स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको अनुगमन

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ फूलबारी टोलमा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाको प्रभावबारे अनुगमन गरिएको छ । महालक्ष्मी नगरपालिका, वडा कार्यालय, स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाका पदाधिकारीहरु सहितको टोलीले फूलबारी टोलको अनुगमन गरेको हो ।


दलित समुदायको बाहुल्यता रहेको फूलबारी टोलको घरघरमै पुगेर अनुगमन गरेपछि ८ नं. वडाका अध्यक्ष विश्वराज श्रेष्ठले परियोजना मार्फत सञ्चालित क्रियाकलापहरुले हात धुने बानीमा साँच्चिकै परिवर्तन ल्याएको पाएको बताउनुभयो । ‘यहाँ दलित समुदायको बसोबास छ, उहाँहरु जुत्ता सिलाउने, झोला सिलाउने काम गर्नुहुन्छ, पहिले पहिले जुत्ता सिलाएकै हातले खाना खानुहुन्थ्यो, अहिले त घर बाहिर गएर फर्केपछि साबुन पानीले मिचीमिची हात धुन थाल्नु भएको रहेछ, यो साँच्चिकै ठूलो परिवर्तन हो’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।


महालक्ष्मी नगरपालिकाको वातावरणीय तथा विपद व्यवस्थापन शाखाका इञ्जिनियर प्रशान्त सिंह थापाले स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाले हात धुने बानीको विकास गर्न सघाउ पुर्‍याएको पाएको बताउनुभयो । समुदायका लागि प्रदान गरिएको स्वच्छता सामग्रीहरुको समेत राम्रो सदुपयोग भएको र मानिसहरुमा स्वच्छता सम्बन्धी व्यवहार परिवर्तनमा परियोनाले सघाउ पुर्‍याएको पाईएको उहाँको भनाइ छ ।

अनुगमन टोलीले घरघरमै पुगेर घरमुली तथा परिवारका सदस्यहरु सँग समेत छलफल तथा अन्तरक्रिया गरेको थियो । अन्तरक्रियाका क्रममा परियोजना मार्फत प्राप्त भएको हात धुने बाल्टिन, हात धुने साबुन तथा मास्कले कोरोनाबाट जोगिन मद्दत पुगेको स्थानीय बासिन्दाले बताए ।


परियोजना मार्फत प्राप्त भएको हात धुने बाल्टिन घरको गेटैमा राखेको र घरमा पस्नु अघि साबुन पानीले हात धोएर मात्र पस्ने गरेको फूलबारी टोलकी सुमना बिसुङ्खेले बताउनुभयो । बाल्टिन पाउनु अघि जगले पानी सार्दा जगको पिंधमा भएको फोहोर पानीमा मिसिने र संक्रमण हुने सम्भावना हात धुने बाल्टिन पाएपछि हटेको बताउनुभयो । ‘अहिले त एक पटक बाल्टिन पूरै भरिए पछि हात मात्र धुँदा त दुई चार दिन नै पुग्छ । हातले जग छोइरहनु पनि परेन, जसले गर्दा लोटा वा जगमा साबुन लत्पतिने पनि भएन ।’ उहाँले भन्नुभयो ।

हात धुने बानीमा परिवर्तन ल्याउन वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले ललितपुरको महालक्ष्मी नगरपालिकाका सबै वडामा स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले एकल महिला, बृद्धबृद्धा, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिको घरमा विद्युतीय केट्ली समेत प्रदान गरिएको छ ।


परियोजना मार्फत नगरपालिकाको वडा नं. ८ मा मात्र ११७ घरमा बाल्टिन तथा ६६ वटा विद्युतीय केट्ली वितरण गरिएको छ । ती मध्ये फूलबारी टोलमा मात्र ८१ वटा हात धुने बाल्टिन र ४९ घरमा विद्युतीय केट्ली वितरण गरिएको र एन्फोकी असिस्टेन्ट हेल्थ प्रमोसन अफिसर ऋतु शर्माले बताउनुभयो । स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना मार्च महिनाको अन्त्यसँगै सकिदैछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार