वाग्मती सफाइ महाअभियान ४ सयौं हप्तामा प्रवेश, सात ठाउँमा जनचेतना सहित सुन्दरीजल र मीनभवनमा विशेष कार्यक्रम

🔗
11
Shares

काठमाडौ : वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम सात स्थानमा जनचेतना सहित सुन्दरीजल र मीनभवनमा विशेष गरी मनाइने भएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियानले शनिबार स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नाराका साथ विविध कार्यक्रम गरी ४०० औँ हप्ताको कार्यक्रम गर्न लागेको हो ।

समितिले साँगाभञ्ज्याङ, नागढुङ्गा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका कीर्तिपुर, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन र सुन्दरीजलमा समेत जनचेतनामूलक अभियान सहित सफाइ गर्ने कार्यक्रम राखेको छ । विसं २०७० जेठ ५ गते पशुपति क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु भएको थियो ।

महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले स्वयंसेवी कामका रुपमा वाग्मती सफाइलाई अघि बढाइएको बताउनुभयो । महाअभियान शुरु हुँदा मुख्यसचिवको भूमिकामा रहनुभएका पौडेलले प्रशासनिक क्षेत्रको उच्च पदलाई व्यक्तिगत स्वार्थका लागि नभई उपत्यकाको सभ्यताको स्रोत सफा बनाउने अभियानमा लगाएको बताउनुभयो ।

यस्तै अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले भूमि समस्या समाधान गर्न गठन भएको आयोगसँग समन्वय गरी उपत्यकाका नदी किनारमा अव्यवस्थित बसोवास गरिरहेकालाई व्यवस्थित गरिने बताउनुभयो । नदी किनारमा मापदण्डविपरीत बसेकालाई ठाउँ छोड्न समितिले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ ।

वाग्मतीको मुहानस्थल गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकामा जग्गा एकीकरण भइरहेकाले त्यही कार्यक्रममा ढल व्यवस्थापन योजनालाई समेत समावेश गर्न नगरपालिकासँग समन्वयात्मक बैठक भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा सुन्दरीजलमा माछाका भुरासमेत छाडिने समितिले जनाएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यका बाहिरका प्रमुख शहर एवं केही नदीमा समेत सफाइ अभियान शुरु भएको छ । हाल देशभर गरी १०६ भन्दा बढी स्थानमा सफाइ अभियान जारी रहेको महाअभियानले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार