काठमाडौ : महिनावारी स्वास्थ्य, सरसफाइ तथा स्वच्छता सम्बन्धी भ्रम र अन्धविश्वासहरुलाई चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सजना गर्नका लागि विद्यालयलाई प्रवेश विन्दुको रुपमा लिइन्छ । यसैलाई आत्मसाथ गर्दै स्थानीय सरकारहरुले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि कार्यान्वयनमा ल्याइरहेका छन । प्रदेश सरकारहरुले समेत यस वर्षदेखि ‘विद्यालय नर्स’ कार्यक्रमलाई प्राथमिकताका साथ समेटेका छन् । सेनिटरी प्याड कार्यविधि अनुरुप स्थानीय तहहरुले विद्यालयहरुलाई स्यानिटरी प्याड उपलब्ध गराइरहेका छन् भने केही विद्यालयले पाठ्यक्रमका अलावा स्थानीय पाठ्यक्रम र व्यवहारिक शिक्षाको रुपमा महिनावारी सरसफाइ तथा स्वच्छतालाई समेत समावेश गरिरहेका छन् ।

“कक्षा ५ देखि ८ को पाठ्यक्रममा चाहिं विशेष गरी बालिकाहरुलाई महिनावारीका लागि पूर्व तयारी गराउने, महिनावारीको समयमा आउन सक्ने समस्या र समाधानको उपाय जस्ता बिषयलाई समेटेका छौं”, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत सुमन सिलवालको भनाइ छ, “पाँचमा सामान्य सरसफाइका कुराहरु, त्यसपछि क्रमिक रुपमा महिनावारी सम्बन्धी अन्य व्यवस्थापकीय कुराहरु, महिनावारी सम्बन्धी भ्रमहरु, अफ्ठ्याराहरु, किशोरकिशोरी, युवायुवती, परिवारको भूमिका जस्ता बिषयलाई समेट्दै क्रमिक रुपमा कक्षा ८ मा चाहिं प्याड व्यवस्थापन गर्ने कुरा, प्याड निर्माण गर्ने कुराहरुलाई पनि समावेश गरिएको छ ।”
यसबाहेक किशोरी केन्द्रित र विद्यालय केन्द्रित कार्यक्रमहरुले समेत महिनावारी स्वच्छतालाई समेटेका छन् । विद्यालयमा किशोरीहरुका लागि ‘आराम कक्ष’ बनाउने कामको थालनी भएको छ, भने पुराना शौचालयहरुलाई मर्मत सम्भार तथा स्तरउन्नति गरी महिनावारीमैत्री बनाउने कामको समेत थालनी भएको छ । महिनावारी उमेर समूहका छात्रा रहेका सबै विद्यालयले एक चक्रका लागि किशोरीलाई १६ वटासम्म सेनिटरी प्याड विद्यालयबाट नै उपलब्ध गराइरहेका छन् । यसबाहेक स्थानीय तहको वार्षिक कार्यक्रममा सामाजिक विकास, शिक्षा, महिला सशक्तीकरण लगायतका शीर्षकमा सेनिटरी प्याड निर्माण तालिम, अभिमुखीकरण, विभिन्न अन्तरक्रिया क्रियाकलाप समेटिएका छन् । विद्यालय नर्स कार्यक्रमले किशोरीहरुलाई महिनावारी, प्रजनन् स्वास्थ्य लगायतका विषयमा पर्याप्त जानकारी पाउने अवसर दिएको छ ।
सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिले सार्वजनिक विद्यालयलाई सम्बोधन गरेको भए पनि संस्थागत विद्यालयहरुलाई भने समेट्न सकेको छैन । सार्वजनिक विद्यालयलाई निःशूल्क सेनिटरी प्याड उपलब्ध गराउने र संस्थागतलाई नगराउने भएपनि, न्यूनतम मापदण्ड, सुविधा र विद्यालयको दायित्व अन्तर्गत कार्यविधिले समेट्नैपर्ने नारी विकास संघका टिमलिडर हिमांशु यादवको राय छ । “सबै संस्थागत÷निजी विद्यालय सुविधा सम्पन्न र त्यहाँ अध्ययन गर्ने छात्राहरु आर्थिक रुपमा सक्षम छन् भन्ने छैन”, उहाँको भनाइ छ, “टहरोजस्ता विद्यालयमा अध्ययनरत ‘छाक टार्न गाह्रो हुने’ वर्गका किशोरीहरु विद्यालय तहका कार्यक्रममा राम्ररी समेटिन सकेका छैनन् ।”
समुदाय र विद्यालयमा सँगसँगै अभियान
विद्यालय र समुदाय दुबै तहबाट सँगसँगै अभियान सञ्चालन गरेर महिनावारी स्वच्छताको गन्तव्य भेट्नुपर्ने राय यस क्षेत्रका विज्ञहरुको छ । “महिनावारीका बारेमा व्याप्त अन्धविश्वास हटाउनका लागि विद्यालय तहमा प्रभावकारी शैक्षिक कार्यक्रमका साथै महिलामैत्री संरचना बनाउनुपर्छ”, राष्ट्रिय महिनावारी सञ्जालका अध्यक्ष गुणराज श्रेष्ठ भन्नुहुन्छ, “समुदाय तहमा सेनिटरी प्याडको आपूर्ति पक्षलाई सहज बनाउँदै महिनावारीलाई महिला अधिकारको विषयको रुपमा उठान गरेर सामाजिक अभियान सञ्चालन गर्नुपर्छ ।”
विद्यालयलाई सिकाइको केन्द्र, स्वास्थ्य संस्थालाई सेवा लिने महिलामैत्री स्थल र समुदायलाई असल अभ्यासको नमूना स्थलको रुपमा विकास गर्नका लागि सहजीकरण भैरहेको बताउनुहुन्छ यू.एन. ह्याबिट्याटका सरसफाइ तथा स्वच्छता विश्लेषक मदनकुमार मल्ल । “समस्या समाधानका लागि बहुसरोकारको विषयलाई बहुक्षेत्रबाट सम्बोधन गरिनुपर्छ”, मल्लको भनाइ छ, “जसको सवाल, उसैको नेतृत्वको अवधारणा अनुरुप समुदाय र विद्यालय दुबै तहमा महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहको गठन, वार्षिक योजना तयारी र कार्यान्वयनमा सहजीकरण गरिरहेका छौं ।”
महिनावारी स्वच्छता प्रवद्र्धनका लागि विद्यालयमा संरचना वा सुविधा निर्माण, अभ्यास र प्रवद्र्धन तीन वटै काममा सहयोग गरिरहेको बताउनुहुन्छ बारा जिल्ला संयोजक उमा सिंखडा । “विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिले तोकेको मापदण्ड अनुसार सरसफाइ सुविधा निर्माणका लागि पैरवी र सहजीकरण गरिरहेका छौं”, सिंखडा भन्नुहुन्छ, “सम्बन्धित स्थानीय तहलाई महिनावारी स्वच्छता व्यवस्थापनका लागि आवश्यक नीति निर्माणमा समेत सहयोग गरिरहेका छौं ।”


1509 पटक हेरिएको 

