
काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले सञ्चालन गरिरहेको Reconstruction and Resilience of WASH Services through Capacity Building – Nepal (NERF) प्रोजेक्ट सकिएको छ । एन्फोले एक कार्यक्रमको आयोजना गरी भूकम्प प्रभावित जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङमा सञ्चालित उक्त परियोजना समापन भएको घोषणा गरेको हो । एन्फोले भूकम्प प्रभावित ती जिल्लामा सन् २०१७ देखि साझेदार संस्थाहरुको क्षमता अभिबृद्धि, नमुना स्वस्थ समुदाय निर्माण र व्यवहार परिवर्तन तथा कोरोना प्रतिकार्यका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
एन्फोले दोलखामा सिडिएफ नेपाल, सिन्धुपाल्चोकमा जनहीत ग्रामीण सेवा समिति, काभ्रेमा शान्ति जनआदर्श सेवा केन्द्र, नुवाकोटमा डिकोन नेपाल र धादिङमा शान्ति नेपालसँग समझदारी गरी परियोजना कार्यान्वयन गरेको हो ।
परियोजना अवधिमा साझेदार संंस्था तथा सम्बन्धित जिल्ला भित्रका संघसंस्थाका लागि सामुदायिक स्वास्थ्य प्रबर्द्वन तालिम, प्रभावकारी वास तालिम प्रस्तुतीकरण तालिम, घरेलुस्तरमा खानेपानी शुद्धिकरण र सुरक्षित भण्डार लगायतका तालिमहरु सञ्चालन गरिएको एन्फोका सिनियर वास अफिसर श्रृजना कार्कीले बताउनुभयो ।

परियोजनाले स्वस्थ समुदाय निर्माणका लागि पाँच वटा सूचकहरुमा काम गरेको थियो भने व्यवहार परिवर्तन सम्बन्धी दुई वटा सूचकमा आधारित भएर कार्यक्रम सञ्चालन गरेको थियो । ‘‘व्यवहार परिवर्तन सम्बन्धी फिल्टरबाट सुरक्षित पानी पिउने बानी बसाल्ने र शौचालयको समुचित प्रयोग गर्ने बानीको विकास गर्ने उद्देश्य राखेर कार्यक्रमहरु सञ्चालन ग¥यौं, जो निक्कै प्रभावकारी रह्यो’’ सिनियर वास अफिसर कार्कीले भन्नुभयो ।
NERF परियोजना अति नै फलदायी रहेको र यसले समुदायमा राम्रो छाप छोड्न सफल भएको एन्फोका साझेदारी संस्थाका प्रतिनिधीहरुले बताएका छन् । सिन्धुपाल्चोको जनहीत ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले क्षमता अभिबृद्धि र व्यवहार परिवर्तनको काम सजिलो नभएपनि काम गर्दै जाँदा सफल भएको बताउनुभयो । उहाँले सबै काम उद्देश्य मुताबिक भएको र अझै नियमित फलोअप तथा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । यस्तै शान्ति जनआदर्श केन्द्र सिन्धुपाल्चोककी शान्ति लक्ष्मी श्रेष्ठले पानी शुद्धिकरण गरेर मात्र पिउने, शौचालयको सही तरिकाले प्रयोग गर्ने जस्ता बिषयमा प्रयोगकर्ताहरु सचेत भएको र यो कार्यक्रमले नमुना स्वस्थ समुदायको लागि हुनुपर्ने सूचकहरुका बिषयमा समुदायले राम्ररी बुझेको बताउनुभयो ।
यस्तै डेकोन नेपालका कार्यकारी निर्देशक चोकराज श्रेष्ठले एन्फोसँग काम गर्दा कार्यक्रम कार्यान्वयनमा सहज भएको र संस्थागत क्षमता अभिवृद्धि भएको बताउनुभयो । ‘‘डोनरहरुसँग काम गर्दा उनीहरुले यो यो गर्नुपर्ने भन्ने तर सिकाउने चलन थिएन, हुनुपर्छ मात्र भन्थ्यो । तर एन्फोसँग काम गर्दा यस्तो हुनुपर्छ भन्नुका साथै यसरी गर्नुपर्छ भनेर सँगसँगै काम गरेको हुनाले काम गर्न धेरै सजिलो भयो’’ उहाँले भन्नुभयो ।
यस्तै शान्ति नेपाल धादिङका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्यले भने एन्फोसँग काम गर्दा पेशागत दक्षता अभिबृद्धि भएको बताउनुभयो । उहाँले संस्थाले गरेका कामहरुको अभिलेखीकरण गर्ने काम एन्फोबाटै सिकेको र भावी दिनमा आफ्नो संस्थाले पनि अभिलेख राख्ने र त्यो संस्थाको पूँजी हुने बताउनुभयो । उहाँले NERF प्रोजेक्ट सकेपनि एन्फो सदैव रहने हुँदा यसरी नै सहकार्य गर्न पाइने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवं एन्फोका कार्यकारी निर्देशक भावना शर्माले भने NERF परियोजनाको सफल कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्नुभयो । ‘‘आज कार्यक्रम समापन भनेपछि हाम्रो प्रोजेक्ट सकियो भनेर घोषणा गर्ने होला, कार्यक्रम पनि सकिने होला भन्ने लागेको थियो, तर मलाई सुरुवात भएको महसुस भईरहेको छ । यत्ति धेरै काम भएको रहेछ’’ कार्यकारी निर्देशक शर्माले भन्नुभयो ‘‘यो परियोजनाले स्थानीय सरकारसँग पनि समन्वय गरेर काम गरेको रहेछ, धेरै कुरा थाहा पाएँ । कार्यक्रमले एकदम सफलता हासिल गरेको महसुस गरेको छु ।’’
उहाँले एन्फोले गर्न सकिने प्राविधिक सहयोगहरु सदैव उपलब्ध गराईने वाचा गर्नुभयो । भावी दिनमा समेत सहकार्य गर्न तयार रहेको बताउँदै कार्यकारी निर्देशक शर्माले एन्फो मार्फत यस्तै कार्यक्रम नभए पनि अन्य कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । कार्यक्रमको सञ्चालन वास टे«निङ अफिसर शोभा रानाले गर्नुभएको थियो ।


1736 पटक हेरिएको 

