सहरी फोहोरलाई प्रारम्भिक प्रशोधन गरिने, भारतबाट सेग्रिगेटर मेसिन ल्याईदै

 1959 पटक हेरिएको

धरान : सुनसरीको धरान उपमहानगरपालिकाले शहरी फोहोरलाई प्रारम्भिक प्रशोधन गर्ने भएको छ । कुहिने फोहोर र नकुहिने फोहोर छुट्याउने सेग्रिगेटर मेसिन एक साताभित्रमा इन्डियाबाट छुट्ने र आगामी फागुन १५ गतेबाट फोहोरको प्रारम्भिक प्रशोधन गरिने धरान उपमहानगरका प्रमुख तिलक राईले बताउनुभयो ।

यस सम्बन्धी उपमहानगर प्रमुख राई, प्रशासन शाखा प्रमुख विदुर खनाल, वातावरण शाखा प्रमुख भेषराज घिमिरे र वातावरण निरीक्षक राजु चौहान, भेन्चर वेस्ट टु इनर्जी प्रालिका निर्देशक विपुलराज पाण्डे र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र प्रदेश एकका इञ्जिनियर सुजन पौडेल बीच छलफल भएको थियो ।

भारतबाट सेग्रिगेटर मेसिन आइपुगेपछि फोहोरलाई प्रारम्भिक प्रशोधन गरिनेछ । धरानको अव्यवस्थित फोहोर प्रयोग गरी उर्जा उत्पादन गर्ने उद्देश्यले फोहोरलाई प्रशोधन गरिन लागेको धरान उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख भेषराज घिमिरेले जानकारी दिनुभयो । यसअघि २०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जी प्रालि बीच त्रिपक्षीय सम्झौता भएको थियो । जस अनुसार धरान–६ को पानवारीमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको निर्माण भईरहेको छ ।

फोहोरलाई मोहरको रूपमा परिणत गर्न तथा सफा, स्वच्छ र सुन्दर सहर बनाउन सम्झौता अनुसार काम भइरहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र प्रदेश एकका इञ्जिनियर सुजन पौडेल बताउनुभयो । उहाँका अनुसार अहिले फिडिङको काम भइरहेको छ भने सिभिल संरचनाको कार्य पूर्ण रूपमा सम्पन्न भएको छ ।

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जी कम्पनीका अनुसार प्रशोधन केन्द्रमा सहरी फोहोरलाई प्रशोधन गरेर ग्याँस उत्पादन गर्ने र अर्गानिक मल उत्पादन गरिनेछ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र निर्माणको लागि नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २० प्रतिशत र विश्व बैंकको २० प्रतिशत अनुदान छ भने भेन्चर वेस्ट टु इनर्जी प्रालिको ६० प्रतिशत लगानी रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार