ठोस फोहोरमैला, फोहोरपानी र दिसाजन्य लेदो व्यवस्थापन, नगरपालिकाको प्राथमिकता : मेयर श्रेष्ठ

 308 पटक हेरिएको

काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले ठोस फोहोरमैला, फोहोरपानी र दिसाजन्य लेदो व्यवस्थापनलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । ललितपुरमा आयोजित लैगिकता तथा स्याहार कार्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा मेयर श्रेष्ठले दिगो विकास लक्ष्य ६ ले राखेका उद्देश्यहरु पूरा गर्नका लागि नगरपालिकाले विभिन्न सरसफाइका क्रियाकलापहरु सञ्चालन गरिरहेको बताउनुभयो । ‘हामीले ठोस फोहोरमैला, फोहोरपानी र दिसाजन्य लेदो व्यवस्थापनको कामलाई प्राथमिकता दिएर फोहोरमैला व्यवस्थापनका कामहरु गरिरहेका छौं । नगरपालिकाको यो काम नगरपालिकाबासीको स्वस्थ जीवनशैली र उत्पादकत्व बृद्धि सँग जोडिएको छ’ उहाँले भन्नुभयो ।


सिल सेफ्टी ट्याङ्की नहुँदा पानीका स्रोतहरु दुषित भई हैजा, झाडापखाला, आउँ जस्ता रोगहरु लाग्ने भएकाले नयाँ घर निर्माण गर्दा सिल सेफ्टी ट्याङ्की अनिवार्य बनाउनुपर्ने प्रावधान ल्याएको बताउनुभयो । उहाँले यस कार्यले भविश्यमा नगरबासीको जनस्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव ल्याउने विश्वास व्यक्त गर्नुभयो । महालक्ष्मी नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन गर्नका लागि देशमै पहिलो पटक मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियम जारी गरेको स्मरण गराउँदै मेयर श्रेष्ठले विनियमको कार्यान्वयनबाट नगरबासीको जनस्वास्थ्य रक्षाका लागि ठूलो सहयोग पुग्ने बताउनुभयो । महालक्ष्मी नगरपालिकाले २०७६ साल फागुन २८ गतेको नगर सभाको बैठकले मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियम स्वीकृत गरेको थियो ।

अन्तरक्रियामा उपमेयर निर्मला थापाले घरायसी कामको बोझ महिलामा बढी रहेको र यसलाई घटाउनका लागि पुरुषले समेत सघाउनुपर्ने बताउनुभयो । प्रायः घरको सरसफाइ तथा पकाउने, खुवाउने जस्ता कामहरु महिलाले नै गर्दै आएकाले त्यसलाई तत्काल परिवर्तन पनि गर्न नसक्ने भएकाले महिलामा कार्य बोझ भएको उहाँको भनाइ थियो । उपमेयर थापाले सामाजिक संस्कारले पनि घरायसी कामहरु महिलाको काँधमा थोपरिएको बताउनुभयो । आफू त्यही संस्कारबाट हुर्केर आएका हुनाले तत्काल ती कामहरुलाई पुरुषको काँधमा हाल्न नमिल्ने र कतिपय कामहरु महिला आफैले त्याग्न नसकेर पनि कामको बोझ लिईरहनु परेको बताउनुभयो ।

कोभिडले महिलामा कार्यबोझ :  प्रतिवेदन

अन्तरक्रियामा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का सिनियर प्रोग्राम अफिसर श्रृजना कार्कीले स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सञ्चालित ९ वटा जिल्लामा गरिएको अध्ययनले कोभिडका कारण महिलामा कार्यबोझ बढेको पाइएको प्रतिवेदन सार्वजनिक गर्नुभयो । उहाँका अनुसार कुल ३५ हजार २४५ घरपरिवारमा गरिएको अध्ययनले कोभिडका कारण महिलाहरुमा घरेलु हिंसा बढेको, कार्यभार थपिएको र शहरको तुलनामा गाउँमा अझ समस्या बढेको पाईएको छ ।

पुरुषले पनि घरको काममा सघाएमा, बिरामी हुँदा हेरचाह गर्ने, भाँडा माझ्ने, फिल्टरमा पानी भर्ने, पानी ओसार्ने जस्ता काममा सहयोग गरेमा कार्यभार कम हुने समेत सुझाव दिएको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।

यस्तै एन्फोका सिनियर प्रोगाम अफिसर सिर्जना शाक्यले स्वच्छता सम्बन्धी व्यवहार परिवर्तनका लागि महालक्ष्मी नगरपालिकाको वडा नं. १ देखि १० सम्मका विभिन्न क्लष्टरमा विविध कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी गराउनुभयो । उहाँले आमाहरुको माध्यमबाट आफ्ना परिवारका सदस्यहरुको स्वच्छता व्यवहार परिवर्तनका लागि ‘आमाका चमत्कारी हातहरु’ नाम दिई अभियान सञ्चालन गरिएको जानकारी गराउनुभयो । उहाँले खाना छुनु अघि, घरबाहिर गएपछि घरमा पस्नु अघि, दिसाजन्य वस्तुको सम्पर्क पछि र हाँच्छु गरेपछि अनिवार्य हात धुनुपर्ने कुरालाई विभिन्न माध्यमबाट व्यक्ति व्यक्तिसम्म पु¥याएको बताउनुभयो ।

उहाँले महालक्ष्मी नगरपालिकाको १०४२ घरपरिवार सम्म विभिन्न माध्यमबाट हात धुने सन्देशहरु प्रवाह गरिएको र स्कुल, सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थामा समेत हात धुने स्टेशनहरु निर्माण गरी हात धुने सेवामा जनसाधारणको पहुँच स्थापित गराएको जानकारी गराउनुभयो । यस्तै कोभिडका बिषयमा फैलाएको अफवाह न्यूनीकरणका लागि विभिन्न सूचना, शिक्षा तथा सञ्चार सामग्रीहरु निर्माण गरी प्रदर्शन गरिएको जानकारी गराउनुभयो ।

महिलाहरुको कार्यबोझलाई कम गर्नका लागि विद्युतीय केट्ली वितरणको काम पनि भईरहेको र हालसम्म वडा नं. ८, ९ र १० मा वितरण गरिसकेको उहाँले जानकारी गराउनुभयो । अन्तरक्रियामा वडा नं. १ देखि १० सम्मकै वडाध्यक्षहरु एवं अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार