सेफ्ली म्यानेज्ड् स्यानिटेशन अर्थात सुरक्षित रुपमा व्यवस्थित गरिएको सरसफाइ भनेको के हो ?

 4774 पटक हेरिएको
🔗
111
Shares

हामीलाई अहिले चाहिएको सेफ्ली म्यानेज्ड् स्यानिटेशन अर्थात सुरक्षित र व्यवस्थित सरसफाइ हो । यसलाई डब्लु.एच.ओ. र युनिसेफको जोइन्ट मनिटरिङ प्रोग्राम (जेएमपी) ले परिभाषित गरेको छ । तर त्यो भन्दा अगाडि हामीले नसुधारिएको (अन्इम्प्रुभ) र सुधारिएको सरसफाइ (इम्प्रुभ स्यानिटेशन) बारे बुझ्न जरुरी छ ।

के हो त अन्इम्प्रुभ स्यानिटेशन ?

 

खुला ठाउँमा दिसा गर्ने, सबैभन्दा काम नलाग्ने कुरा नै यही हो । यस्तै ढक्कन बिनाको खाल्डोमा मात्र दिसा गर्ने, सेफ्टी ट्याङ्की पनि नभएको तर एकै ठाउँमा दिसा गर्ने ठाउँ वा हेर्दा चर्पी जस्तो देखिए पनि दिसा चाहिं बकेटमा जम्मा हुने । यी सबै अन्इम्प्रुभ (नसुधारिएको सरसफाइ) का उदाहरण हुन् । अब लिमिडेट वा सीमित सरसफाइ भनेको दुई वा दुई भन्दा बढी परिवारले संयुक्त रुपमा शौचालय प्रयोग गरिएको छ भने त्यो चाहिं लिमिटेड स्यानिटेशन भित्र पर्दछ ।

इम्प्रुभ स्यानिटेशन ?

इम्प्रुभ (सुधारिएको) भनेको चाहि अन्इम्प्रुभ भन्दा राम्रो, अर्थात शौचालयमा दिसा गरेपछि पानी फ्लस गर्ने सुविधा हुनुपर्‍यो । त्यो सीधै बटम थिच्दा फ्लस हुनसक्छ अर्थात पानी खन्याएर पनि दिसालाई बगाउन सकिन्छ । काठमाडौ लगायत शहरमा भएका अधिकांश शौचालय यस्तै प्रकृतिका हुन् । यो ढलमा मिसिएको हुनुपर्‍यो अर्थात सेप्टिक ट्याङ्कीमा जम्मा भएको हुनुपर्‍यो वा अलि पर लगेर खाल्डोमा ढाकिएको अवस्थामा हुनुपर्‍यो । हामीले खुला दिसामुक्त घोषणा गर्दा सबै इम्प्रुभ स्यानिटेसन (सुधारिएको सरसफाइ) लाई मात्र मान्यौं । आधारभूत सरसफाइ भनेकै सुधारिएको अर्थात इम्प्रुभ स्यानिटेशन हो । जुन एउटै शौचालय धेरै घरपरिवारले प्रयोग गरेको चाहिं हुनुभएन ।

 

सुरक्षित र व्यवस्थित सरसफाइको एकिन डाटा नै छैन

अब हामीलाई सुधारिएको सरसफाइबाट सुरक्षित र व्यवस्थित सरसफाइको स्तरमा उक्लिनु छ । तर नेपालमा अहिलेसम्म सेफ्ली म्यानेज्ड् स्यानिटेशन (सुरक्षित र व्यवस्थित सरसफाइ ) को डाटा नै छैन । सेफ्ली म्यानेज्ड् हुनाका लागि सेफ्टी ट्याङ्कीमा भरिएको दिसाको लेदोलाई ढुवानी गरेर प्रशोधन गरेको हुनुपर्‍यो । कि त गुहेश्वरीको जस्तो प्रशोधन प्लान्टमा गएर प्रशोशित भएर मापदण्ड अनुसारको बनाएर नदीमा खसालेको हुनुपर्‍यो । अब काठमाडौको हकमा गुहेश्वरीको प्रशोधन प्लान्टमा शौचालय जोडिएका घर र ललितपुरको लुभुमा रहेको दिसाजन्य लेदो प्रशोधन केन्द्रमा प्रशोधन गरिएका घरहरु मात्र सुरक्षित तथा व्यवस्थित सरसफाइ भए ।

मेरो घरमा शौचालय छ, राम्रो छ, प्लस पनि हुन्छ तर मेरो शौचालयको दिसा गुहेश्वरीको ढलमा त पुग्दैन । सेफ्टी ट्याङ्कीमा जम्मा पनि हुँदैन भने मेरो ढलको पानी कहाँ गयो ? पक्कै कतै न कतै गएर प्रशोधन नभई नदीमा मिसिएको छ भने त्यो सेफ्ली म्यानेज्ड् स्यानिटेशन भएन । यसर्थ सेफ्ली म्यानेज्ड् स्यानिटेशनमा स्तरोन्नति गर्नका लागि शौचालयमा दिसा सेफ्टी ट्याङ्कीमा जम्मा भएर त्यसलाई खाली गरेर ढुुवानी गरी प्रशोधन गरेर मात्र विसर्जन गरेको हुनुप र्‍यो । त्यो स्वास्थ्यका लागि खतरा हुनुभएन । त्यसलाई प्रशोधन गरेर बालीनालीमा प्रयोग गरे पनि भयो वा वातावरणमा विसर्जन गरेपनि भयो । न कि सीधै ट्याङ्करले झिकेर नदीमा वा कुनै खाली ठाउँमा वा खेतमा विसर्जन गर्नु चाहिं भएन ।

अबको आवश्यकता

दिगो विकास लक्ष्य ६ हासिल गर्नका लागि अब सेफ्ली म्यानेज्ड् स्यानिटेशनमा जानुको कुनै विकल्प छैन । अब हामीसँग भएका इम्प्रुभ स्यानिटेशनलाई स्तरोन्नति गर्नैपर्छ । यसका लागि नयाँ तथा पुराना घरमा पनि नचुहिने (शील्ड) सेप्टिक ट्याङ्की बनाउन लगाउनुपर्छ । त्यसपछि प्रशोधनशालाहरु मार्फत सेफ्टिक ट्याङ्कीमा जम्मा भएको दिसाजन्य लेदोलाई प्रशोधन गरेपछि मात्र विसर्जन गर्नुपर्छ ।

यस्को नमुना लुभु तथा बर्दिया लगायतका स्थानमा पनि हेर्न सकिन्छ । काठमाडौ जस्तो ठूला सहरहरुमा भने ढल प्रणालीमा आधारित फोहोरपानी प्रशोधन केन्द्र बनाउनुपर्छ । त्यसका लागि काठमाडौ उपत्यकामा केयूकेएल/पिआईडीले ठूला क्षमताका प्रशोधन प्रणालीहरु निर्माण गरिरहेको छ । आशा गरौं, समयमै सम्पन्न भई सञ्चालनमा आउनेछ । यस्तै काठमाडौ बाहिरका सहरहरुमा पनि यस्तै प्रकृतिका प्रशोधन केन्द्रहरु बनाउन सकिन्छ । साना सहरीले खानेपानी आयोजना भएका सहरहरुमा अनिवार्य ढल प्रणाली निर्माण गरी प्रशोधन केन्द्र सहितको काम पनि गरिरहेको छ । यो गर्नैपर्ने मध्येको काम हो ।

डब्लु.एच.ओ.का प्रोफेस्नल अफिसर डा. सुदन पन्थीसँग वास खबर गरेको कुराकानीमा आधारित

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार