अन्तर्राष्ट्रिय पुरस्कारको रकम फोहोरमैला व्यवस्थापनमा लगानी

रसुवा : रिसोर्सेस हिमालय फाउण्डेसनले गत वर्ष जितेको अन्तर्राष्ट्रिय पुरस्कारको रकम रसुवा जिल्लाको फोहोरमैला व्यवस्थापन तथा पर्यावरण मैत्री पर्यटनमा लगानी गरेको छ । संस्थाले उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाइ अभियानका लागि नेपाली करिब ३० लाख रुपैयाँ खर्च गरिएको हो ।संस्थाले गत वर्ष युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनमा रसुवा जिल्लाको उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाई अभियान सम्बन्धी पेश गरेको प्रस्तावना उत्कृष्ट भएको थियो ।

वर्षेनि युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनले विश्वभरबाट विभिन्न जंगली जनावर, सरसफाई अभियान, वातावरण संरक्षण सम्बन्धी प्रस्तावनाका लागि आह्वान गर्ने गरेको छ । यसै आधारमा विश्वभरका विभिन्न विधा अन्तर्गत रसुवाको उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाइ अभियान सम्बन्धी प्रस्तावना उत्कृष्ट भएको थियो । फाउण्डेसनले पेश गरेको कार्यक्रमको प्रस्तावना राम्रो देखेर युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनको बोर्ड बैठकले अवार्ड दिएको थियो ।

फाउण्डेसनको सहयोग र गोसाईकुण्ड गाउँपालिकाले थालेको हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाइ अभियान वडा नम्बर ५ र ६ मा सञ्चालन गरिएको छ । पहिलो चरणमा पर्यटकीय क्षेत्रहरूको सरसफाइ, होटल व्यवसायी तथा विभिन्न समूहका व्यक्तिहरूलाई अभिमुखीकरण र तीनवटा विद्यालयमा विद्यार्थी तथा विषयगत शिक्षकलाई अभिमुखीकरण सञ्चालन गरिएको छ । धुन्चे, स्याफ्रु तथा ठूलोस्याफ्रुको बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।

सरसफाइ अभियानमा १ सय ६ जना सहभागि भएका थिए । त्यसमा १७ जना स्वयंसेवक काठमाडौंबाट सरसफाइ गर्न आएका थिए । स्थानीय संघसंस्था सक्षम सोसाइटी नेपाल, ल्याकोस, अकिआश, मानेकोर सोसाइटी नेपाल, आमा समूह लगायतले सरसफाईमा सहयोग गरेको फिल्ड अफिसर हरिबोल आचार्यले बताउनुभयो ।

धुन्चे, स्याफ्रु र ठूलोभार्कुको विद्यालयमा सञ्चालन गरिएको विद्यार्थी तथा विषयगत शिक्षक अभिमुखीकरणमा शिक्षक र विद्यार्थी गरी १ सय ४ जना सहभागी थिए । दोस्रो चरणको अभियानमा वातवरणमैत्री रूपले फोहोरमैला जलाउनका लागि इन्सिनेरेटर निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।

त्यस्तै, लाङटाङ पदमार्ग र गोसाईकुण्ड पदमार्गमा ५० वटा डष्टबिन राख्‍ने तयारी भइरहेको संस्थाले जनाएको छ । फोहोरमैला व्यवस्थापन तथा पर्यावरण मैत्री पर्यटन अभियानबाट जिल्लामा धेरै भन्दा धेरै पर्यटक भित्राउन सकिने गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । पर्यटन प्रर्वद्धन गर्नको लागि ठूलोस्याफ्रु क्षेत्रमा पदमार्ग निर्माण, मचान निर्माण, रेडपाण्डा ट्रेल निर्माणको काम भइरहेको उहाँले बताउनुभयो। गोसाईकुण्ड तथा लाङटाङ पदमार्गबाट हरेक महिना फोहोर संकलन गर्ने गरी कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार