काठमाडौ : चर्पीको सेफ्टिक ट्याङ्की भरिएपछि त्यसभित्रको दिसाजन्य लेदो कहाँ पठाउने ? कसरी खाली गर्ने र कहाँ लगेर बिसर्जन गर्ने भन्ने बिषय घरधनीको मात्र नभई नगरपालिकाहरुका लागि पनि टाउको दुखाइको बिषय बनेको छ । सेफ्टिक ट्याङ्की खाली गराउने ट्याङ्कर सेवा उपलब्ध हुने शहरी इलाकामा ट्याङ्कर बोलाएर सेवा शुल्क तिरेपछि सेफ्टिक ट्याङ्की त खाली गराउँछन् तर उक्त दिसाजन्य लेदो कहाँ लगेर बिसर्जन गरिन्छ ? केही थाहा हुँदैन ।
घरघरको सेफ्टिक ट्याङ्कीबाट निकालिएको दिसाजन्य लेदो व्यवस्थापन गर्ने कुनै निश्चित स्थान नहुँदा वातावरणीय प्रदुषण र मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । दिसाजन्य लेदो प्रशोधन केन्द्रको निश्चित स्थानको अभावमा ट्याङ्कर व्यवसायीहरुले समेत आफ्नो व्यवसाय निर्धक्क तरिकाले सञ्चालन गर्न पाएका छैनन् भने उनीहरुले जथाभावी विसर्जन गरिदिँदा वातावरण प्रदुषण भईरहेको छ ।
तर यसको पनि उत्तम विकल्प छ । ठाउँ ठाउँमा दिसाजन्य लेदो प्रशोधन केन्द्र बनाउने र सेफ्टिक ट्याङ्कीमा भरिएको दिसाजन्य लेदो खाली गरेर प्रशोधन केन्द्रमा हाल्ने । प्रशोधन केन्द्रमा उक्त दिसाजन्य लेदो प्रशोधन भएपछि यसबाट खाना पकाउन बायोग्याँस, बालीनालीका लागि कम्पोष्ट मल र सिँचाईका लागि पानी प्राप्त हुन्छ ।
हो, ललितपुरको महालक्ष्मी नगरपालिका, लुभु स्थित निर्मित दिसाजन्य लेदो प्रशोधन केन्द्र यस्तै प्रयोजनका लागि बनाइएको हो । यो नमुनाको रुपमा देशकै एकमात्र सफल दिसाजन्य लेदो प्रशोधन केन्द्र भएको केन्द्रका केयर टेकर सूर्य प्रसाद घिमिरे बताउनुहुन्छ ।
बिस्तृतमा हेरौं यो भिडियो :
यसरी प्रशोधन गरिन्छ दिसाजन्य लेदो
१. सेफ्टिक ट्याङ्की खाली गर्ने
दिसाजन्य लेदोले सेफ्टिक ट्याङ्की भरिएपछि निजी ट्याङ्कर व्यवसायीहरुले खाली गरेर ट्याकर मार्फत दिसाजन्य लेदो प्रशोधन केन्द्र लुभुमा ल्याईन्छ । दिसाजन्य लेदो प्रशोधन केन्द्रमा भएको कर्मचारी र ट्याङ्कर चालकहरु बीच कसले कहिले ल्याउने भन्ने कुरा अगाडि नै निधो गरिसकेका हुन्छन् । लुभुमा भएको प्रशोधन केन्द्रको क्षमता .६ घनमिटर प्रति हप्ता अर्थात हप्ताको दुई ट्याङ्कर मात्र हो ।
२.स्क्रिनिङ चेम्बरमा प्रवेश
ट्याङ्करमा ल्याएको दिसाजन्य लेदोलाई पाइपको माध्यमबाट सुरुमा स्क्रिनिङ च्याम्बरमा पठाईन्छ । स्क्रिनिङ च्याम्बरमा दिसाजन्य लेदोसँग मिसिएर आएका लेदो बाहेकका बाहिरी वस्तुहरु जस्तै : गुट्खा तथा खैनीको खोल, चुईगमका खोल, स्यानिटरी प्याड जस्ता विकारहरु छानिने काम हुन्छ । प्रशोधन केन्द्रका केयर टेकर सूर्य प्रसाद घिमिरे भन्नुहुन्छ ‘दिसाजन्य लेदोमा धेरै बिकारहरु मिसिएर आएको हुन्छ, ट्याङ्करवालाले ल्याएको दिसाजन्य लेदोबाट यी बिकारहरु हटाउने काम स्क्रिनिङ च्याम्बरबाट हुन्छ ।’
३. फिडिङ ट्याङ्कमा थिग्रयाउने
स्क्रिनिङ च्याम्बरबाट बिकारहरु छानिएपछि दिसाजन्य लेदो फिडिङ ट्याङ्कमा जम्मा हुन्छ । जहाँ ३ देखि ४ घण्टासम्म थिग्रयाउन दिनुपर्छ । ३ देखि ४ घण्टा समय थिग्र्याउन दिएपछि लेदोजत्ति पिंधमा र तरल पदार्थ (पानी) जत्ति माथि रहन्छ । अर्थात पानी र लेदो छुट्टिन्छ ।
४. पानी र लेदोका बेग्लाबेग्लै बाटो
पानी र लेदो छुट्टिएपछि त्यहाँ बनाएको संरचना मार्फत पानीलाई एनारोबिक बाफल रियाक्टर (एभिआर) र एनारोबिक फिल्टर (एएफ) मा पठाईन्छ भने दिसाजन्य लेदो बायोग्यास डाइजेष्टरमा पठाइन्छ । बायोग्यास डाइजेष्टरबाटै बायोग्यास उत्पादन हुन्छ । जब नयाँ दिसाजन्य लेदो बायोग्यास डाइजेष्टरमा प्रवेश हुन्छ, पुरानो लेदो आफै धकेलिएर अर्को डाइजेष्टरमा प्रवेश हुन्छ ।
५. स्टेवलाईजेसन ट्याङ्कमा पठाउने
बायोग्यास निकालेर निश्क्रिय भईसकेका दिसाजन्य लेदोलाई स्टेब्लाइजेसन ट्याङ्कीमा पठाइन्छ । स्टेब्लाइजेसन ट्याङ्कीमा ३ वटा चेम्बरहरु हुन्छन् । । प्रशोधन केन्द्रका केयर टेकर घिमिरेका अनुसार त्यसको अन्तिमको चेम्बर भरिएपछि भल्व खोलेर ड्रइङ बेटमा पठाइन्छ । ड्रइङ बेटमा पठाएको लेदो सुकेपछि बालीनालीका लागि मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

६.फोहोर पानीको एकीकृत भेट
फिडिङ ट्याङ्कीमा पानी र लेदो छुट्टिएपछि एनारोबिक बाफल रियाक्टर (एभिआर) र एनारोबिक फिल्टर (एएफ) मा पठाएको पानीसँगै अब स्टेब्लाइजेसन ट्याङ्कीमा जम्मा भएको लेदोमा बाँकी रहेको पानीको भाग पनि एनारोबिक बाफल रियाक्टर (एभिआर) र एनारोबिक फिल्टर (एएफ) मै जान्छ । यसमा केही बाष्पीकरण भएर उडेर जान्छ भने बाँकी पानी एभिआर र एएफमा जम्मा हुन्छ ।
७. प्लान्टेड ग्राबेल फिल्टर (पिजिएफ) मा प्रशोधन
एनारोबिक बाफल रियाक्टर (एभिआर) र एनारोबिक फिल्टर (एएफ) मा जम्मा भएको पानी अब प्लान्टेड ग्राबेल फिल्टर (पिजिएफ) मा पठाइन्छ । यो खण्डमा जमिनको विभिन्न सतहमा गिट्टी तथा ग्राभेल बिछ्याईको हुन्छ भने नर्कट रोपिएको हुन्छ । त्यहाँ प्राकृतिक रुपमै दिसाजन्य पानी प्रशोाधन हुन्छ ।
८. कलेक्सन ट्याङ्कमा संकलन
यसरी प्रशोधन भएको पानी अन्त्यमा कलेक्सन ट्याङ्कमा जम्मा गरिन्छ । उक्त पानी सिँचाईका लागि प्रयोग गर्न सकिन्छ । यदि सिँचाईका लागि पानीको अभाव नभए विभिन्न चरणमा प्रशोधन भईसकेकाले खोला तथा नदीमा पठाउन पनि सकिन्छ ।
९. दिसाजन्य लेदोको पुनः प्रयोग चक्र पूरा
शौचालयको सेप्टिक ट्याङ्कीमा जम्मा भएको दिसा यसरी प्रशोधन गरी पुनः प्रयोग गर्न सकिन्छ । यसरी आफ्नै दिसालाई प्रशोधन गरी बायोग्यास मार्फत खाना पकाउने, बालीनालीमा मलको रुपमा प्रयोग गर्ने र सिँचाईका लागि प्रयोग गर्ने । अब भन्नुहोस् त खेर जाने ठाउँ कतै छ ? तर यसका लागि सरकारले निजी क्षेत्रसँग समेत मिलेर यस्ता प्रशोधन केन्द्रहरु ठाउँ ठाउँमा बनाउनुपर्ने विज्ञहरु बताउँछन् ।

यो दिसाजन्य लेदो प्रशोधन केन्द्र महालक्ष्मी नगरपालिका, शालिग्राम बालगृह, सि.डि.डि. सोसाइटी, वातावरण र जनस्वास्थ्य संस्था एन्फो तथा बोर्डाको सहकार्यमा २०७२ साल चैत्रमा निर्माण गरिएको हो । २०७२ वैशाख १२ गतेको भूकम्प पश्चात ललितपुर जिल्लामा निर्मित आपतकालीन अस्थायी र अन्य शौचालयबाट निस्किने दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनका लागि बनाएको प्रशोधन केन्द्र अहिले देशभरिकै नगरपालिकाहरुको लागि सिकाई केन्द्र बनेको छ । जसको किर्तिपुर नगरपालिकाका जनप्रतिनिधीहरु र कर्मचारीहरुले समेत अवलोकन गरेका छन् । समुदायद्धारा व्यवस्थापन गरिएको सरसफाइ प्रणालीको बारेमा स्थलगत भ्रमण तथा अन्तर्क्रिया मार्फत साझा बुझाइको विकास गरी असल अभ्यासलाइ आ आफ्नो वडामा अनुसरण गर्न प्रेरित गर्ने उद्देश्यले नगरपालिकाले अवलोकन भ्रमणको आयोजना गरिएको थियो ।

वाटर एड नेपालले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको साझेदारीमा ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका र सिरहाको गोलबजार नगरपालिकामा स्यानिटेशन पोलिसी एण्ड फाइनान्सिङ परियोजना सञ्चालन गरिरहेको छ । दिसाजन्य लेदो व्यवस्थापनको प्रविधि एवं शहरव्यापी समावेशी सरसफाइको महत्वबारे विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको परियोजनाले यस सम्बन्धी नीति निर्माण र सरसफाइमा लगानी विश्लेषण गर्न प्राविधिक सहयोग समेत गरिरहेको छ ।
यही परियोजना अन्तर्गत किर्तिपुर नगरपालिकाले भने शहरव्यापी समावेशी सरसफाइ योजना समेत बनाईरहेको छ ।


1430 पटक हेरिएको 

