काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता योजना (वाश प्लान) बनाउन विभिन्न स्थानीय तहले जनशक्ति फिल्डमा खटाएका छन् । डाटा संकलक तथा सर्वेक्षकलाई फिल्डमा खटाउनु अघि तालिमको व्यवस्था गरी निपूण बनाए पनि कतिपय डाटा संकलन गर्ने क्रममा समस्या आउन सक्छ । डाटा भर्ने क्रममा आउन सक्ने सम्भावित समस्या हल गर्न/गराउन खानेपानी तथा ढल व्यवस्थापन विभागले युट्यूब च्यालन सञ्चालनमा ल्याएको छ ।
डाटा संकलकले एन वाश एपमा डाटा भर्ने तरिकाबारे जानकारी गराई वाश प्लान निर्माण प्रक्रियामा सघाउने उद्देश्यले विभागले Insight into NWASH MIS नामक च्यालन सञ्चालनमा ल्याएको हो । यो च्यानलबाट प्रयोगकर्ताले एनवाश एपको प्रयोग गर्ने तरिका र डाटा संकलक तथा सर्वेक्षकले डाटा संकलन गर्ने तरिकाबारे जानकारी हासिल गर्न सकिने खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय सूचना व्यवथापन परियोजना एवं संस्थागत सहयोग तथा सेवा परामर्श इकाईका प्रमुख डा. रजित ओझाले बताउनुभयो । ‘एनवास एप डाउनलोड गरी इन्स्टल गर्ने देखि यसमा डाटाहरु कसरी इन्ट्री गर्ने भन्ने कुरा सबै अपलोड गर्दै जानेछौं ।’ प्रमुख ओझाले भन्नुभयो ‘यसले सम्बन्धित डाटा संकलक तथा सर्वेक्षकलाई मात्र नभई सिङ्गो वाश प्लान निर्माण प्रक्रियालाई नै सघाउनेछ।’
हेर्नुहोस् एन वाश चलाउने तरिका सिकाउने च्यानल :
सर्वेक्षक तथा डाटा संकलकले ध्यान दिनुपर्ने कुरा :
खासस्व योजना तर्जुमाका लागि खटिने सर्वेक्षक/गणक/सहजकर्ताले सामाजिक/ श्रोत नक्शांकन (Social Mapping/Resource Mapping) एवम् आवश्यकता पहिचान गर्ने कार्यमा सबै समुदाय तथा तप्काका जनताहरुको सहभागिता तथा संलग्नताको लागि प्रोत्साहित गर्नुपर्दछ । सामाजिक आंकलन कार्यका दौरानमा समुदायहरुलाई स्वच्छता एवम् सरसफाइ प्रवद्र्धन, जलवायु परिवर्तन प्रतिरोधी उपायहरु, विपद व्यवस्थापन, लैङ्गिक समानता आदिका लागि सुसूचित एवम् अभिप्रेरित समेत गर्नुपर्दछ ।
प्राविधिक सर्वेक्षण
१. सामाजिक/श्रोत नक्शांकनबाट प्राप्त सम्बन्धित क्षेत्रभित्रका विद्यमान खासस्व आयोजनाहरुको भ्रमण गरी हरेक संरचना र पाइप लाइनमा उपस्थित भई NWASH MIS को Inbuilt Apps द्वारा सूचना/तथ्याङ्क/प्रमाण र जानकारीहरु संकलन गर्नुपर्दछ ।
२. खानेपानी सेवा नपुगेका ठाउँ तथा समुदायहरुमा सो स्थानमा गई GPS Location प्रविष्टि (Entry) गराई समुदायको छलफलद्वारा यथार्थ जनसंख्या सम्बन्धी तथ्याङ्कहरु संकलन गर्नुपर्दछ । सो स्थान र समुदायमा खानेपानी सेवा किन उपलब्ध हुन नसकेको हो सो पहिचान गरी संभाव्य श्रोत र विकल्पहरुको बारेमा छलफल गर्नुपर्छ त्यसपछि संभाव्य श्रोत र विकल्प स्थलहरु भ्रमण गरी भू–सान्दर्भिक सूचना तथा तथ्याङ्कहरु (Georeferenced Data) संकलन गर्ने कार्य गर्नुपर्दछ । पूर्व संभाव्यता (Pre-feasibility) स्तरका तथ्याङ्क र मोटामोटी लागत पनि त्यसबाट हिसाव गर्न सकिने हुनु आवश्यक छ ।
यस प्रक्रियाको लागि मुख्यत वडा स्तरीय छलफल र समुदाय स्तरीय छलफल गर्न जरुरी छ ।
वडा स्तरीय छलफलः सर्वेक्षणको लागि सेवा प्रदायक संस्थाको टीम सबैभन्दा पहिले वडा स्तरीय भेटघाट, छलफल र परामर्शमा केन्द्रीत हुनुपर्दछ । वडा कार्यालय र वडा जन प्रतिनिधिहरुसँग त्यस वडाको खासस्व अवस्था बारेमा सूचना प्राप्त गर्नुपर्दछ । विद्यमान सेवा प्रणली वा आयोजनाहरु कहाँ कहाँ छन्, कस्तो अवस्थामा छन्, कहाँ कहाँ सेवा पुग्न नसकेका समुदाय र ठाउँहरु छन्, संभावित विकल्पहरु के हुन सक्छन् यी सबै जानकारीहरु वडा स्तरमा प्राप्त गरी नक्शांकन पनि गर्नुपर्छ जसबाट सेवा प्रदायक संस्थाका सर्वेक्षकहरुलाई काम गर्न सहज र व्यवस्थित हुन सक्दछ ।
वडा स्तरीय छलफल सँगसँगै वा लगत्तै अर्को जरुरी परामर्श र छलफल समुदाय स्तरमा गर्नुपर्दछ ।


1632 पटक हेरिएको 

