सेवा निवृत्त सँगै ढकाल प्रबल जनसेवाश्री पदवीबाट विभूषित


काठमाडौ : अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट हालै सेवा निवृत्त हुनुभएका लीला प्रसाद ढकाल प्रबल जनसेवा श्री (चतुर्थ) पदवीबाट विभूषित हुनुभएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित हुनुभएका ५९४ जना व्यक्तित्व मध्ये ढकाल एक हुनुहुन्छ । प्रबल जनसेवा श्री (चतुर्थ) बाट २४२ जनालाई विभूषित गरिएको छ । उहाँ विक्रम सम्बत २०५९ मै प्रवल गोरखा दक्षिणबाहु (चौथो) बाट बिभूषित हुनुभएको थियो ।

ढकालले आफ्नो सेवा अवधिमा विभिन्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुमा रही नागरिकलाई सुरक्षित खानेपानी सेवा वितरण गर्न ठूलो योगदान पु¥याउनु भएको छ । उहाँले काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयमा रहेर मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न वितरण सञ्जाल निर्माणको काममा समेत योगदान दिनुभएको छ । पछिल्लो समय उहाँले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को कार्यकारी निर्देशक भएर सेवा गर्नुभएको थियो ।

त्यहाँबाट करिब बर्ष दिन अघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा सरुवा हुनुभएका ढकाल उमेर हदका कारण हालै सेवा निवृत्त हुनुभएको छ ।

यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगामा कार्यरत इञ्जिनियर (अधिकृत ८ औं) विजयकुमार ठाकुर पनि प्रवल जनसेवा श्री चतुर्थबाटै सम्मानित हुनुभएको छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावहरुलाई नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारीसमा संविधान दिवसको दिन राष्ट्रपतिद्वारा सम्मान गरिदै आएको छ ।

यसपटक नेपाल रत्न कसैलाई पनि दिईएको छैन । सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट बरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ । संविधान दिवसको अवसरमा ४५ जनलाई मानपदवी, ११४ जनलाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार