सरसफाइ कोषले बनायो स्वरोजगार

 320 पटक हेरिएको

बर्दिया : चर्पी बनाउनका लागि पैसा खर्च गर्नुपर्दा सुरु सुरुमा दुःख मानेका बर्दियाको बासगढीवासीले अहिले समूहमा जम्मा भएको बचत रकमबाट ऋण लिएर व्यवसाय थालनी गरेका छन् । वडा नं.४ का रामप्रसाद थारुले सरसफाइ कोषमा जम्मा भएको रकमबाट किराना पसल व्यवस्थापन गर्नुभएको छ । बाँसगढीकै सबिना थारुले चिया पसल सञ्चालन गर्नुभएको छ भने गाउँका धेरै जनाले अन्य व्यवसायमूलक कार्यमा लगानी गरेका छन् ।

नमूना समुदायले व्यवस्थापन गरेको सरसफाइ कोषमा यू.एन. ह्याबिट्याटले पाँच हजार रुपैयाँ वीऊ पूँजी जम्मा गरेको थियो । सुरुमा यो रकम सानो लागेपनि अहिले सबैले कोष बढाउँदै लगेका छन् । “वीऊले त अरु पूँजी बढाउँदै लग्यो”, शान्तिपुर जमुनी सरसफाइ नमूना टोल अध्यक्ष मनु बि.सी. भन्नुहुन्छ, “अहिले सदस्यहरुलाई आयआर्जनका लागि ऋण दिन सक्ने अवस्थामा पुगेका छौं । ”

सरसफाइ कोषमा मासिक बचतबाट प्राप्त रकमका साथै दान पेटिका, जरिवाना, सांस्कृतिक कार्यक्रम भ्रमण शुल्क लगायतबाट उठेको रकम पनि जम्मा गरिन्छ । ती रकम सरसफाइमा खर्च गर्नुको अलावा सामाजिक कामका लागि आवश्यक पर्ने टेन्ट, कुर्सी, भाँडाकुडा, साउण्ड सिस्टम किनेको जीपुर समुदायका अध्यक्ष खुमी थापा मगरले बताउनुभयो । उहाँका अनुसार ती सामग्री भाडामा दिएर पनि संकलन भएको रकम सरसफाइ कोषमै जम्मा गर्ने गरिएको छ ।

कोषमा जम्मा भएको रकमबाट समुदायको दिगो सरसफाइका लागि चाहिने सामग्रीहरु वोरा, कुचो÷झाडु लगायत किन्न र सरसफाइमा उत्कृष्ट घरपरिवारलाई पुरस्कृत समेत गर्दै आएको छ । हालै बासगढी गाउँपालिकाको वडा नं. ४ र ५ मिलेर बनेको लक्ष्मपुर नमुना समुदायका तीन जनालाई पुरस्कृत गरिएको छ ।

खेर जाने बस्तुबाट बन्छन्, पाहुनाका लागि चिनो


बर्दियाको वढैयाताल र गेरुवा गाँउपालिकाका फुलवारी, पहाडीपुर, जनकनगर, लोहागढ, लगायत समुदायमा पुग्दा अहिले चाउचाउ तथा विस्कुटका खोलहरु देखिदैनन् । अघिपछि यत्रतत्र छरिएका त्यस्ता प्लाष्टिकजन्य वस्तुहरुबाट सजावटका सामग्रीहरु बनाएर घरमा सजिएको अवस्थामा भेटिन्छन् । चाउचाउ तथा विस्कुटका खोलबाट स्थानीयले हाते पंखा, ढकली, डेल्वा, बेर्रा, ढकिया, पनछोप्नी, फेरुवा, लोला, चिरैया, चकटी, झोला बनाउँछन् । गाउँमा जाने पाहुनालाई स्वागत गर्न बजारका प्लास्टिकका मालाको सट्टा पातबाट हरिया कलात्मक माला बनाउँछन् ।

प्लास्टिक र खोललाई खेर जानै नदिएपछि फोहर हुने कुरै भएन । यसमाथि पनि सबै घरधुरीले कलात्मक बस्तु बनाउन सिकेका छन् । थारुहरुको रैथाने सीपलाई सरसफाइ अभियानले अझै परिस्कृत बन्ने मौका दिएको छ । उत्पादन भएका बस्तुहरु नमूना समुदायले बनाएका संकलन केन्द्रमा लगिन्छन् । “खेर जाने बस्तुबाट अहिले मैले पनि खेलौना बनाउन थालेकी छु”, जनकनगरकी सुखमाया थारुले सुनाउनुभयो ।

स्थानीय विन्दु परियारले रजनीगन्धाको खोल जम्मा गरेर बनाएका झोला जनकपुरदेखि सरसफाइ सिक्न बर्दिया पुगेका पाहुनाले औधी मन पराए । बढैयातालकी सुजनी थारु त यस्ता सामान बनाउन माहिर मानिनुहुन्छ । “खेर जाने बस्तुबाट सामान बनाउन थालेपछि सफाइ र आयआर्जन दुबै बढेको छ”, सुजनी थारु भन्नुहुन्छ, “पाहुनाका लागि आकर्षक कोशेली समेत ।”

एउटै बाँस चिरेर बनाइएका डस्टबिन बर्दियाको ब्रान्ड नै बनेको छ । सबैजसो घरले ठोस फोहर जम्मा गर्नका लागि यस्तै डस्टबिन राख्ने गरेका छन् । आफ्नो घरमा बाँस र बुन्ने मान्छे नहुनेहरुले छिमेकीहरुबाट किनेर ल्याउनाले रैथाने सामग्री र सीप छिमेकमै बिक्री हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार