लगायत अहिलेका पुस्ताका युवाहरुले पनि यसरी नै सामाजिक संघ संस्थाहरु सँग आवद्व भई समाजको लागि योगदान गरुन् भन्ने छ । जसले गर्दा समाजमा अझै धेरै विकासका कामहरु सम्पन्न होस् ।
उहिले खानेपानी, सरसफाई र स्वास्थ्य सम्बन्धी जनचेतनाको अत्यन्त अभाव रहेको यस गाउँमा खानेपानी तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सामना गर्नु परेको चुनौती एवं संघर्ष स्मरण गर्दै सहयोगी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपाल (SRDCN) का अध्यक्ष चोपलाल गिरी भन्नुहुन्छ ‘म ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको खानेपानी तथा सरसफाइ कार्यक्रमलाई सफल पारी यस गाउँको मुहार फेर्न सघाउनु हुने सबै सहयोगी हातहरुलाई मुरी–मुरी धन्यवाद दिन चाहन्छु, साथै यस्तै एकजुट भएर सधैं गाउँको विकासमा अघि बढिरहन शुभकामना प्रदान गर्न चाहन्छु ।’

लेखक, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमा जीविका विज्ञ हुनुहुन्छ ।


1956 पटक हेरिएको 

