आकाशे पानीलाई पिउनका लागि सुरक्षित बनाउने तरिका


काठमाडौ : आकाशे पानीको संकलन एउटा सरल र भरपर्दो सुरक्षित पानी वितरणको उपाय हुन सक्दछ । वर्षात्को पानी अत्याधिक वायु प्रदूषण भएको बाहेकको ठाउँमा सुरक्षित खानेपानी हुन सक्दछ । आकाशे पानी संकलन गर्नु खानेपानीको अभाव र सुरक्षित पानीको आवश्यकता दुवैको लागि एउटा राम्रो समाधानको उपाय बन्न सक्दछ ।

जमीन माथिको संकलन ट्याड्ढीहरू घरको नजिकै राख्न सकिन्छ । घरको छानाले आकाशे पानी जम्मा गर्दछ र ट्याङ्कीमा संकलन गर्न सकिन्छ । जस्ता वा फलामले बनेको छानाबाट पानी संकलन गर्न राम्रो हुन्छ । परालले छाएको छानामा धेरै धुलो हुने भएकोले सुरक्षित हुँदैन । सिसा, एसवेसटस, वा कालेपत्रले बनेको छानाको पानी विषाक्त हुन सक्दछ र असुरक्षित हुन्छ । पानी संकलन गर्ने ट्याङ्की सधैं सफा राख्नु पर्दछ र कहिले पनि विषाक्त रसायन जस्तैः विषादी र तेल भण्डारण गरेको हुनुहुँदैन ।

जमीनमा आकाशे पानी एवं भेलको पानी संकलन गर्न सकिन्छ । जमीनमा खाल्टो खनी तल्लो भागमा मलिलो माटो, टाइल, कङक्रिट वा प्लाष्टिक ओछ्याएर पानी संकलन गर्ने जलाधार बनाउन सकिन्छ । यो भण्डारण गाईबस्तुलाई पानी खुवाउन, नुहाउनको लागि पानी जम्मा गर्नको लागि उपयोग गरिन्छ । यदि यो जलाधार भण्डारणलाई खानेपानीको लागि उपयोग गर्ने हो भने यसको चारैतिर छेकबार लगाएर गाईबस्तुलाई टाढा राख्नुपर्दछ । भूईमा यसरी जम्मा गरेको पानी खानलाई सफा गर्नुपर्दछ ।

भूईंमा वा छतमा जम्मा गरेको आकाशे पानी भूमिगत ट्याङ्कीमा पनि भण्डारण गर्न सकिन्छ । यसरी पानीलाई चिसो र सुरक्षित छोपेर राख्न सकिन्छ । यो जमीन माथि बनाउने भण्डारण ट्याङ्की र किनेर राखिएको ट्याङ्कीभन्दा सस्तो हुन्छ ।

यसो गर्दा आकाशे पानी पिउनका लागि सुरक्षित बन्दछ

आकाशे पानीलाई खानेपानीको रूपमा सुरक्षित बनाउन यसलाई संक्रमण हुनबाट जोगाउनु पर्दछ । संकलित पानी सुरक्षित छ भनेर सुनिश्चित गर्न निम्न लिखित उपायहरू अबलम्बन गर्नुपर्दछ ।

♦ वर्षात्को समय शुरु हुनुभन्दा पूर्व ट्याङ्की पाइप, छाना र छानाको गट्टर सफा गर्नुपर्दछ ।

♦ भण्डारण गर्ने वस्तु कहिले पनि तेल, विषादी वा अन्य कुनै विषाक्त रसायन राख्न उपयोग भएको हुनु हुँदैन ।

♦ वर्षको पहिलो वर्षात्को पानी ट्याङ्क भएर बाहिर फाल्नु वा सफा गर्नु पर्दछ ।

♦ ट्याङ्कलाई छोपेर राख्नुपर्दछ र पानी संकलन हुने ठाउँमा वा मुखमा जालीको व्यवस्था गरी कीरा, पातपतिङ्गर र धुलोलाई बाहिरै छान्नु पर्दछ । यसले गर्दा लामखुट्टेको पनि विकास हुनबाट रोक्न सकिन्छ ।

♦ सकेसम्म धाराको प्रयोग गरी पानी निकाल्नु पर्दछ । अन्य कुनै भाँडो अथवा बकेटको सहायताले पानी संकलन गरेमा यी भाँडाहरू सफा हुनु पर्दछ ।

♦ थप सुरक्षाको लागि क्लोरिनको झोल राख्नुपर्दछ वा पानी छान्ने मेसिन जोड्नु पर्दछ ।

♦ पानीलाई चलाउनु वा घोल्नु हुँदैन जसले गर्दा पानीमा भएको कीटाणु र धुलो ट्याङ्कको पिँधमा गएर बस्दछ ।

♦ घरको छानालाई समय समयमा बढारेर सफा राख्नुले पनि सफा आकाशे पानी संकलन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार