सरसफाइमा साझेदार निकायको भूमिका : स्थानीय तहको लागि मार्गदर्शक

 257 पटक हेरिएको

काठमाडौ : २०६८ मा सरसफाइ गुरुयोजना जारी भएपछि सरसफाइको क्षेत्रमा देशमा आँधीबेहरी नै आयो । देशका कुनाकाप्चामा पनि चर्पी बने । चर्पीमै दिसापिसाब गर्ने बानी भएपछि चर्पी राम्रो चाहिंदो रहेछ भन्ने बानीको विकास पनि सँगसँगै हुँदै गएको छ र चर्पीको स्तरोन्नति पनि भइरहेका छन् ।


यी सबै प्रक्रियामा खासगरी स्थानीय सरकारलाई विकास साझेदार निकायले मार्गदर्शकको रुपमा काम गरेको बताउनुहुन्छ बाराको विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी । खुला दिसामुक्त अभियानको दौरानमा आफूलाई सक्रिय रुपमा उभ्याउँदै आउनुभएका प्रशासकीय अधिकृत केशरी भन्नुहुन्छ ‘‘विकास साझेदार निकायले देश बाहिरका कुराहरु पनि लिएर आउनुहुन्छ, त्यहाँ भएका अभ्यासहरु र त्यसलाई यहाँको माटो, संस्कृति र नेपाली जनजीवनमा मिल्ने तरिकाले ढाल्नुहुन्छ र कार्यान्वयनमा ल्याउनुहुन्छ । त्यो कुरा स्थानीय तहहरुलाई थाहा हुँदैन ।

त्यसैले सरसफाइको मामिलामा हाम्रा लागि विकास साझेदारले बाटो देखाउनुभएको छ ।’’ प्रमुख प्रशासकीय अधिकृत सुनिल केसरीको सक्रियतामै जिल्लाको पर्सौनी गाउँपालिका तथा करैयामाइ गाउँपालिका समेत खुला दिसामुक्त घोषणा भएका थिए ।

अहिले देश नै पूर्ण सरसफाइको यात्रामा अग्रसर छ । बाराको विभिन्न गाउँपालिका तथा नगरपालिकामा पनि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेका छन् । पूर्ण सरसफाइ अभियानकै क्रममा सञ्चालित कार्यक्रमहरु पनि विकास साझेदार निकायकै कारण सञ्चालन गर्न सम्भव भएको र यसबाट गाउँको शोभा नै परिवर्तन हुने र स्वस्थपूर्वक बाँच्न पाउने मानिसको अधिकार प्राप्तिमा सघाउ पुर्‍याउने भनाइ छ सुवर्ण गाउँपालिका बाराका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तावको ।

उहाँ भन्नुहुन्छ ‘‘अन्तर्राष्ट्रिय जगतमा प्रयोगमा आएका विकास प्रक्रियाका विभिन्न मोडेलहरु उहाँहरुलाई थाहा हुन्छ, त्यसमा स्थानीय बासिन्दालाई कसरी परिचालन गर्ने र कसरी लक्ष्य प्राप्ति गर्ने हो उहाँहरुलाई नै थाहा हुने भएकाले हामीले आवश्यक वातावरण बनाउने हो, सहकार्य गर्ने हो, स्थानीय सरकार र विकास साझेदार निकायको सहकार्यबाट सरसफाइ क्षेत्रमा राम्रो उपलब्धी भएको छ’’ उहाँले भन्नुभयो ।

यू.एन. ह्याबिट्याटको आर्थिक सहयोग तथा विभिन्न संघसंस्थाको साझेदारीमा देशको १६ जिल्लाका ६४ वटा स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (खासस्व) योजना निर्माण भएका छन् । खासस्व योजना निर्माणको लागि साझेदार निकायबाट प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुँदा भोलिका दिनमा खानेपानी र सरसफाइ क्षेत्रमा लगानीको सुनिश्चितता भएको बटेश्वर गाउँपालिकाका धनुषाका अध्यक्ष डम्बर बहादुर क्षेत्रीले बताउनुभयो ।

‘‘स्थानीय सरकारले नै वास प्लान बनाउनु परेको भए यत्ति चाँडो बन्ने पनि थिएन, साथै वास प्लान निर्माणका लागि लाग्ने स्थानीय सरकारको बजेट अरु विकास निर्माणमा लगानी गर्न पनि त पायो, त्यसैले विकास साझेदार निकाय भनेको हाम्रो सहयोगी हात हो, मार्गदर्शक हो । उहाँहरु हाम्रो साथमा भए मात्र हामीले योजनाहरुमा पनि लगानी बाँड्न पाउँछौं’’, अध्यक्ष क्षेत्रीले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार