एक खाल्डे चर्पीलाई धमाधम दुई खाल्डे बनाईदै

सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिका–१ नमुना बस्ती भुल्केकी सदस्य ललिता बि.क. लाई अहिले चर्पीको खाडल भरिए पछि कसरी सफा गर्ने भन्ने चिन्ता छैन, न त खाडलमा जम्मा भएको दिसा निकाल्नका लागि ट्यांकरलाई पैसा बुझाउनुपर्ने पिरलो नै । “घरमा दुई खाल्डे चर्पी छ, एउटा भरिएपछि अर्को खाल्डोमा दिसा जम्मा गर्न मिल्ने गरी बनाइएको छ” ललिता भन्नुहुन्छ, “दोस्रो खाल्डोमा दिसा जम्मा होउञ्जेल पहिलो खाल्डोमा जम्मा भएको दिसा कुहिएर मल बन्छ । निकालेर खेतबारीमा लगाउन पाइयो ।”

‘एकातिर चर्पी खाडलको दिसा निकाल्दा बाहिर चुहिएला भन्ने डर, अर्कोतिर खाडलमा जम्मा भएको दिसा खाली गर्न पनि ट्यांकरलाई पैसा तिर्नुपर्ने बोझ । भनेको समयमा नै गाउँमा ट्यांकर समेत कहाँ जान्छन् र ?’ तर आफ्नै चर्पीमा तयार भएको प्रांगारिक मलबाट तरकारी फलाउन थालेपछि यी सबै खाले समस्याबाट मुक्ति मिलेको भुल्के समुदाय सरसफाइ व्यवस्थापन समितिका सदस्य दशरथ बि.क.ले बताउनुभयो “मल बनाएर खेतबारीमा लगाउन पाएपछि फोहर पनि मोहरमा बदलिने ।” उहाँले भन्नुभयो ।

दिसाको उत्सर्जन देखि भण्डारण, निकास, ओसारपसार र अन्तिम विसर्जन वा पुनः प्रयोगसम्म त्यसले कुनै व्यक्ति वा वातावरणलाई हानी नगर्ने गरी व्यवस्थापन गरिएको अवस्थालाई विश्व स्वास्थ्य संगठनले सुरक्षित सरसफाइ भनी परिभाषित गरेको छ । अर्थात मानिसले गरेको दिसा कुनै पनि अवस्थामा र कुनै पनि स्थानमा फेरि मानिसको सम्पर्कसम्म नआउने अवस्था नै सुरक्षित सरसफाइ हो । “चर्पी निर्माणको समयमा खाडलमा दिसा सुरक्षित तरिकाले रहोस् भन्नका लागि सरसफाइ गुरुयोजनाले सुधारिएका चर्पीको मापदण्ड निर्धारण गरेको थियो, जस अनुसार चर्पीको खाडलमा रिङ, ढुंगा या इँटाको सुख्खा गाह्रो वा सेप्टिक टंकी भएको, दिसा जम्मा हुने खाडलमा झिंगा लगायतका कीटपतंक आवतजावत गर्न नमिल्ने गरी पक्की ढक्कन लगाइएको, वाटरसिल प्यान भएको र प्यानको सतह सिमेन्ट लगाएर पक्की भएको हुनुपर्ने प्रावधान थियो”, यू.एन. ह्याबिट्याटका सरसफाइ तथा स्वच्छता विश्लेषक मदनकुमार मल्ल भन्नुहुन्छ, “पूर्ण सरसफाइको चरणमा सुधारिएको सरसफाइ सुविधाले मात्र पुग्दैन, सुरक्षित सरसफाइ सुविधा हुनु आवश्यक छ ।”

सुरक्षित सरसफाइका लागि दिसाजन्य लेदोलाई दुई किसिमले व्यवस्थापन गर्न सकिन्छ ः दिसा उत्सर्जन हुने स्थानमा नै बिसर्जन गर्ने (तत्स्थान विसर्जन) र त्यसलाई प्रशोधन केन्द्रमा लगेर व्यवस्थापन । “प्रशोधन केन्द्रमा लगेर विसर्जन गर्दा खर्च पनि ठूलो लाग्ने र त्यसबाट घरधुरीले प्रत्यक्ष लाभ लिन नसक्ने भएकोले तत्स्थान व्यवस्थापन गर्नु नै उपयुक्त हुन्छ”, मल्ल भन्नुहुन्छ, “यसो गर्दा खाडलमा जम्मा भएको दिसा निकाल्दा लाग्ने पैसा बचत हुन्छ, र सुरक्षित खाडलमा दिसा कुहिसकेपछि मलको रुपमा खेतबारीमा प्रयोग गर्दा आर्थिक, वातावरणीय र पोषण सुरक्षा सबै दृष्टिले फाइदाजनक हुन्छ ।”

नेपालमा सुरक्षित सरसफाइको अवस्था

खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारीका अनुसार नेपालमा सुरक्षित चर्पीको अवस्थाको बारेमा अहिलेसम्म व्यापक रुपमा अध्ययन भएको छैन । सुरक्षित सरसफाइका लागि घरायसी चर्पीको अवस्थाको बारेमा विस्तृत तथ्यांक उपलब्ध नभए पनि ढल प्रणाली र दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु भने स्थानीय सरकारले समेत निर्माण गरिरहेका छन् । सदस्य सचिव श्रेष्ठका अनुसार काठमाडौ उपत्यकामा मात्र ४ सय किलोमिटर भन्दा बढी ढल प्रणाली उपलब्ध छ । यस बाहेक पनि पूर्वका विराटनगर, दमक, धनकुटाको हिले, भोजपुरदेखि पश्चिम कञ्चनपुरसम्म प्रशोधन सहितको ढल प्रणाली निर्माण भैरहेको छ ।

यसबाहेक दिसाजन्य लेदो व्यवस्थापनका लागि सरकारी, गैरसरकारी र बहुसरोकारवालाहरुको संयुक्त प्रयासमा प्रशोधन केन्द्रहरु निर्माण भैरहेका छन् । नेपालमा अहिले ६० भन्दा बढी लेदो प्रशोधन केन्द्र निर्माण भै सञ्चालनमा रहेको सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
घरायसी तहमा उपयुक्त प्रविधि सहितको दुई खाल्डे चर्पी, सेप्टिक टंकी भएको चर्पी, बायो ग्यास जडान गरिएका चर्पी र व्यवस्थित ढल प्रणालीमा जडान गरिएको चर्पीलाई ‘सुरक्षित सरसफाइ सुविधा’ मा गणना गरिन्छ । यसैगरी, सुरक्षित रुपमा खाडलमा रहेको दिसाजन्य लेदोलाई निकाल्ने, त्यसको सुरक्षित ओसारपसार र प्राविधिक एवम् वातावरणीय रुपमा उपयुक्त भएको प्रशोधन केन्द्रमा प्रशोधन गरी पुनःप्रयोग गरिएको अवस्थालाई समेत सुरक्षित सरसफाइ मानिएको छ ।

खुला दिसामुक्त अभियानका क्रममा साविकका वडा तथा गाविसहरुले एक तह माथिल्लो निकायमा कति चर्पी सुधारिएको स्तरका र कति सुरक्षित स्तरका छन् भन्ने कुराको वर्गीकृत तथ्यांक पेश गर्ने गरेको भए पनि त्यसलाई एकतृत गरेर विश्लेषण गर्ने काम हुन सकेको देखिदैन ।

यू.एन. ह्याबिट्याटका साझेदार संस्थाहरुले पूर्ण सरसफाइ कार्यक्रम थालनीको समयमा तराई मधेशका बारा, धनुषा, महोत्तरी, मोरङ, पर्सा र सर्लाही जिल्लाका १ लाख २४ हजार ३ सय ८२ घरधुरीमा गरेको सर्वेक्षण अनुसार ४६.७० प्रतिशत चर्पीहरु ‘सुरक्षित’ मापदण्डका रहेका छन् । कूल घरधुरीमध्ये ३.४४ प्रतिशत चर्पी बायोग्यास जडान गरिएका छन् । यसैगरी १९.०१ प्रतिशत चर्पी दुई खाल्डे र २४.१७ प्रतिशत चर्पीहरु सेप्टिक टंकी सहितका छन् । तराईका जिल्लाहरु मध्ये बारा र सर्लाहीमा बायोग्यासको प्रयोग अन्य जिल्लाको तुलनामा बढी छ ।


यसैगरी, दुई खाल्डे चर्पीहरु कूल चर्पीको १९.०१ प्रतिशत र सेप्टिक टंकी भएका चर्पीहरु २४.१७ प्रतिशत रहेका छन् । ग्रामीण क्षेत्रमा दुई खाल्डे चर्पी बनाउने दर बढी छ भने सहरी क्षेत्रमा सेप्टिक टंकीसहितका चर्पी बनाउने दर बढी छ ।

पहाडी जिल्ला नुवाकोटको विदुर नगरपालिकामा ७ हजार ५ सय ४० चर्पीको सर्वेक्षण गरिएकोमा ३५ प्रतिशत सेप्टिक टंकी सहितका चर्पीहरु रहेका छन् । यस्तै, ८.५७ प्रतिशत दुई खाल्डे, र ५०.४१ प्रतिशत एक खाल्डे चर्पी रहेका छन् ।  पहाडी जिल्ला बाजुराका दुई वटा स्थानीय तहका ६ हजार ६ सय ३५ घरधुरीमा गरिएको सर्वेक्षण अनुसार ६ हजार ५४ घरधुरीमा एक खाल्डे चर्पी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार