सरसफाइ प्रबर्द्वनमा समर्पणको कथा : खुला दिसामुक्त अभियानले जोडिदियो घर घडेरी, पूर्ण सरसफाइ अभियानले गरायो व्यवसाय विस्तार


विर्तामोड (झापा) : झापा जिल्लामा खुल्ला दिसामु्क्त अभियान थालनी भएसँगै विर्तामोड–३ रतनबारीका पुष्प ओलीको दैनिकी फेरिन थाल्यो । मुस्किलले महिनामा २०/३० वटा सिमेण्ट रिङ बिक्री हुने ओलीको रिङ उद्योगमा मानिसको भिड देखिन थाल्यो, कामदार थपिए, मिस्त्री थपिए ।

“पहिले पनि खुल्ला दिसामु्क्तको बारेमा कहिलेकाहीं सुन्ने गरेको थिएँ, जिल्ला नै खुल्ला दिसामुक्त हुन्छ, तपाईंले धेरै रिङ बनाउनुपर्छ भन्थे”, ओलीले भन्नुभयो, “तर, व्यवसाय सुरु गरेको पाँच वर्षसम्म कहिल्यै रिङको माग बढेको थिएन ।”

थालनीमा पुष्प रिङ लैजाने मानिस खोज्न घरघरमा पुग्नुहुन्थ्यो । “नेताहरु चुनावमा घर घरमा जान्छन् भोट माग्न, तर म कुन घरमा चर्पी छैन भन्ने खोजीमा जान्थें”, पुष्प सम्झनुहुन्छ “मुस्किलले महिनामा पाँच सात घरमा रिङको माग हुन्थ्यो ।”

२०७४ बैशाखमा विर्तामोडमा आयोजना गरिएको खुल्ला दिसामु्क्त अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा भाग लिने मौका मिल्यो पुष्पलाई । अभिमुखीकरण कार्यक्रममा सहभागी भैसकेपछि भने उहाँमा आशा पलाउन थाल्यो । अब त रिङको बिक्री हुन्छ जस्तो लाग्न थाल्यो । समयसीमा नै तोकेर जिल्लामा विभिन्न संघसंस्थाहरुले खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्न थाले । निर्वाचित जनप्रतिनिधिले अगुवाइ गरेर अभियान अगाडि बढ्न थालेपछि पुष्प ओलीको व्यस्तता पनि बढ्न थाल्यो ।

फेरिएको दैनिकी

“पहिले पहिले दुई चार घरबाट अर्डर आउँदा पनि खुशी भइन्थ्यो, अभियानपछि अवस्था फेरियो”, पुष्पले खुशी हुँदै सुनाउनुभयो, “अभियान पछि त विर्तामोड नगरपालिकाबाट मात्र होइन छिमकी र टाढा टाढाका स्थानीय तहबाट समेत रिङको माग हुन थाल्यो ।”

रिङको माग बढेसँगै उनले कामदार र मिस्त्री थप्नुभयो । विदेश गएका छोरा घरमा आएपछि फेरि विदेश जाने मन गर्नुभएन । बाबु छोरा भएर व्यवसाय सम्हाल्न थाले । “विदेशको भन्दा राम्रो कमाइ यहीं हुन थालेपछि किन विदेश जानुपर्‍यो र ?”, पुष्पले भन्नुभयो, “पहिले जागिरको खोजी गर्ने छोरा पनि अब रोजगारदाता बन्यो, उसले व्यवसाय सम्हाल्न थाल्यो, मैले बाहिर सम्पर्क गर्ने र रिङ लैजाने काम गर्न थालें ।”

छिमेकी स्थानीय तह मात्र होइन, धेरै टाढा रहेको कमल गाउँपालिकाबाट समेत रिङको माग हुन थालेपछि उहाँले श्रमिक र मिस्त्री समेत थप गर्नुभयो । आफ्नै घरको आँगनमा रिङ उत्पादन गर्ने पुष्पले माग भएकै ठाउँमा रिङ उत्पादन गर्न थाल्नुभयो । आफूसँग जगेडा रहेका सबै रिङ कमल गाउँपालिकामा बिक्री गरी एकै पटकको बिक्रीबाट आएको पैसाले उहाँले सामान ढुवानी गर्ने मिनी ट्रक नै किन्नुभयो ।


विर्तामोडमा जोडिएको साविकको गरामनीमा आफ्नै घरमा उत्पादन गरेको रिङ पुर्‍याउनुभयो भने मेचीनगर नगरपालिकामा रिङको माग बढेपछि माग भएकै ठाउँमा रिङ बनाउन थाल्नुभयो । “माग त अरु धेरै ठाउँबाट पनि आएको थियो, तर उत्पादन नै गर्न सकिएन”, उहाँले सुनाउनुभयो, “गुणस्तर पनि त काम गर्नुपर्‍यो नि ।”

घरघडेरी समेत जोडियो

विर्तामोड, रतनबारीमा पुर्ख्यौली घरमा बस्दै आएका पुष्पले चर्पी बनाउने रिङ र स्ल्याब बिक्रीबाट भएको आम्दानीले मेचीनगर नगरपालिकामा घडेरी किन्नुभएको छ । “अब घर बनाउने तर्खर गर्दैछु”, खुशीका साथ सुनाउनुभयो, “त्यता पनि व्यवसाय विस्तार गर्छु ।”

जागिर गरेको भए दैनिकी चले पनि यति प्रगति गर्न नसकिने उहाँको बुझाइ छ । “व्यवसाय आफ्नो हातमा छ, जति पनि विस्तार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कम्तिमा छोराले पनि अब उद्यमशीलता के हो भन्ने बुझ्न जान्न पायो, अब यो व्यवसाय उसले सम्हाल्न सक्छ, म अर्कोतिर व्यवसाय गर्छु ।”

व्यवसायमा विविधीकरणको थालनी

जिल्ला नै खुल्ला दिसामुक्त घोषणा भैसकेपछि रिङ मात्र उत्पादन गरेर व्यवसाय धानिएला त ?  “पक्कै धानिदैन, अब व्यवसायलाई विस्तार र विविधीकरण गर्दैछु”, ओली सुनाउनुहुन्छ, “पहिलो चरणमा रिङको साथमा गमला र सिमेण्टका हावादार झ्याल बनाइरहेको छु । पूर्ण सरसफाइलाई केन्द्रित गरेर केही थप सामग्री उत्पादन गर्ने सोंच बनाएको छु ।”

नगरपालिका र जिल्ला नै खुल्ला दिसामुक्त भएपछि पनि चर्पी बनाउनका लागि रिङ लैजाने क्रम रोकिएको छैन । “पहिले एक खाल्डे चर्पी बनाएकाहरुले पनि पूर्ण सरसफाइ अभियान सुरु भएपछि दुई खाल्डे बनाउन थाले । घर भिन्न हुनेहरुले घरभन्दा पहिले चर्पी बनाउन थाले”, उहाँले भन्नुभयो, “पहिले संयुक्त चर्पी प्रयोग गर्नेहरुले पनि अहिले अलग्गै चर्पीै बनाउन थालेकोले पनि रिङको माग यथावत नै छ ।”


पहिले सामान्य व्यवसायको रुपमा रहेको उनको सिमेण्ट रिङ बनाउने काम अब विस्तारित व्यवसायको रुप लिइसकेको छ । “स्पष्ट लक्ष्य सहितको खुल्ला दिसामुक्त अभियान थालनी नभएको भए म अहिले पनि दुई चार रिङ बनाएरै दिन बिताइरहेको हुन्थें होला”, पुष्प भन्नुहुन्छ, “अब उद्योगीको पहिचान बनेको छ । यसलाई जोगाउन र अझै अघि बढ्नका लागि पूर्ण सरसफाइ अभियानमा सँगसँगै लाग्छु ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार