
धनुषा : धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना एवं अनुगमन निर्देशिकाहरु अनुमोदन गरेको छ । नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख बालेश्वर मण्डलको अध्यक्षतामा बसेको बैठकले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) २०७७, पूर्ण सरसफाइ अनुगमन निर्देशिका–२०७७, सरसफाइ नमुना समुदाय मार्गदर्शन–२०७७ र खाद्य स्वच्छता अनुगमन निर्देशिका–२०७७ अनुमोदन गरिएको हो।
धनुषाधाम नगरपालिकामा संचालित पूर्ण सरसफाइ अभियान कार्यक्रम अन्तर्गत Global Sanitation Fund/ UN-Habitat को आर्थिक र प्राविधिक सहयोग तथा समाज उत्थान युवा केन्द्र (सुयुक) धनुषाको सहजीकरणमा आवश्यक तथ्यांक संकलन, विश्लेषण, लेखन, ड्राफ्ट तयारीको कार्य गरेको थियो ।
सो ड्राफ्टमाथि पालिकाको कार्यदल समितिद्धारा आवश्यक सम्पादन तथा परिमार्जन लगायतका कार्य सम्पन्न भएपछि पालिकाको M-WASH-CC को बैठकले अनुमोदन गरेको हो।
बैठकले पालिकाको स्वच्छता योजना, अनुगमन निर्देशिका तथा नमुना समुदाय मार्गदर्शन पालिकामा लागु हुने गरी अनुमोदन गर्दै अगामी दिनमा आवश्यकता अनुसार संशोधन गर्दै जाने निर्णय समेत गरेको छ । बैठकमा पालिकाकी उप प्रमुख एंव M-WASH-CC का उपाध्यक्ष विद्यादेवी भुजेलले स्वच्छता योजना, अनुगमन निर्देशिका, नमुना समुदाय मार्गदर्शन र खाद्य स्वच्छता अनुगमन निर्देशिका अनुसारै नगरपालिकामा संचालित पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिने र पूर्ण सरसफाइका लक्ष्य प्राप्तिको यात्रामा अगाडि बढ्ने बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत एंव वास समितिका सदस्य सचिव गणेशराज कार्कीले सफा, स्वच्छ र समृद्ध नगर बनाउने कार्यमा वास प्लान महत्वपूर्ण दस्तावेज भएको बताउँदै नगरको समग्र विकासका लागि स्वच्छता योजना, नमुना समुदाय मार्गदर्शन तथा अनुगमन निर्देशिकालाई प्राथमिकतामा राखेर आफुहरुले कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै वडाअध्यक्ष एवं वास समितिका कार्यदल संयोजक ईन्द्र कुमार महतो, वडा अध्यक्षहरु विश्वनाथ यादव, प्रभुनारायण साह, राजकिशोर साह, परिक्षण यादव, संजिव यादव, सुक्रित महतो, पालिकाको स्वास्थ्य शाखा प्रमुख हरिनारायण साह, शिक्षा अधिकृत धिरेन्द्र कुमार साह, महिला विकास निरिक्षक सालिनी झा, सुयुकका कार्यकारी निर्देशक सुजित कुमार मण्डल, कार्यक्रम संयोजक विनोद महतो, पालिका संयोजक ललिता यादव, सहजकर्ताहरु भुपेन्द्र मण्डल, पुजा कुमारी कर्ण, नन्दभुषण दास लगायतको उपस्थिति रहेको थियो ।
धनुषा जिल्लामा पूर्ण सरसफाइ अभियान कार्यक्रम अन्तर्गत Global Sanitation Fund/ UN-Habitat को आर्थिक र प्राविधिक सहयोग तथा समाज उत्थान युवा केन्द्र (सुयुक) ले जिल्लाको तीन वटा पालिका धनुषाधाम नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिकामा अभियानको सहजीकरण गर्दै आएको छ । धनुषा जिल्लामै हालसम्म तीन वटै पालिकाले स्वच्छता योजना, अनुगमन निर्देशिका, नमुना समुदाय मार्गदर्शन र खाद्य स्वच्छता अनुगमन निर्देशिका अनुमोदन गरी लागु गरेको छ ।


1642 पटक हेरिएको 

