बाटो बाटोमै हात धुनुपर्ने अवस्था र मास्क लगाउने तरिकाबारे जानकारी

 1153 पटक हेरिएको

ललितपुर : ललितपुरको ग्वार्को–इमाडोल सडकमा मास्क बिनै हिडिरहेका ललितपुर इमाडोलका नवराज ढुंगेल त्यत्तिबेला झस्किनुभयो, जत्तिबेला अपरिचित व्यक्तिले तपाईको मास्क खोइ भनेर प्रश्न गर्नुभयो । उहाँले मास्क नलगाउनुको विभिन्न बहाना बनाउँदै हुनुहुन्थ्यो । तर नजिकै रहेको हातको स्वच्छता र कोभिड १९ सम्बन्धी जानकारी दिन राखिएको मोबाइल बुथमा लगेर मास्कको महत्व, लगाउने तरिका र हात धुनुपर्ने अवस्थाहरुको बारेमा बताएपछि उहाँ त्यहीबाट मास्क लगाएर आफ्नो बाटो लाग्नुभयो । उहाँले अबदेखि मास्कको उचित प्रयोग गर्ने बाचा समेत गर्नुभयो ।

इमाडोलकै हिर बहादुर श्रेष्ठ थोत्रे मास्क नाक मुन्तिर झुण्ड्याएर लगाएको अवस्थामा हुनुहुन्थ्यो । उहाँलाई पनि हात धुने मोबाइल बुथमा ल्याएर हात धुनुपर्ने अवस्थाहरु, मास्कको सही प्रयोग गर्ने तरिका र भीडभाडमा जाँदा हुने संक्रमणको जोखिमबारे जानकारी गराएपछि थोत्रे मास्क विसर्जन गरेर नयाँ मास्क लगाएर फर्किनुभयो ।


झापा घर भई इमाडोलमा बस्दै आएकी निर्मला बस्नेत औषधी किन्न घरबाहिर निस्किएको अवस्थामा भेटिनुभयो । उहाँले पनि मास्क लगाउनु भएको थिएन । मास्कको सही तरिकाले प्रयोग गर्ने बिषयमा जानकारी पाएपछि उहाँले भन्नुभयो ‘हामीले मास्क त लगाउँथ्यौं, तर यसको सही तरिकाले लगाएका रहेनछौं, आजदेखि सही तरिकाले लगाउन जान्यौं ।’

स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना अन्तर्गत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले पश्चिम पाइला मार्फत ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं. १ देखि १० सम्म हात धुने बिषयमा जानकारी गराउन मोबाइल बुथ सञ्चालन गरिरहेको छ । कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने स्वच्छता व्यवहारबारे मोबाइल बुथबाट जानकारी गराउने गरिएको पश्चिम पाइलाका स्वयंसेवक अनिषा प्रजापतिले बताउनुभयो । ‘हामीले मास्क नलगाई हिडिरहेकाहरुलाई मास्क लगाउनुपर्ने अवस्था र लगाउने तरिकाबारे जानकारी गराई मास्क पनि वितरण गर्ने गरेका छौं ।’ प्रजापतिले भन्नुभयो ।


पश्चिम पाइलाले मास्कको प्रयोगलाई बढावा दिन काठमाडौमा मास्कमाण्डु अभियान सञ्चालन गरिरहेको छ । मास्कमाण्डु अभियान अन्तर्गत नै महालक्ष्मी नगरपालिकाको १० वटै वडामा पनि हातको स्वच्छता र व्यवहार परिवर्तन सम्बन्धी मोबाइल बुथ सञ्चालन गरिएको र यो निक्कै प्रभावकारी भएको पश्चिम पाइलाकी स्वयंसेवक सृजना श्रेष्ठले बताउनुभयो । ‘हामीले यस अभियान अन्तर्गत मास्क लगाउने तरिकाबारे जानकारी गराउनुका साथै हात धुने तरिका, स्यानिटाइजर लगाउने तरिका र सही तरिकाले मास्क लगाउँदा हुने फाइदाका बारेमा पनि जानकारी गराउने गरेका छौं’ अभियानका अर्का स्वयंसेवक आशिष महर्जनले भन्नुभयो ।

मोबाइल बुथ ठड्याएपछि बाटो हिडडुल गर्ने मानिसहरु पनि के रहेछ भनेर चासो दिएर हेर्न आउने गरेको र उनीहरुको आवश्यकता बुझेर सोही अनुसार स्वच्छता व्यवहार सम्बन्धी जानकारी प्रदान गर्ने गरिएको स्वयंसेवकहरुको भनाइ छ । सेवाग्राहीहरुलाई हातको स्वच्छता सम्बन्धी जानकारीका साथै हात धुने तरिका, मास्क लगाउने तरिका लगायत बिषय समेटेर तयार पारिएको पर्चा पम्प्लेट समेत उपलब्ध गराईएको थियो ।

 

मोबाइल बुथ अति प्रभावकारी


हातको स्वच्छता तथा कोभिड १९ बाट जोगिन अपनाउनुपर्ने उपायको बिषयमा जानकारी गराउन सुरुमा महालक्ष्मी नगरपालिकाको वडा १ मा मोबाइल बुथ सञ्चालन गरिएको थियो । वडा नं. १ को कार्यालय अगाडि राखिएको मोबाइल बुथबाट वडा कार्यालयको सेवा लिन आएकाहरुले समेत सेवा लिएका थिए । पश्चिम पाइलाकी स्वयंसेवक सजनी श्रेष्ठ भन्नुहुन्छ ‘हामी पहिलो दिनको कामबाटै उत्साहित भयौं, हाम्रो अभियानलाई धेरैले रुचाउनुभयो । मास्क लगाउने तरिका तथा हात धुनुपर्ने अवस्था र तरिकाका बिषयमा अझै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने रहेछ भन्ने पनि थाहा पायौं’ श्रेष्ठले भन्नुभयो ।

माघ ४ गते देखि सुरु गरिएको अभियानको दोस्रो दिन इमाडोलको भगवती मन्दिर नजिकै बुथ राखिएको थियो । वडा नं. ३ मा राखिएको बुथमा पनि सेवाग्राहीको कमी थिएन । मोबाइल बुथबाट विद्यार्थी, बटुवा, समाजसेवी, विभिन्न पेशाकर्मीले समेत सेवा लिएको स्वयंसेवक आकाश प्रसाद यादवले बताउनुभयो । ‘पहिलो दिनको सिकाईबाट हामीले कस्ता व्यक्तिलाई फोकस गर्नुपर्छ भन्ने पनि थाहा पायौं’ आकाशको अनुभव छ ।

हातको स्वच्छता तथा कोभिड १९ सम्बन्धीको मोबाइल बुथ सञ्चालनको आज अन्तिम दिन हो । एन्फोले पश्चिम पाइला मार्फत माघ ४ गतेदेखि यो अभियान सञ्चालन गरेको थियो ।

कहाँ कहिले सञ्चालन गरिएको थियो ?


माघ ४ गते महालक्ष्मी नगरपालिकाको वडा नं. १ को कार्यालय अगाडि

माघ ५ गते वडा नं. ३, इमाडोलको भगवती मन्दिर नजिकै

माघ ६ गते वडा नं. ४, महालक्ष्मी नगरपालिकाको कार्यालय नजिकै, कमलपोखरीमा ।

माघ ७ गते वडा नंं ५, वडा नं. ५ को कार्यालय नजिकै तीनकुने ।

माघ ८ गते वडा नं. ७, चाँगाथली

माघ ९ गते वडा नं. ६ सानागाउँ चोक नजिकै, बुद्धपोखरी ।

माघ ११ गते वडा नं. ८ वडा नं. ८ को कार्यालय, महालक्ष्मी मन्दिर नजिक

माघ १२ गते वडा नं. ९ लामाटार चोक एनआइसी बैंक नजिकै ।

माघ १३ गते १० नं. वडा, लाकुरीभन्ज्याङ टुरिस्ट एरिया

माघ १४ गते २ नं. वडा, यसी टोल, किस्ट हस्पिटल जाने बाटोमा ।


वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले अक्सफाम लगायत संस्थाको सहयोगमा ९ जिल्लामा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ । एन्फोले महालक्ष्मी नगरपालिकाको वडा नं.१ देखि १० सम्मका विभिन्न क्लष्टरमा विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको एन्फोका सिनियर प्रोगाम अफिसर सिर्जना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार आमाहरुको माध्यमबाट आफ्ना परिवारका सदस्यहरुको स्वच्छता व्यवहार परिवर्तनका लागि ‘आमाका चमत्कारी हातहरु’ नाम दिई अभियान सञ्चालन गरिरहेको छ ।

कार्यक्रम अन्तर्गत महालक्ष्मी नगरपालिकाको १०४२ घरपरिवार सम्म विभिन्न माध्यमबाट हात धुने सन्देशहरु प्रवाह गरिएको छ । यस्तै स्कुल, सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थामा समेत हात धुने स्टेशनहरु निर्माण गरी हात धुने सेवामा जनसाधारणको पहुँच स्थापित गरिएको छ । कोभिडका बिषयमा फैलाएको अफवाह न्यूनीकरणका लागि विभिन्न सूचना, शिक्षा तथा सञ्चार सामग्रीहरु समेत निर्माण गरी प्रदर्शन गरिएको सिनियर प्रोगाम अफिसर शाक्यले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार