वास प्लानको सुरुको ड्राफ्ट सिस्टम बाटै बन्छ : प्रमुख, ओझा

 745 पटक हेरिएको


एनवास एप्लिकेसनलाई पहिले चाहिं राष्ट्रिय सूचना व्यवस्थापन (एन.एम.आई) प्रणालीको रुपमा मात्र विकास गरेका थियौं, अहिले चाहिं प्लानिङ सिस्टमको रुपमा विकास गरेका छौं । यसबाट खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) को सुरुको ड्राफ्ट सिस्टमबाटै बन्छ । जसले वास प्लानमा काम गरिरहनुभएको छ, मन्त्रालय र विभागले उहाँहरुको क्षमता अभिृद्धिका लागि भर्चुअल प्लेटफार्मबाट अनलाइन तालिमहरु चलाईरहेका छौं । दुई चार वटा एजेन्सीको तालिमहरु सम्पन्न गरिसकेका छौं । सँगसँगै स्थानीय सरकारहरु, नेपाल नगरपालिका संघ सँग पनि एनवासबाट वास प्लान बनाउने कामलाई प्राथमिकतामा पार्न छलफल चलाई रहेका छौं ।

एनवास प्रणालीबाट वास प्लान बनाउँदा समुदायको खानेपानी आपूर्ति तथा सरसफाइ प्रणाली, स्कुल, स्वास्थ्य संस्था र सार्वजनिक स्थानको सरसफाइको वर्तमान अवस्था पत्ता लाग्छ । अहिलेको अवस्थाबाट सेवाको गुणस्तर कहाँ पुर्‍याउनु पर्ने हो ? कहाँ कस्तो सुविधां पुगेको छैन ? यसका लागि स्थानीय सरकारलाई कति पैसा आवश्यक पर्छ भन्ने मोटामोटी स्टिमेट पनि त्यसैले दिन्छ । वास प्लानको एउटा मस्यौदा सिस्टमले नै स्वचालित तरिकाले तयार पार्छ ।

जस्तो सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्न कहाँ कहाँ के गर्नुपर्छ ? त्यो लक्ष्य हासिल गर्न कति पैसा चाहिन्छ ? त्यो सबै सिस्टमले नै निकाल्छ । त्यही सिस्टम प्रयोग गरेर स्थानीय सरकारले योजनाको प्राथमिकता निर्धारण गर्न सक्नुहुन्छ । आवश्यक लगानी मध्ये कहाँबाट कति जुटाउने हो त्यो पनि सिस्टमबाटै थाहा हुन्छ । स्थानीय तहले निर्माण गरेको वास प्लान केन्द्रसँग पनि जोडिने भएकाले यसले राष्ट्रिय स्तरको वास प्लान बनाउन पनि सजिलो हुन्छ ।

हालसम्म १७८ वटा स्थानीय तहमा डाटा संकलनको प्रक्रिया सुरुवात भईसकेको छ । डाटा संकलनको काम सक्ने वित्तिकै सिस्टमले नै वास प्लानको ड्राफ्ट अटोमेटिक जेनेरेट गर्छ । चालीस/पचास वटा स्थानीय तहको चाहिं पहिले एक चरणको काम सम्पन्न भएर मोटामोटी ड्राफ्ट बनिसकेको छ ।
सन् २०२१ भित्रमा सबै स्थानीय तहमा डाटा संकलनको काम सुरु गराईसक्ने र २०२२ को मध्य सम्ममा वास प्लान निर्माण गरी सबै स्थानीय तहले प्रमाणित गराईसक्ने मन्त्रालय तथा विभागको योजना छ ।

खानेपानी तथा ढल व्यवस्थाप विभाग, राष्ट्रिय सूचना व्यवस्थापन परियोजना एवं संस्थागत सहयोग तथा सेवा परामर्श इकाई प्रमुख डा. रजित ओझासँग वास खबरले गरेको कुराकानीमा आधारित । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार